बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

कहाँ हराए ‘सभामुखसँगै काठमाडौँ आउँछु’ भन्ने टोपबहादुर ?

आइतबार, २४ वैशाख २०८०, १७ : ४४
आइतबार, २४ वैशाख २०८०

काठमाडौँ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दामा संलग्न भएको आरोपमा अदालतबाट पक्राउ पुर्जी जारी भएका सांसद टोपबहादुर रायमाझी भारत भागेको आशङ्का गरिएको छ । वैशाख २० गते साँझसम्म सम्पर्कमा रहेका रायमाझी त्यसपछि सम्पर्कमा रहेका छैनन् । 

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दामा संलग्नहरूको खोजी गर्ने क्रममा नेकपा एमालेका सचिवसमेत रहेका टोपबहादुर रायमाझीको नाम पनि मुछिएको थियो । गत चैत १२ गते पक्राउ परेका आरोपी सानु भण्डारीको डायरीमा रायमाझीलाई दिइएको रकमको विवरण भेटिएको थियो । रायमाझीका छोरा सन्दीप रायमाझी भने पक्राउ परिसकेका छन् । 

अर्घाखाँचीबाट प्रत्यक्ष निर्वाचित सांसद रायमाझीविरुद्ध वैशाख २० गते काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी हुँदै गर्दा उनी सभामुख देवराज घिमिरेसँग अर्घाखाँचीकै महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हीरक महोत्सवमा सरिक थिए । 

काठमाडौँबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीसँगको कुराकानीका क्रममा रायमाझीले आफू सभामुखसँगै काठमाडौँ आउने र प्रहरी कार्यालयमा उपस्थित हुने आश्वासन दिएका थिए । प्रहरीका एक अधिकारीका अनुसार वैशाख २० गते नै रायमाझी प्रहरीको सम्पर्कमा आएका थिए र वैशाख २२ गते बिहान काठमाडौँ प्रहरी परिसरमा उपस्थित हुने बताएका थिए । 

रायमाझी अर्घाखाँचीबाट बुटवलसम्म सभामुख घिमिरेसँगै आएका थिए । तर बुटवल आएका रायमाझी वैशाख २१ गतेपछि भने सम्पर्कविहीन बने । वैशाख २१ गते बिहानसम्म रायमाझीको मोबाइलसमेत चलिरहेकाले उक्त दिन उनी बुटवल क्षेत्रमै रहेको एक प्रहरी अधिकारीले बताए । त्यसपछि उनी कता गए थाहा नभएको प्रहरीको भनाई छ । 

एक प्रहरी अधिकारीका अनुसार रायमाझी पक्राउ पर्ने डरले भारतमा भागेको हुनसक्ने आशङ्का गरिएको छ । प्रहरीले अदालतमा मुद्दा नबुझाउने समयसम्म भारतमै लुकेर बस्ने र प्रहरीले मुद्दा बुझाएपछि सोझै अदालतमा उपस्थित भएर धरौटीमा रिहा हुने योजनामा उनी भारत भागेको हुनसक्ने प्रहरीको आशङ्का छ ।

सत्तारुढ नेपाली काँग्रेसका केही नेताहरूले भने रायमाझी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घरमा लुकेर बसेको आरोपसमेत लगाएका छन् । यद्यपि शनिबार प्रधानमन्त्रीसँग भेटघाट गर्न बालुवाटार पुगेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले रायमाझीबारे आफूलाई केही थाहा नभएका बताएका छन् । 

रायमाझी कहाँ छन् भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष ओलीले उहाँ (रायमाझी) आफ्नो सम्पर्कमा नरहेको भन्दै बरु कहाँ छन् तपाईंहरु नै बताइदिनुस् न’ भन्दै प्रतिप्रश्न गरेका थिए । यद्यपि गत बिहीबार भएको प्रधानमन्त्रीसँगको भेटमा भने एमाले अध्यक्ष ओलीले बहालवाला सांसद रायमाझी कतै भागेर नजाने दाबी गर्दै पक्राउ पुर्जी जारी भएकोमा आक्रोश व्यक्त गरेका थिए । उनले रायमाझीविरुद्ध षडयन्त्रपूर्वक ढङ्गले 'एक्सन' लिने काम भएको पनि आरोप लगाएका थिए ।

एमाले अध्यक्ष ओलीले भनेका थिए, ‘षड्यन्त्रपूर्वक ढङ्गले बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने ? त्यस्तो खालको रहस्यपूर्ण के छ ? भागेर कतै गइहाल्ने मान्छे त होइन । अहिलेको सिटिङ एमपी भागेर कतै जाने खालको कुरा त होइन ।’

गत बुधबारदेखि ‘सिटिङ एमपी’ फरार रहेका छन् । प्रहरीले खोजी गर्दा उनी कतै पनि भेटिएका छैनन् । भागेर भारत गएको आशङ्का गरिए पनि उनी बुटवलमै कतै लुकेर बसेकोसमेत हुनसक्ने समेत आशङ्का छ । 

सानु भण्डारीको डायरीमा भेटिएको त्यो टिपोट ...

भुटानी शरणार्थीको नक्कली कागजात बनाएर अमेरिका पठाउने भन्दै ११० भन्दा बढी पीडितसँग ३३ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको भन्दै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरी परिसरले अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा हालसम्म ८ जना पक्राउ परिसकेका छन् भने पोलिएका अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको छ ।

अनुसन्धानकै क्रममा सुरुवाती समयमा चैत १२ गते पक्राउ परेका सानु भण्डारीको डायरीमा टोप बहादुर रायमाझीले ६० लाख रुपैयाँ बुझेको टिपोट पाइएको प्रहरीको दाबी छ ।

‘ठगीमा संलग्न आरोपी सानु भण्डारीको डायरीमा टोपबहादुरले नगद लिएको रेकर्ड फेला परेको छ’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले रातोपाटीसँग भने, ‘नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजना सफल बनाउन रायमाझीलाई करिब ६० लाख रुपैयाँ दिएको भण्डारीले प्रारम्भिक बयानमा समेत खुलाएका छन् ।’

पक्राउ परेका अन्य आरोपितले पनि अर्घाखाँचीबाट प्रत्यक्ष निर्वाचित सांसद तथा नेकपा एमालेका सचिव रायमाझीको नाम पोलेका छन् । प्रहरीले सङ्गठित ठगीमा संलग्नहरुलाई साथ दिएको भन्दै रायमाझी, उनका छोरा सन्दीप रायमाझी, तत्कालीन गृहमन्त्री रामबहादुर थापा 'बादल'का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, उनका छोरा निरज राई, बादलका छोरा लगायतपति पनि अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप