बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
न्यायालय

फैसला गर्नबाट पन्छिँदै न्यायाधीश, अङ्ग पुगेको मुद्दामा पनि पटकपटक अनावश्यक आदेश

मङ्गलबार, २६ वैशाख २०८०, १३ : ३३
मङ्गलबार, २६ वैशाख २०८०

यदि मुद्दाको सबै अङ्ग पुगेको छ भने आवश्यक सुनुवाइ प्रक्रियापछि फैसला गर्नुपर्ने अदालत वा न्यायाधीशको कर्तव्य हो । तर कतिपय चर्चित मुद्दामा सबै अङ्ग पुग्दा पनि न्यायाधीशहरु यो वा त्यो कारण देखाएर आदेश र फैसला गर्नबाट पन्छिने गरेका छन् । एउटा यस्तै मुद्दामा भक्तपुर जिल्ला अदालतले पटकपटक अन्य आदेश गर्दै फैसला गर्नबाट पन्छिएको छ ।

अन्य कुरा सबै ठीकठाक हुन्थ्यो भने गत वैशाख ३ गते नै भावना तामाङ प्रतिवादी रहेको ‘हनी ट्रयाप’सम्बन्धी एक मुद्दामा भक्तपुर जिल्ला अदालतबाट फैसला भइसकेको हुन्थ्यो । सम्पत्ति कुम्ल्याउन पटकपटक विवाह र सम्बन्धविच्छेद गर्ने गरेको र ठगी गर्ने गरेको भन्दै परेको आपराधिक लाभ र आपराधिक विश्वासघातको मुद्दामा फैसला भइसकेको हुनुपर्ने थियो ।

वैशाख ३ गते न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलास उक्त मुद्दामा ‘अन्य आदेश’ गरेर फैसला गर्नबाट पन्छिएको थियो । उच्च अदालतको न्यायाधीशमा सिफारिस हुन लागेका न्यायाधीश बास्तोला फैसलापछि आउन सक्ने क्रिया वा प्रतिक्रियाबाट टाढै बस्न मुद्दामा अन्य आदेश गरेर पन्छिएका थिए । चर्चामा रहेको र सरोकारवालाको चासो रहेको भन्दै यो मुद्दामा फैसला गर्नुभन्दा उम्कनु नै बेस रहेको भन्दै अन्य न्यायाधीशहरु पनि तर्कने गरेका छन् ।

२०७९ असार १० गते भक्तपुर जिल्ला अदालतमा दर्ता भएको ठगी तथा आपराधिक विश्वासघातको मुद्दा हालसम्म १८ पटक पेसीमा चढेको छ । साप्ताहिक पेसीसूचीमा १८ पटक चढेको उक्त मुद्दा २०७९ पुष ५ गते भने अदालतबाटै स्थगित भएको थियो । बाँकी १७ पटक इजलासमा चढेको उक्त मुद्दा कहिले प्रतिवादीको तर्फबाट र कहिले वादीको तर्फबाट स्थगित भएको छ ।

ठगी तथा आपराधिक विश्वासघात र विवाह बदरको मुद्दा दर्ता भएकामा २०७९ असार १३ गते न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रतिवादी भावना तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । आफू अविवाहित भन्दै झुक्याएर एकै महिलाले ४ जनासँग विवाह गरेको र अघिल्लो विवाहको सम्बन्धविच्छेद नहुँदै फेरि विवाह गरेको भेटिएपछि भक्तपुर जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले धरौटीमा रिहा गर्नसमेत अस्वीकार गरी तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका थिए ।

जिल्ला न्यायाधीश अधिकारीले ‘जाहेरी दरखास्त, फुर्वा मोक्तानले गरेको कागज, घटना विवरण कागज गर्ने मानिसहरुले गरेको कागज, बैंकमा रकम जम्मा गरेको भौचर, मोबाइल च्याट, विभिन्न फोटो, प्रतिवादीले अनुसन्धानको क्रममा र अदालतमा आएर गरेको बयान, बेहोरा समेतका तत्काल प्राप्त प्रमाणको मूल्याङ्कन गर्दा यी प्रतिवादी अहिले नै निर्दोष रहेको भन्न सकिने अवस्था देखिन आएन’ भन्दै प्रतिवादी भावना तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका थिए ।

BHawana District Court Aadesh

तत्काल प्राप्त प्रमाणबाट भावना तामाङ निर्दोष भन्ने नदेखिएका कारण थुनामा पठाउने भन्ने जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदनको निवेदन लिएर उच्च अदालत पाटन पुगेपछि उच्च अदालत पाटनले समेत थुनामै राख्ने भक्तपुर जिल्ला अदालतको आदेश सदर गरेको थियो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय बालेन्द्र रुपाखेती र राज्यलक्ष्मी बज्राचार्यको संयुक्त इजलासले ‘तत्काल प्राप्त प्रमाणबाट अभियोग दाबी अनुसारको कसुर भएको भन्ने कुरामा विश्वास गर्नुपर्नेसम्मको अवस्था विद्यमान रहेको देखिन आयो’ भन्दै भक्तपुर जिल्ला अदालतको थुनछेक आदेशलाई नै सदर गरेको थियो । त्यसपछि हनी ट्रयापको कसुरमा प्रतिवादी भावना तामाङ हालसम्म पनि कारागारमै रहेर मुद्दाको पुर्पक्ष गरिरहेकी छन् ।

भक्तपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट निर्दोष भन्न नसकिने भन्दै धरौटीसमेत नखुलाएर पुर्पक्षका लागि थुनामा पठाएपछि प्रतिवादी भावना तामाङले जेलभित्रैबाट ‘पति’ फुर्वा मोक्तानविरुद्ध वैवाहिक बलात्कारको जाहेरीसमेत दिएकी थिइन् । सो मुद्दामा फुर्वा तामाङ धरौटी बुझाएर रिहा भएका थिए ।

सो मुद्दामा वादी तथा प्रतिवादीको बयान साक्षी बुझ्ने लगायतका सबै काम सकिएको फागुन ४ गते नै हो । फागुन ४ गतेको आदेशबाट फुर्वाले दायर गरेको विवाह बदर ठगी र आपराधिक विश्वासघातको मुद्दा तथा भावना तामाङले दायर गरेको वैवाहिक बलात्कारको मुद्दालाई पनि लगाउमा राख्ने आदेश भयो र त्यसपछि प्रत्येक १० दिनमा उक्त मुद्दा पेसीमा चढिरहेको छ ।

फागुन ४ गतेपछि फागुन १४ गते पेसीमा चढेको उक्त मुद्दा वादीका वकिल ‘विरामी’ भएपछि स्थगित गरियो । फागुन १४ गतेपछि चैत ८ गतेको पेसीमा चढेको उक्त मुद्दा लगाउमा रहेको एक मुद्दा स्थगित भएपछि सो दिन सुनुवाइ हुन सकेन । चैत ८ गतेपछि चैत १५ गतेको पेसीमा चढेको उक्त मुद्दामा भक्तपुर जिल्ला अदालतका एक नम्बर न्यायाधीश गोपालप्रसाद बास्तोलाले हेर्न नभ्याउने भन्दै स्थगित गराए । 

त्यसपछि चैत २६ गतेको पेसीमा चढेको उक्त मुद्दा प्रतिवादी भावना तामाङका वकिल ‘बिरामी’ भएको भन्दै स्थगित गरियो । चैत २६ गतेपछि २०८० वैशाख ३ गतेको पेसीमा चढ्दा उक्त मुद्दा पुनः एक नम्बर न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासमा पर्‍यो ।

वैशाख ३ गतेको पेसीमा मुद्दाको सबै अङ्ग पुगिसकेको र फैसला गर्न योग्य भए पनि दिनभर सुनुवाइ गराएर साँझ फैसला नगरी ‘अन्य आदेश’ गरेर न्यायाधीश बास्तोलाले पन्छाए । आफू उच्च अदालतको न्यायाधीशमा नियुक्तिको चरणमा रहेका कारण ‘चर्चित मुद्दामा फैसला नगर्ने’ मनसायका साथ न्यायाधीश बास्तोलाले ‘अन्य आदेश’ गरेर उक्त मुद्दा पन्छाइदिए ।

वैशाख ३ गतेपछि वैशाख १९ गते न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलासमा परेको उक्त मुद्दा पक्ष÷विपक्षको कानुन व्यवसायीले नभ्याउने भएपछि फेरि स्थगित गराइयो ।

वैशाख १९ गतेपछि वैशाख २५ गतेको पेसीमा चढेको उक्त मुद्दा न्यायाधीश तीर्थराज केसीको इजलासमा पर्‍यो । वैशाख २५ गतेको पेसीमा न्यायाधीश केसीको इजलासमा सजाय निर्धारणको एक मुद्दा र दुईवटा निवेदन हनी ट्रयापको मुद्दाभन्दा अगाडि थियो । करिब १२ बजेबाट सुरु भएका हनी ट्रयापसम्बन्धी उक्त मुद्दा अपरान्ह ४ बजेसम्म नै सुनुवाइ भयो । न्यायाधीश केसीले विवाह बदर, ठगी तथा आपराधिक विश्वासघात र वैवाहिक बलात्कारको छुट्टाछुट्टै सुनुवाइ गराए, सबै मुद्दाको बहस ध्यानपूर्वक सुने । सुनुवाइपछि फैसलाको आस गरिए पनि अन्त्यमा न्यायाधीश केसीले ‘टिपोट पेस गर्ने’ आदेश दिएर फैसला गर्नबाट पन्छिए ।

सोमबार लामो बहस भए पनि फैसला हुन नसकेपछि अब यस मुद्दामा फेरि अर्को बहस गर्नुपर्ने भएको छ । यसबाट अदालत र कानुन व्यवसायीको समय बर्बाद मात्रै भइरहेको छ भने वादी र प्रतिवादीलाई आर्थिक भारसमेत थपिएको छ । सोमबार पूरै समय सुनुवाइ गराएका न्यायाधीश केसीले बहस नोट नमागी कर्मचारीबाटै हुने टिपोट माग गर्ने आदेश गर्नुले मुद्दालाई पन्छाउनु बाहेक अन्य कुनै उद्देश्य नरहेको कानुनविद् बताउँछन् ।

यसरी भक्तपुर जिल्ला अदालतमा विचाराधीन रहेको ठगी तथा आपराधिक विश्वासघात र झुक्यानमा पारी विवाह गरिएको भन्ने मुद्दामा फैसला गर्न न्यायाधीशहरु हच्किएका छन् । फैसला गर्दा विवादमा परिने हो कि भन्ने त्रासका कारण न्यायाधीशहरु फैसला गर्नुभन्दा आदेश गरेर उम्कने बाटो खोजिरहेको पटकपटक देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप