शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

जुनसुकै कुनामा बस्ने नेपाली भोको बस्नु नपर्ने विषय बजेटको प्राथमिकतामा परोस् : सिके राउत

मङ्गलबार, २६ वैशाख २०८०, १५ : ४२
मङ्गलबार, २६ वैशाख २०८०

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष एवं सांसद सिके राउतले कुनैपनि नेपाली भोको बस्नु नपर्ने विषयलाई बजेटको प्राथमिकतामा राख्न आग्रह गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०८० का सिद्धान्त र प्राथमिकताका सन्दर्भमा भएको छलफलमा सहभागी हुँदै मानव केन्द्रित नीति तथा कार्यक्रम ल्याउन आग्रह गरेका हुन् । 

छलफलमा सहभागी हुँदै उनले भने,‘विनियोजन विधेयकमा राष्ट्रिय गौरव र रणनीतिक आयोजनालाई रकम अभाव हुन दिइने छैन भनिएको छ । वैदेशिक ऋणलाई उच्च प्रतिफल दिने क्षेत्रमा उपयोग गरिने छ । यहाँ भोक मेटाउनका लागि, उपचारका लागि, शिक्षाका लागि, स्वास्थ्यका लागि यति ठोस प्रतिबद्धता जनाएर रकम अभाव हुन दिइने छैन भनेर कतै उल्लेख गरिएको छैन तर राष्ट्रिय गौरवका आयोजनाका लागि त्यस्तो भनिएको छ ।’

सांसद राउतले अगाडि भने,‘यो राष्ट्रिय गौरवका योजनाहरुमा के पर्छन् भने चार–छ लेनका लोकमार्गहरु, ठूला ठूला विमानस्थलहरू, चुरे संरक्षण कार्यक्रमहरु पर्छन् । यस्ता कार्यक्रमहरुका लागि रकम अभाव हुन दिइने छैन भनिएको अवस्था छ । उता प्रहरीहरु तलब नपाएर रोइरहेको अवस्था छ । हामीहरु चाहिँ एयर ट्राफिकहरु नै नपुगेतापनि ठूला ठूला अन्तर्राष्ट्रिय विमानस्थल ऋण काढेर भएपनि बनाउने तरखरमा छौँ ।’ 

उनले स्वास्थ्य सेवाहरु दिन नसकेको बेला डाँडा–डाँडामा ठूला ठूला भ्यू–टावरहरु बनाउँदै गइरहेको बताए । सडकमा प्रतिघण्टा सयवटा गाडी नगुड्ने तर त्यो सडकलाई चार लेन बनाउनुपर्छ, छ लेन बनाउनुपर्छ भनेर लहै लहैमा लागेको बताउँदै उनले दशकौँदेखि विकासको गलत मोडेल अभ्यास गर्दै गइरहेको उल्लेख गरे । 

उनले अर्थमन्त्रीलाई आग्रह गर्दै भने,‘विकास भनेकै ठूला–ठूला भवनहरु, फराकिला सडक र विमानस्थल भनेर बुझ्यौं र हाम्रो यो हविगत भएको छ । आगामी बजेट कमसेकम मानव केन्द्रित बजेट होस, मानव कल्याण केन्द्रित गरेर बजेट बनाइदिनुपर्‍यो । मेरो गाउँको गरिब किसानलाई मैले तपाईँलाई सडक चाहिँदैनभन्दा उनले मेरो बच्चाले २ गास खाएर पेटसम्म पुग्यो भने उनीहरु हिलो बाटोपनि हिँड्न सक्छन् भन्नुभएको थियो । यसको मतलब हामीले बजेटको प्राथमिकतामा राख्नुपर्छ कि नेपालको जुनसुकै कुनामा बस्ने नेपाली भोको बस्नु नपरोस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप