आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

आईपीएल क्रिकेट : प्रभसिमरन, सतक र सचिन

आइतबार, ३१ वैशाख २०८०, १३ : ३८
आइतबार, ३१ वैशाख २०८०

काठमाडौं । प्रसंग सन् २०२० को इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट को हो । पञ्जाब किङ्स र सनराइजर्स हैदराबादबीच खेल भइरहेको थियो । त्यो खेललाई आफ्नो समयमा चर्चित ब्याट्सम्यान सचिन तेन्दुल्करले पनि नजिकबाट नियालिरहेका रहेछन् । उक्त खेलमा प्रभसिमरन सिंहले केवल ११ रन बनाएका थिए । उनले २ चौका पनि प्रहार गरेका थिए । रन थोरै बनाए पनि सचिनको ध्यान भने प्रभसिमरनले हिर्काएको ती २ चौकाले तानेको थियो । त्यसैले सचिनले प्रभसिमरनले बनाएको रनलाई महत्व दिएनन् तर, उनले प्रहार गरेको चौकाको भने सचिनले मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

खेललगत्तै सचिनले सामाजिक सञ्जाल ट्वीटरमा एउटा भिडियो पोष्ट गर्दै प्रभसिमरनको खेलको प्रशंसा गरे । ‘प्रभसिमरनको यो कला हेर्नलायकको छ । उनको ब्याकलिफ्ट र ब्याट स्वङ गराउने कला गजबको छ । जब उनको ब्याटले बललाई प्रहार गर्यो त्यसपछि आएको आवाज गजबको थियो,’ उनले भिडियोसँगै ट्वीट गरेका थिए । सचिनले भनेजस्तै प्रभसिमरनको क्षमताको विषयमा कहिल्यै प्रश्न उठेन । त्यसैले त सन् २०१८ मै  पञ्जाब किङ्स (तात्कालिन समयमा किङ्स—११ पञ्जाब), मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर गरी तीनवटा आईपीएल क्लबले उनीप्रति चासो देखाएका थिए । यी तीनवटै क्लब प्रभसिमरनलाई आबद्ध गर्न चाहन्थे ।

त्यतिबेला प्रभसिमरन मात्र १८ वर्षका थिए । त्यही उमेरमै उनी करोडपति पनि भइसकेका थिए । किनभने पञ्जाबले उनलाई ४ करोड ८० लाख भारतीय रुपैयाँमा आबद्ध गरेको थियो । तर, रमाइलो कुरा, प्रभसिमरनले हालसम्म पञ्जाबका लागि ६ खेलमात्र खेलेका छन् । शनिबारमात्र आईपीएलको दिल्ली क्यापिटल्सविरुद्घको खेलमा २२ वर्षीय प्रभसिमरन फेरि चर्चामा आए । उक्त खेलमा ओपनर ब्याट्सम्यानको भूमिकामा देखा परेका उनले पञ्जाबका लागि १ सय ३ रनको सतकीय पाली खेले । उनले केवल ६५ बलको सामना गरी ६ छक्का र १० चौका पनि हिर्काएका थिए । उनकै उत्कृष्ट ब्याटिङका कारण उक्त खेलमा पञ्जाब ३१ रनले विजयी भएको थियो ।

prabhasimran

उक्त खेलअघि आईपीएलमा उनी अर्धसतकभन्दा अगाडि बढ्न सकेका थिएनन् । दिल्लीविरुद्घको खेल सुरु हुनुअघि उनी केही निराश पनि देखिएका थिए । ‘पञ्जाबले ममाथि निकै विश्वास गरेको छ र थुलो धनराशी पनि खर्च गरेको छ । मैले अहिलेसम्म टोलीका लागि गतिलो योगदान दिन सकेको छैन । म आईपीएलको यहि संस्करणमा टोलीलाई एउटा गतिलो योगदान दिन चाहन्छु,’ टाइम्स अफ इन्डियासँगको कुराकानीमा उनले भनेका थिए । आखिर भयो पनि त्यस्तै, उनले सतक हिर्काएर टोलीलाई जित पनि दिलाए ।

गत सिजनको आईपीएलका क्रममा प्रभसिमरनले यस्तै दुःखेसो सचिनसँग पनि पोखेका रहेछन् । खासमा उनले सचिनसँगको कुराकानीमा हालसम्म आफूले पञ्जाबलाई गतिलो योगदान गर्न नसकेको बताएका रहेछन् । त्यतिबेला उनले टोलीमा त्यति अवसर पनि पाएका थिएनन् । प्रशिक्षकको रोजाईमा उनीभन्दा पनि अरु खेलाडी नै पर्ने गरेका थिए । त्यसैले पनि उनले सचिनसँग यस्तो गुनासो गरेका थिए । उनी आफैले त्यतिबेला सचिनसँग भनेको कुरालाई यसरी उल्लेख गरेका छन्, ‘म निराश भइसकेँ । मैले अवसर पाइरहेको छैन । टिम ब्यवस्थित भएकाले अरु खेलाडीहरु टिममा स्थापित भइसकेका छन् । म पनि टोलीका लागि खेल्न चाहन्छु । सर, म अधैर्य र निराश भइसकेँ ।’

त्यसपछि सचिनले मायाले आफूलाई सम्झाएको पनि प्रभसिमरनले उल्लेख गरेका छन् । ‘त्यसपछि उहाँले मेरो काँधमा हात राखेर भन्नुभयो, तिमीले कडा परिश्रम गरेकाले नै आज आईपीएलजस्तो भब्य प्रतियोगिताको यो मञ्चमा उभिएका छौ । कम्तिमा तिमीले घरेलु क्रिकेटमा अहिले पनि संघर्ष गरिरहेका हजारौं, लाखौं खेलाडीको अवस्था सम्झिनुपर्छ । उनीहरु अहिले पनि यो स्थानमा पुग्न संघर्ष गरिरहेका छन् । सबैभन्दा ठूलो कुरा तिमीले आफ्नो सफलतामा रमाउन सक्नुपर्छ र आफ्नो खेललाई अझ बढी सुधार गर्दै लैजानुपर्छ,’ त्यतिबेला सचिनले दिएको गुरुमन्त्र प्रभसिमरनले अझै भुलेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप