बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

बालकृष्ण खाणलाई निलम्बन गर्न किन रोकिए देउवा ?

बिहीबार, ०४ जेठ २०८०, १४ : ००
बिहीबार, ०४ जेठ २०८०

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवाको मौनतामाथि पार्टी भित्रबाटै प्रश्न उठ्न थालेको छ । यो प्रकरणमा वैशाख २७ गते पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेता बालकृष्ण खाणबारे पार्टीका नेताहरूको राय लिएर देउवा मौनव्रतमा छन् ।

गत बुधबार र बिहीबार पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीबाट राय लिएका देउवाले खाणलाई निलम्बन नगर्ने नीति लिएपछि पार्टीको केन्द्रीय कार्यसमिति बैठकसमेत अनिश्चित बनेको हो । गत मंसिर ४ मा सम्पन्न आम निर्वाचन लगत्तै केन्द्रीय समिति बैठक बस्ने कांग्रेसको तयारी थियो । तर चुनावी गठबन्धन सरकार निर्माणका क्रममा तलमाथि हुँदा कांग्रेस बैठक तन्कियो ।

पुस १० मा एमालेसहितको गठबन्धनबाट प्रधानमन्त्री बनेका प्रचण्डलाई फकाउन देउवाले पार्टीको बैठक राख्न उपयुक्त नहुने ठाने । गुटगत बैठक पनि रोक्न लगाए । फागुन १२ मा प्रचण्डले एमाले छाडेर कांग्रेससँग सहकार्यको हात मिलाएपछि राष्ट्रपति निर्वाचन, सरकारमा सहभागिता र उपनिर्वाचनको विषयले पार्टीमा बैठकको गुञ्जायस भएन ।

वैशाख १० को उपनिर्वाचनमा अनपेक्षित परिणाम आएपछि कांग्रेसमा केन्द्रीय समिति बैठक बोलाउने गृहकार्य भइरहेको थियो । वैशाख २८, २९, ३० र ३१ चार दिन केन्द्रीय समिति बैठक बस्ने तयारी थियो । सोही अनुसार केन्द्रीय सदस्यलाई खबर पनि दिन थालिएको थियो ।

नेकपा एमालेले पनि २८, २९ र ३० को केन्द्रीय समिति बैठक लागि संसद् रोकाएको थियो । कांग्रेसले पनि त्यही बेलामा केन्द्रीय समिति बैठक राख्न खोजेको थियो । वैशाख २८ अघि पार्टीका विभाग, नेविसंघ, तरुण दल सबै भ्रातृ संस्थाको कमिटी विस्तार गर्ने योजना थियो । 

पार्टीमा खाणलाई निलम्बन नगर्ने निर्णय पनि देउवाले बहुमतबाट गराउनुपर्ने अवस्था देखेपछि कार्यसम्पादन समितिको बैठक पनि बोलाउन अस्वीकार गरे ।

तर, मन्त्री छनोटमा आफूलाई बाइपास गरिएपछि महामन्त्री गगन थापा सभापति देउवामाथि खनिए । सभापति देउवा र महामन्त्री थापाबीचको सम्बन्ध तनावपूर्ण बनेपछि पार्टीको आन्तरिक गृहकार्यमा पुनः अवरोध देखियो । महामन्त्री थापाले विद्रोहको चेतावनी दिए पनि केन्द्रीय समिति बैठक भने रोकिने अवस्था थिएन । तर वैशाख २७ मा खाण पक्राउ परेपछि देउवाले वैशाख २८–३१ मा बस्न तयारी गरिएको केन्द्रीय समिति बैठक रोकिदिए ।

पार्टीमा खाणलाई निलम्बन नगर्ने निर्णय पनि देउवाले बहुमतबाट गराउनुपर्ने अवस्था देखेपछि कार्यसम्पादन समितिको बैठक पनि बोलाउन अस्वीकार गरे । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले तत्काल बैठक राख्न गरेको  प्रस्ताव देउवाले लत्त्याइदिए । अब खाणबारे अदालतको आदेशपछि मात्र बैठक बोलाउने देउवाको योजना छ । 

‘अदालतमा मुद्दा पुगेर खाण धरौटीमा छुट्नु भयो भने सभापतिले त्यही अनुसार डिल गर्नुहुन्छ । उहाँ पुर्पक्षका लागि जेल चलान हुनुभयो भने निलम्बनमा जानुहुन्छ । त्यसपछि सभापतिका लागि यो विषयमा केही बोल्नु परेन । उहाँले यही कुरा हेरिरहनु भएको जस्तो छ,’ कांग्रेसका एक नेताले भने । 

खाण निलम्बन गर्न किन रोकिए देउवा ?

खाण पक्राउपछि बसेको पदाधिकारी बैठकमा निलम्बन गर्न देउवा करिब–करिब सहमत देखिन्थे । महामन्त्री विश्वप्रकाश शर्माले खाणलाई निलम्बन गर्नु अहिले पार्टीको हितमा हुने सुनाएपछि देउवा सहमत भएका थिए । तर देउवाले निलम्बन गर्ने सङ्केत गरेपछि सहमहामन्त्री महेन्द्र यादव प्रतिवादमा उत्रिए ।

त्यसपछि उपसभापति पूर्णबहादुर खड्काले खाणको निलम्बनको विषय पूर्व पदाधिकारी तहसम्म लैजानुपर्ने प्रस्ताव राखे । बैठक अघि बिहीबार बिहान धुम्बाराही पुगेर खाणनिकट केही केन्द्रीय सदस्यले उनलाई निलम्बन नगर्न देउवामाथि दबाब दिए । 

त्यसपछि करिब दुई दर्जन नेता उपस्थित बिहीबारको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा मात्र खाणको निलम्बनको पक्षमा खुले । बाँकी नेताहरूले ‘पार्टीको साथी दुःखमा परेको बेला निलम्बन गरेर थप पीडा दिन नहुने’ मत राखे । खाणले आफू निर्दोष रहेको दाबी गरिरहेको भन्दै पार्टीले ‘तँ दोषी होस्’ भनेर निलम्बन गर्न नहुने अधिकांश नेताको राय रह्यो । त्यसपछि देउवाले पनि खाणलाई निलम्बन नगर्न मन बदलेको कांग्रेसका एक पदाधिकारीको जिकिर छ । यता खाणलाई निलम्बनको स्वघोषणा गर्न लगाउने पनि महामन्त्री थापाको प्रस्ताव थियो । तर, खाणले देशी–विदेशीले आफूमाथि ‘रिभेन्ज’ लिएको भन्दै निलम्बन रोक्न निकटस्थ नेताबाट देउवामाथि दबाब बढाएको नेताहरू बताउँछन् । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा पत्नी आरजु राणा देउवाको नाम जोडिएपछि देउवा पनि भयमा देखिन्थे । खाणलाई निलम्बन गर्दा आरजुको नाम पोलिने सक्ने त्रासले पनि निर्णयमा पुग्न नसकेको नेताहरू बताउछन् । गिरोहका सदस्यले प्रधानमन्त्रीसम्मलाई पैसा बुझाएको बयान दिँदा खाणले ‘नोट गर्न’ भनेको विषयले पनि देउवालाई झस्काएको हुन सक्ने ती पदाधिकारीको अनुमान छ ।

पछिल्ला दिनमा खाणलाई निलम्बन भन्दा पनि कसरी जोगाउने भनेर देउवा केन्द्रित भएका छन् । यता उपसभापति खड्का खाणका सन्दर्भमा दोहोरो मारमा देखिन्छन् । खाण निकट नेताहरू यतिबेला उपप्रधान तथा रक्षामन्त्रीसमेत रहको खड्कामाथि खनिएको अवस्था छ । ‘तपाईं सरकारमा बसेर के गर्नु भयो ? सरकारमै बसेर यस्तो गर्ने ?,’ खड्कालाई उनीहरूको प्रश्न छ ।

पूर्ववत् परम्परालाई देखाएर खाण र शेर्पालाई निलम्बन नगर्ने सभापति देउवाको अडान छ । कांग्रेसले विगतमा खुमबहादुर खड्का, विजयकुमार गच्छदार, टेकबहादुर गुरुङ लगाउतलाई निलम्बन गरेको थिएन । यसलाई लिएर कांग्रेसमा दुई धार देखिएको छ ।

निलम्बन नगर्दा के हुन्छ ?

सत्ताको प्रमुख घटक कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति सदस्यको पदासीन अवस्थामा खाण प्रहरी हिरासतमा छन् । यस प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझीलाई नेकपा एमालेले पार्टीको सचिव पदबाट निलम्बन गरिसकेको छ । कांग्रेसका नेता खाण, महासमिति सदस्य तथा पूर्व संसाद आङटावा शेर्पालाई कांग्रेसले निलम्बन गरेको छैन । 

पूर्ववत् परम्परालाई देखाएर खाण र शेर्पालाई निलम्बन नगर्ने सभापति देउवाको अडान छ । कांग्रेसले विगतमा खुमबहादुर खड्का, विजयकुमार गच्छदार, टेकबहादुर गुरुङ लगाउतलाई निलम्बन गरेको थिएन । यसलाई लिएर कांग्रेसमा दुई धार देखिएको छ । कांग्रेसको शेखर कोइराला–गगन थापा समूह खाणलाई निलम्बन गर्नुपर्ने पक्षमा छ । कांग्रेसको संस्थापन पक्षका नेताहरूले भने खाणलाई अहिले नै निलम्बन गर्नु नपर्ने पक्षमा उभिएका छन् । मंगलबार कांग्रेस प्रवक्ता प्रकाशशरण महतले अदालतको आदेशपपछि मात्र खाणबारे निर्णय हुने बताए । तर महामन्त्री थापा भने तत्काल निलम्बन गर्नुपर्ने पक्षमा मुखर छन् । 

‘निलम्बन गर्नुको विकल्प छैन । कांग्रेस आफू सरकारमा बस्छ । सरकारले एकदम राम्रो काम गर्‍यो भनेर जस पनि लिन्छ,’ उनी भन्छन्, ‘तर अनुसन्धान गरेको ठाउँमा फसाइयो भन्छ भने कांग्रेसका लागि नैतिक प्रश्न हुन्छ ।’

केन्द्रीय समितिमा सभापति देउवाको बहुमत भएपनि अधिकांश कांग्रेसी निलम्बनको पक्षमा रहेको शेखर–गगन पक्षको दाबी छ । ‘कांग्रेसका सय जना मान्छे मध्ये ९०–९५ जनाले तत्काल निलम्बन गर्नुपर्छ भन्छन् । निलम्बन भनेको पार्टी अलग्ग रहने हो । पार्टी जोगाउने कुरामा लाग्दैन,’ थापाले भने, ‘व्यक्तिले गल्ती गरेको छ भने सजाय पाउँछ, गल्ती गरेको छैन भने उन्मुक्ति पाउँछ । नेपाली कांग्रेसको सदस्य भएकै कारणले विशेष छुट माग्दैन भन्ने न हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप