मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

भ्रष्टाचारमा जेल बसिसकेका जेपी गुप्ता भन्छन्–छानीछानी अभियोग र फैसला नहोस्

सोमबार, ०८ जेठ २०८०, १४ : ०४
सोमबार, ०८ जेठ २०८०

विराटनगर । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने खेलमा पूर्व उपप्रधानमन्त्रीदेखि बहालवाला सचिवसम्म गिरफ्तार भएको विषय अहिले चर्चामा छ । पक्राउ परेकाहरूसँग बयान लिने र अनुसन्धान गर्ने काम भइरहेको छ ।

प्रभावशाली नेताहरु मुछिएको भ्रष्टाचार काण्ड यसअघि पनि बेलाबखत चर्चामा आउने र त्यस्ता नेता कारबाहीमा तानिएको पाइन्छ । तत्कालीन बहालवाला सञ्चारमन्त्री जयप्रकाश आनन्द (जेपी गुप्ता ), पूर्व गृहमन्त्री खुमबहादुर खड्का, पूर्वमन्त्री चिरञ्जिवी वाग्लेलगायतले भ्रष्टाचारको आरोपमा जेल सजाय भोगिसकेका छन् ।

जेपीलाई भ्रष्टाचारी करार गरी २०६८ फागुन ९ गते सर्वोच्च अदालतले जेल पठाएको थियो । जेपीले सार्वजनिक पदमा छँदा ८४ लाख रुपैयाँ भ्रष्टाचार गरी कमाएको र उक्त रकमको कुनै स्रोत खुलाउन नसकेको ठहर गर्दै त्यति नै रकम जरिवाना र डेढ वर्ष कैद हुने फैसला सर्वोच्च अदालतले सुनाएको थियो ।

उनीविरुद्ध पद दुरुपयोग गरी दुई करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको अभियोग लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०५९ सालमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

यस्तै कांग्रेस नेता पूर्वगृहमन्त्री खुमबहादुर खड्कालाई सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष कैद, ९४ लाख ७५ हजार रुपैयाँ जरिवाना, त्यही बराबरको बिगो र त्यसले बढे बढाएको सम्पत्ति जफत गर्ने फैसला सुनाएको थियो ।

यस्तै कांग्रेसकै नेता चिरञ्जिवी वाग्लेलाई पनि २०६७ चैत २ गते सर्वोच्च अदालतले भ्रष्टाचार गरेको प्रमाणित गर्दै २ करोड तीन लाख जरिवानासहित १८ महिना जेलको फैसला सुनाएको थियो ।

सो घटनालाई समेत बिर्साउने गरी अहिले पूर्व उपप्रधानमन्त्री, निवर्तमान गृहमन्त्रीसहितलाई नक्कली शरणार्थी काण्डमा पक्राउ गरिएको छ । यो विषयमा आफूलाई जस्तै छानबिन र कारबाही हुनुपर्ने तथा उनीहरुको सम्पत्ति पनि जफत गर्नुपर्ने पूर्वमन्त्री जेपी गुप्ता बताउँछन् ।

उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री प्रचण्डलाई सम्बोधन गर्दै लेखेका छन्, ‘खुमबहादुर खड्का र मेरो मुद्दामा सर्वोच्च अदालतले सम्पत्ति मूल्याङ्कनको जुन आधार कायम ग¥यो, सोही आधारलाई सम्पत्ति मापनको अकाट्य आधार कायम गर्न संसदबाट विधेयक पारित गरी कानुनी मान्यता दिलाई दिनोस् !’

उनले अख्तियारलाई प्रयोग गरेर पालैपालो एक अर्काका विरुद्ध ‘अकूत सम्पत्ति आर्जन तथा अस्वाभाविक बिलासी जीवनशैली उपभोग गरिरहेको’ आरोपमा पनि मुद्दा चलाउनु पर्नेमा जोड दिएका छन् ।

‘पहुँचवालालाई बाँडियो साढे ५ करोड उपचार खर्च’ भन्ने शीर्षकको समाचार शेयर गर्दै जेपीले त्यस विषयमा पनि आफू जेल पठाएको स्मरण गर्दै त्यसको विरोध गरेका छन् । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले संसदमा गरेको सम्बोधनलाई उल्लेख गर्दै उनले छानबिनको दायरामा परेका मानिसको सम्पत्ति मूल्यांकनको कानुनी मापन हुनु अनिवार्य रहेको उल्लेख गरेका छन् ।

‘संसदमा राष्ट्रपतिको सम्बोधनमार्फत सरकारले अगामी आर्थिक वर्षदेखि उच्च ओहदामा बसेका व्यक्तिको गैर कानुनी सम्पत्ति छानबिन गर्ने घोषणा गरेको छ ।  कुरो स्वागतयोग्य हो,’ जेपीले भने, ‘तर, कुनै ओहदावाला व्यक्तिको सम्पत्ति गैर कानुनी छ भनी ठह¥याउने कसरी ? यसका लागि आरोपित व्यक्ति वा छानबिनको राडरमा परेका व्यक्तिको सम्पत्तिको मूल्यांकनको कानुनी मापन हुनु अनिवार्य हुन्छ ।’

उनले कर्मचारी वा सार्वजनिक पदाधिकारी कुनै व्यक्तिको आयको कति प्रतिशतलाई बचत वा कतिलाई खर्च मान्ने ? भन्ने प्रश्न पनि गरेका छन् । ‘अख्तियारलाई मन लागेमा कसैको आर्जनको ७० प्रतिशतलाई बचत भन्छ । उसको बचतलाई बढाएर मुद्दाबाट उन्मुक्तिको जुक्ति खेल्छ । फेरि कोहीलाई फसाउनु छ भने उसको जीवनशैली विलासी प्रकारको भएकोले ७० प्रतिशत खर्च तथा ३० प्रतिशतलाई बचत भन्छ,’ जेपीले भनेका छन्, ‘खुमबहादुर खड्काको मुद्दामा यही भएको उदाहरण छ ।’

जेपीले अहिले पक्राउ गरेका कांग्रेस नेता तथा निवर्तमान गृहमन्त्री खाण, एमाले नेता रायमाझी लगायतप्रति टिप्पणी गर्दै उनले व्यङ्ग्य पनि कसेका छन् । ‘सर्प पालन, ललिता निवास आदि अहिले एमालेको दायित्वमा परेन । विष्णु पौडेल, भानुभक्त, अनि पोखरेल आदि वासिङ् मेसिनबाट निकालिएका भए । सफा र स्वच्छ भएका छन् ।’

अन्य भ्रष्टाचार काण्डको विषयमा उल्लेख गर्दै जेपी व्यंग्य कस्छन्, ‘एमालेले नै प्रेम राईलाई अख्तियार प्रमुख बनायो । राईले नक्कली शरणार्थीको किटानी निवेदनलाई मुल्तवी राख्यो । अहिले सोही व्यहोराको निवेदन उपर यत्रो रडाँको मच्चिएको छ । टोप बहादुरबारे ओलीजीले प्रचण्डलाई भेटी दबाब दिए । सांसद भागेर जाने हो र ? कोइरी बेपत्ता भएको थोरै पनि हेक्का नराखी ओलीले टोप बहादुरको प्रतिरक्षा गरे ।’

भ्रष्टाचारको मुद्दालाई ‘पाँच वर्षको हद म्यादभित्र भ्रष्टाचारको कारबाही गर्नुपर्ने नत्र नगर्ने’ भन्ने नयाँ प्रावधान राखेर राष्ट्रियसभाले विद्यमान कानुनमा संशोधन गरी प्रतिनिधिसभा समक्ष पठाएको विषयमा पनि उनले टिप्पणी गरेका छन् ।

जेपी गुप्ता मोरङ विराटनगर–१० मा बसोबास गर्छन् । उनले कटहरीस्थित थलाहामा कृषि फर्म सञ्चालन गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप