आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

कांग्रेसको संगठन ‘आइसोलेट’ : ‘ताप्के नतात्दा बिँड तताउने’ केही नेताको प्रयास

मङ्गलबार, ०९ जेठ २०८०, ०७ : १९
मङ्गलबार, ०९ जेठ २०८०

काठमाडौं । नेपाली कांग्रेसको सांगठनिक गतिविधि करिब १० महिनादेखि ‘आइसोलेट’ अवस्थामा छ । स्थानीय, प्रदेश र संघको निर्वाचनमा गठबन्धनको बलमा पहिलो शक्ति बनेको कांग्रेसको सांगठनिक संरचना बेहाल अवस्थामा छ । मंसिर ४ को आम निर्वाचन र सत्ता चलखेलमा नेतृत्व अल्झिँदा कांग्रेसको सांगठनिक गतिविधि ‘आइसोलेट’ हुन पुगेको नेताहरु बताउँछन् । ९ महिनादेखि कांग्रेस केन्द्रीय समिति बैठकसमेत बस्न सकेको छैन ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेता बालकृष्ण खाण पक्राउपछि पार्टीको केन्द्रीय कार्यसमिति बैठक अनिश्चित बनेको छ । गत मंसिर ४ मा सम्पन्न आम निर्वाचन लगत्तै केन्द्रीय समिति बैठक राख्ने कांग्रेसको तयारी थियो । तर सरकार निर्माणका क्रममा चुनावी गठबन्धन तलमाथि हुँदा कांग्रेस बैठक पन्छाइयो ।

पुस १० मा एमालेसहितको गठबन्धनबाट प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फकाउन सभापति शेरबहादुर देउवाले पार्टीको बैठक राख्न उपयुक्त नहुने ठाने । उनले गुटगत बैठक पनि रोक्न लगाए । फागुन १२ मा प्रचण्डले एमाले छाडेर कांग्रेससँग सहकार्यको हात मिलाएपछि राष्ट्रपति निर्वाचन, सरकारमा सहभागिता र उपनिर्वाचनको विषयले पार्टीको बैठक सम्भव भएन ।

वैशाख १० को उपनिर्वाचनमा अनपेक्षित परिणाम आएपछि कांग्रेसमा केन्द्रीय समिति बैठक बोलाउने गृहकार्य भइरहेको थियो । वैशाख २८, २९, ३० र ३१ गरी चार दिन केन्द्रीय समिति बैठक बस्ने तयारी थियो । सोही अनुसार केन्द्रीय सदस्यलाई खबर गर्न थालिएको थियो ।

नेकपा एमालेले पनि २८, २९ र ३० को केन्द्रीय समिति बैठक लागि संसद् बैठक रोकाएको थियो । कांग्रेसले पनि त्यही बेलामा केन्द्रीय समिति बैठक राख्न खोजेको थियो । वैशाख २८ अघि पार्टीका विभाग, नेविसंघ, तरुण दल सबै भ्रातृ संस्थाको कमिटी विस्तार गर्ने योजना थियो । तर, मन्त्री छनोटमा आफूलाई बाइपास गरिएपछि महामन्त्री गगन थापा सभापति देउवामाथि खनिए ।

सभापति देउवा र महामन्त्री थापाबीचको सम्बन्ध तनावपूर्ण बनेपछि पार्टीको आन्तरिक गृहकार्यमा पुनः अवरोध देखियो । महामन्त्री थापाले विद्रोहको चेतावनी दिए पनि केन्द्रीय समिति बैठक भने रोकिने अवस्था थिएन । तर वैशाख २७ मा खाण पक्राउ परेपछि देउवाले वैशाख २८–३१ मा बस्न तयारी गरिएको केन्द्रीय समिति बैठक रोकिदिए ।

पार्टीमा खाणलाई निलम्बन नगर्ने निर्णय पनि देउवाले बहुमतबाट गराउनुपर्ने अवस्था देखेपछि कार्यसम्पादन समितिको बैठकसमेत बोलाउन अस्वीकार गरेको नेताहरु बताउँछन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले तत्काल बैठक राख्न गरेको प्रस्ताव देउवाले लत्याइदिए । वैशाख अन्तिम साता केन्द्रीय समिति बैठक बसेको भए महामन्त्रीद्वय थापा र शमाले एक वर्षको कार्ययोजना पेस गर्ने तयारी थियो ।

कांग्रेस महामन्त्री थापाका अनुसार जेठ पहिलो साताबाट एक महिनाका लागि केन्द्रीय प्रतिनिधिलाई जिल्ला–जिल्ला पठाउने कार्ययोजना थियो । यसअघि स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेसले २०७८ फागुन २९ देखि चैत २९ सम्म ‘घर–घर जाऔं कांग्रेस जिताऔं’ नामक एक महिने चुनावी अभियान गरेको थियो ।

चुनावी अभियानका लागि कांग्रेसका नेताहरु गाउँगाउँ पुगेका थिए । यस्तै गत वर्ष भदौ १० देखि २४ सम्म कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गरेको थियो । आम चुनावपछि कांग्रेस जनतातिर फर्किने साइत कुरेर बसेको जस्तै छ ।

‘पार्टीका भ्रातृ संस्था र विभाग गठन गरेर एक महिने अभियान सुरु गर्ने गरी काम अगाडि बढेको थियो । केन्द्रीय समिति बैठक नै नबसेपछि सबै रोकियो,’ महामन्त्री थापा भन्छन् ।

भ्रातृ संस्था र पार्टीका विभाग गठनको कामले गति लिन सकेन । सभापति देउवाको दोस्रो कार्यकालको १७ महिना बित्दासमेत पार्टीको सांगठनिक संरचना लथालिङ्ग अवस्थामा छन् । सभापति देउवासँग पार्टीका युवा पदाधिकारी पनि लतारिएको नेताहरु बताउँछन् ।

पदाधिकारीले पार्टीलाई बन्धक बनाएर राखेको भन्दै कांग्रेस संस्थापन इतर निकट तेस्रो पुस्ताका नेताहरुले छलफल र भेला गरिरहेका छन् । कांग्रेस रूपान्तरण अभियानका नाममा केही नेताहरु स्वस्फुर्त आन्तरिक छलफल र भेला गरिरहेको देखिन्छ ।

जेठ २ मा काठमाडौंको बत्तिसपुतलीमा पत्रकार सम्मेलन गरी कांग्रेसका संस्थापन इतर समूहका युवा नेताहरुले ‘रुपान्तरण अभियान’ घोषणा गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य, नेता गुरुराज घिमिरे, रञ्जित कर्ण, सुवास पोखरेल लयायतले सात प्रदेश र डायसपोराको भेलाको घोषणा गरेका थिए ।

उनीहरुको अभियान जेठ ११ मा मधेस प्रदेश जनकपुरबाट सुरु हुने छ । यस्तै जेठ १६ मा बागमती प्रदेशको काठमाडौं, जेठ २० मा गण्डकी प्रदेशको पोखरा र जेठ २२ मा लुम्बिनी प्रदेशको दाङ प्रदेशस्तरीय भेला हुनेछ । जेठ २४ मा कर्णाली प्रदेशको सुर्खेत, जेठ २६ मा सुदूरपश्चिम प्रदेशको धनगढी र जेठ २९ मा कोशी प्रदेशको इटहरीमा प्रदेशस्तरीय भेला हुने केन्द्रीय सदस्य आचार्यले बताए । भेला र अन्तक्र्रियाबाट प्राप्त सुझावका आधारमा थप कार्यक्रम तय गरिने नेताहरूको भनाइ छ ।

कांग्रेसमा समयानुकुल नीति, नीतिअनुरूप रणनीति तय गर्न, संरचनागत सुधार गर्न, भ्रातृ संस्थाहरूलाई पुनर्जीवन दिन, क्षमताको परीक्षण र अवसरको समानताका लागि दबाब दिन भेला गर्ने अभियानको उद्देश्य छ ।

यस्तै आइतबार पनि बत्तिसपुतलीमा इतर पक्षका तेस्रो पुस्ताका नेता भेला भएका थिए । नेता जगदीश्वर नरसिंह केसीको समन्वयमा ‘नेपाली कांग्रेस रूपान्तरण अभियान बागमती प्रदेश अन्तर्गत भएको भेलामा जेठ १६ गते हुने बृहत् अन्तक्र्रियाको तयारीमाथि छलफल भएको थियो ।

केसीका अनुसार जेठ १६ गते हुने अन्तरक्रिया कार्यक्रममा कांग्रेसलाई कसरी रूपान्तरण गर्ने भन्नेबारे विस्तृत छलफल गरिने छ । ‘मतदाताले कांग्रेसलाई सुक्ष्म रूपमा हेरिरहेको हुनाले अब यही स्थितिमा २०८४ सालमा चुनावमा जान नसकिने भएकाले पार्टी रूपान्तरित हुन जरुरी छ । नेतृत्व र कार्यकर्ता सबै रूपान्तरित हुनुपर्छ’, उनले भने ।

कांग्रेसको १५ औँ महाधिवेशन र २०८४ सालको चुनावलाई ध्यानमा राखी रूपान्तरण र शुद्धीकरण अभियान सुरु गरेको उनको भनाइ छ । तर पार्टीले भने उनीहरुको अभियानको स्वमित्व लिएको छैन । उनीहरुको भेलामा संस्थापन इतरकै शीर्ष नेताको सहभागिता तथा समन्वय भने नरहेको बुझिएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले तेस्रो पुस्ताका नेताको भेला मिडियामा मात्र थाहा पाएको बताए । पछिल्ला दिनमा कांग्रेसभित्र ‘ताप्के नतात्दा बिँड तताएको’ जस्तो भइरहेको कार्यकर्ताको टिप्पणी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप