हिमाली क्षेत्रका मुलुकहरूले चरम मौसमीय अवस्थाको सामना गरिरहेका छन् : वनमन्त्री शाही

समाचार सारांश
- वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनबाट हिमालय क्षेत्रमा परेको असरबारे चिन्ता व्यक्त गरे।
- मन्त्री शाहीले हिन्दुकुश हिमालय क्षेत्रका देशहरूले जलवायु परिवर्तनका कारण चरम मौसमी अवस्थाको सामना गरिरहेको बताए।
- नेपालले हिन्दुकुश हिमालय क्षेत्रको संरक्षणका लागि सहकार्य गर्न तत्परता देखाएको छ र यसका लागि क्षेत्रीय मञ्च निर्माण गर्ने कुरामा जोड दिएको छ।
काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले हिन्दुकुश हिमालय क्षेत्रका जनताले विश्वव्यापी कार्बन उत्सर्जनमा न्यूनतम योगदान गरे पनि ठुलो असर भोग्न बाध्य भएको बताएका छन् ।
आज यहाँ आयोजित हिन्दुकुश हिमालय क्षेत्रका राष्ट्रको मन्त्रिस्तरीय बैठकमा उनले हिमालय क्षेत्रको तापक्रम वृद्धिदर विश्वको औसतभन्दा धेरै रहेको उल्लेख गर्दै यसले जनजीवन र पारिस्थितिकी प्रणाली दुवैलाई गम्भीर असर पारिरहेको बताए । अहिले यस क्षेत्रका मुलुकहरूले चरम मौसमीय अवस्थाको सामना गर्नुपरेको उनको भनाइ थियो ।
मन्त्री शाहीले हिन्दुकुश हिमालय क्षेत्रका देशहरूको हिमालयसँग गहिरो आर्थिक, सामाजिक पहिचान, भविष्य जोडिएको बताउँदै हिन्दुकुश–हिमालय एक अत्यन्त संवेदनशील र महत्त्वपूर्ण विश्वव्यापी पारिस्थितिक प्रणाली भएको उल्लेख गरे । ‘यसले करिब दुई अर्ब जनतालाई स्वच्छ पानी प्रदान गर्नुका साथै कृषि, ऊर्जालगायत जैविक विविधतालाई जोगाइ राखेको छ’, उनले भने, ‘हामी नेपालीका लागि हिमालयबाट उत्पन्न पानी जीवन उपयोगी स्रोत हो, यसले हाम्रो जीविकोपार्जन, जलविद्युत् र खाद्य प्रणालीलाई सहयोग गर्दछ ।’
मन्त्री शाहीले हाम्रो समृद्धि र सभ्यताका स्रोत पर्वतले अहिले जलवायु परिवर्तनबाट उत्पन्न विपत्तिहरूको सामना गर्नुपरेको बताए । यसले गर्दा हिमताल विस्फोट, पहिरो, खडेरी र अनियमित वर्षा निरन्तर जस्ता भइरहेको उनको भनाइ थियो ।
नदी, हिमनदी र पारिस्थितिक प्रणालीहरू देशको सीमानाले असर नगर्ने भएकाले हाम्रो कार्यक्रमहरू पनि सहकार्यमा अघि बढ्नुपर्नेमा उनले जोड दिए । त्यस अवसरमा मन्त्री शाहीले हिमाल संरक्षणको अभियानमा विकास साझेदार र सङ्घ संस्थाहरूको भूमिकाको कदर गर्दै यस अभियानमा काठमाडौँमा मुख्यालय रहेको अन्तर–सरकारी संस्था इसिमोडको भूमिका पनि महत्त्वपूर्ण रहेको उल्लेख गरे ।
‘हामीले पर्वतीय समुदायमा, विज्ञान र संस्थागत क्षमता र क्षेत्रीय एकतामा लगानी गर्नुपर्छ, हिमालय क्षेत्र विश्वको साझा सम्पत्ति हो, यसलाई एकताको प्रतीक बनाऔँ’, मन्त्री शाहीले भने, ‘नेपाल हिन्दुकुश–हिमालय क्षेत्रको संरक्षणका लागि सहकार्यका माध्यमबाट अघि बढ्न तयार छौँ । मन्त्रिस्तरीय छलफल साथै संवादमा छलफल भएका विषयहरू साथै प्रतिबद्धताहरू कार्यान्वयनमा हामी सबैको सहकार्य र सहयोग रहनेछ भन्ने मैले आशा लिएको छु ।’
उनले हिमालयन युनिभर्सिटी कन्सोर्टियम, र सीमा पार ल्यान्डस्केप कार्यक्रमहरूलाई उच्च मूल्याङ्कन गर्दै वैज्ञानिक सहकार्यलाई राजनीतिक प्रतिबद्धतासँग जोड्नुपर्ने समय आएको बताए । नेपाल यस दिशामा प्रविधि, वित्तीय र कूटनीतिक समन्वय गर्ने क्षेत्रीय मञ्च निर्माण गर्न तयार रहेको उनले बताए ।
हिन्दुकुश हिमालय क्षेत्र र समग्र पर्वतीय देशहरू यस जलवायु सङ्कटको सामना गर्न नेतृत्वदायी भूमिका खेल्न जरुरी रहेको उनको भनाइ थियो । मन्त्री शाहीले सहयोग, सहनशीलता र जलवायु न्यायका लागि हामी सँगै मिलेर हामीले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सचिवालय (युएनएफसिसिसी), जैविक विविधता महासन्धि वा अन्य अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो सामूहिक आवाज अझ सशक्त बनाउनुपर्ने धारणा व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाराज सर्वोच्चबाट पनि दोषी ठहर, ३ वर्ष कैद र पौने दुई अर्ब जरिवानाको सजाय सदर
-
विद्यालय शिक्षा विधेयकका विषयमा समितिलाई बुझाइएको प्रतिवेदनमा के छ ?
-
रानी बन्ने भइन् सुहानाकी आमा, शाहरुख खान हत्याराको भूमिकामा
-
उपसभामुख रानालाई कांग्रेस–एमालेले हटाउन खोजेकै हुन् ?
-
शिक्षा उपसमितिमा विद्यालय शिक्षा विधेयक : यी हुन् सहमति भएका विषय र सहमति जुट्न नसकेका दफा
-
पुर्खालाई सम्झँदै प्रचण्डले भने - म पनि दैलेखी नै हुँ !