शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य विज्ञान संस्थानलाई ‘सेन्टर फर एक्सिलेन्स’ बनाउनुपर्छ : प्रधानसेनापति

बुधबार, १० जेठ २०८०, १५ : १६
बुधबार, १० जेठ २०८०

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रका लागि आवश्यक चिकित्सक उत्पादन गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । नेपाली सेनाको कल्याणकारी कोषले सञ्चालनमा ल्याएको संस्थानको ११ औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उनले सबल, सक्षम र योग्य स्वास्थ्यकर्मीको माग पूरा गर्न संस्थानको ठूलो योगदान रहेको बताए ।

“नेपाल राष्ट्रका लागि अत्यन्त आवश्यक चिकित्सा जनशक्ति उत्पादन गरी समग्र देश र नेपाली सेनाका लागिसमेत व्यावसायिक दक्षता हासिल गरेका सबल, सक्षम र योग्य स्वास्थकर्मी प्रवाह गर्न यस संस्थाले ठूलो योगदान पुर्याएको छ”, उनले भने । प्रधानसेनापति शर्माले नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको शिक्षा ऐनको परिधिभित्र रही संस्थानले विभिन्न शैक्षिक कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्दै आएको बताउनुभयो । उहाँले चिकित्साशास्त्रसम्बन्धी नियामक निकाय चिकित्सा शिक्षा आयोगबा प्राप्त सहयोगका लागि आभार प्रकट गरे ।

“दक्ष जनशक्ति सुविधा सम्पन्न पूर्वाधार निर्माण गरेर संस्थानलाई ‘सेन्टर फर एक्सिलेन्स’ बनाउनुपर्छ”, उनले भने । उनले राष्ट्रको स्वास्थ्य जनशक्तिको आवश्यकता परिपूर्ति गर्ने कार्यमा यस संस्थानले सधैँ नै उच्चरुपको मान्यता राखन र सोही अनुसारका योग्य चिकित्सक उत्पादन गर्न शुभकामना दिए । उनले आवश्यकताको परिपूर्तिका लागि विभिन्न प्रकारका स्रोतको उपलब्धता सुनिश्चितता गर्नेतर्फ आफूले पहल गरिरहेको बताए । संस्थानलाई अब्बल बनाउन सिफारिस गरिएका सुझावलाई आफूले स्वीकार गरी संस्थानलाई राम्रो बनाउनका लागि थप बजेट तथा लगानी गर्ने गरेको उनको भनाइ छ । 

प्रधानसेनापति शर्माले संस्थाको गरिमा र गुणस्तरलाई कायम राख्न सबैको ध्यानाकर्षण गराए । उनले सूचना प्रविधिमा पोख्त हुँदै आफ्नो दक्षता प्रदर्शन गर्न विद्यार्थीहरुलाई आग्रह गरे । राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले संस्थान छोटो अवधिमा विद्यार्थीको पहिलो रोजाइ बन्न सफल भएको र प्रतिस्पर्धामा उच्च स्तरको रहेको बताए ।

त्रिभुवन विश्वविद्यालय, चिकित्सा शिक्षा अध्ययन संस्थानका डिन प्राडा दिव्यासिंह शाहले संस्थान छोटो समयमा उत्कृष्ट प्रतिष्ठानका रुपमा स्थापित भएको बताए । उनले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको माग पूरा गर्न संस्थान सफल हुने विश्वास व्यक्त गरे ।  संस्थानका कार्यकारी निर्देशक नगेन्द्रबहादुर केसीले स्थापनाकालदेखि हालसम्म एक हजार ८२ विद्यार्थीले चिकित्सासम्बन्धी उच्च शिक्षा लिएका जानकारी दिए । उनले हाल संस्थानमा एक हजार एक सय नौ विद्यार्थी अध्ययनरत रहेको जनाए ।

सो अवसरमा प्रधानसेनापति शर्माले खेलकुद सप्ताह–२०७९ मा विजेता खेलाडीलाई शिल्ड र मेडल प्रदान गरेका थिए । कार्यक्रममा प्रधानसेनापति शर्माले वार्षिक मुखपत्रको विमोचन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप