शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

अदालत गएर बयानै नदिइ हिरासत फर्किए इन्द्रजित राई

आइतबार, १४ जेठ २०८०, १६ : ५३
आइतबार, १४ जेठ २०८०

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य योजनाकार मध्येका एक इन्द्रजित राई बयान नै नदिइ हिरासतमा फर्किएका छन् । आइतबार जिल्ला अदालत काठमाडौँमा राईलाई बयानका लागि उपस्थित गराइएपनि ‘स्वास्थ्यमा समस्या रहेको’ भन्दै उनले बयान दिन चाहेनन् ।  दिनभर इजलासमै कहिले पत्रिका पढ्ने र कहिले आफ्ना वकिलसँग छलफल गरेर समय बिताएका उनले सुरुमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेलाई भने, ‘श्रीमान सञ्चो छैन, टी ब्रेकपछि बयान दिन्छु ।’

उनले त्यसो भनेपछि न्यायाधीशले अन्य प्रतिवादी टंककुमार गुरुङ र सन्दीप रायमाझीको बयान लिन थाले ।  तर, टी ब्रेकपछि पनि राई बयान दिन तयार भएनन् । उनले पुरानै कुरा दोहोर्याएपछि अर्की प्रतिवादी लक्ष्मी महर्जनको बयान लिइयो ।  कार्यालय समय सकिन लागेपछि उनले आफू बयान दिने तयारीका साथ अदालतमा आएपनि अदालतमा आइसकेपछि भने सञ्चो नभएको न्यायाधीशलाई बताए । उनले भने, ‘बयान दिने तयारीकै साथ आएको थिएँ श्रीमान । तर यहाँ आएपछि सञ्चो भएन ।’

जवाफमा न्यायाधीश न्यौपानेले ‘त्यसो भए अब तपाईँ पर्सी दिनुहोला’ भनेर भने । राईले बयान दिन आनाकानी गरेको बताउँदै अदालतका एक अधिकारीले भने, ‘उहाँले आज दिनभर फाइल अध्ययन र वकिलसँग परामर्श भनेरै समय बिताउनु भयो ।’
प्रहरी हिरासतमा हुँदा पनि उनले बयान दिन त्यस्तै आनाकानी गरेको प्रहरी अधिकारीहरु बताउँछन् । 

आइतबारसम्म यो प्रकरणमा ५ जनाको बयान सकिएको छ । अदालतमा शुक्रबार र आइतबार दुई दिनमा लक्ष्मी महर्जन,  टंक कुमार गुरुङ, सन्दीप रायमाझी, सागर राई र केशव प्रसाद दुलालको  बयान सकिएको छ ।  यो प्रकरणमा ३० जनालाई मुद्दा चलाइएको भएपनि १७ जनामात्रै पक्राउ परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप