सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सोमबारदेखि लुम्बिनी केबुलकार व्यवसायिक सञ्चालनमा आउँदै

सिद्धार्थ केबुलकार पनि अव तीन महिनाभित्र सञ्चालनमा आउने
आइतबार, १४ जेठ २०८०, १९ : ५२
आइतबार, १४ जेठ २०८०

 बुटवल । आईएमई ग्रुपको नेतृत्वमा बुटवलमा बनेको लुम्बिनी केबलकार जेठ १५ सोमबारदेखि व्यवसायिकरुपमा सञ्चालने भएको छ । 

आइतबार पत्रकार सम्मेलनमा लुम्बिनी केबललकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले सोमबारदेखि आम सर्वसाधारण चढ्न पाउने गरी व्यवसायिक सञ्चालनमा आउने र जेठ २५ गते औपचारिक रुपमा प्रधानमन्त्रीबाट उद्घाटन गर्ने बताए । 

२०७७ फागुन १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले केबलकारको संयुक्त उद्घाटन गरेका थिए । 

बुटवलको वडा नं ३ मा बटम स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका वडा नं ३ बसन्तपुरमा टपस्टेशन रहेको केबलकारले यीदुबै वडाका बासिन्दालाई केबलकार चढ्दा लिइने शुल्कमा ४५  प्रतिशत छुट दिने घोषणासमेत गरेको छ । 

स्थानीयको साथ र सहयोगले केबुलकार छिटै सञ्चालनमा ल्याउन सफल भएकाले स्थानीयको पनि अपनत्व महसुस गराउन टिकट शुल्कमा छुट गरिएको अध्यक्ष ढकालले बताए । 

स्थानीय लक्ष्मण गौतम, तेजप्रसाद विश्वकर्मा लगायतले अघि सारेको केबलकार आयोजनामा स्थानीयकै आग्रहमा आईएमई ग्रुप सहभागी भएर शिलान्यास गरेको तीनवर्षभित्रै सञ्चालनमा आउनु महत्त्वपूर्ण उपलब्धिको रुपमा लिइएको छ । 

प्रालिले प्रति टिकट शुल्कको २ प्रतिशत रकम बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकाका लागि छुट्टाएको छ । 

केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने भएकाले केबलकार सञ्चालनले प्रदेशको राजधानी दाङ सर्दा रुपन्देहीको व्यापार व्यवसायमा परेको असरलाई पूर्ति गर्ने र रुपन्देही फेरि गुल्जार हुने अध्यक्ष ढकालले बताए । 

बटम स्टेसन समुद्री सतहबाट दुई सय ३० मिटर र टप स्टेसन नौ सय ४० मिटरको उचाइमा रहेको छ । बटम स्टेशनबाट १० मिनेटको यात्रामै टप स्टेशनमापुग्न सकिन्छ ।

२.६ किलोमिटर दुरीको लुम्बिनी केबलकारमा संसारकै राम्रो मानिएको अष्ट्रियन प्रविधिको मनोकेवल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डाला (यात्रु बोक्ने डिब्बा) रहेको आयोजना प्रमुखगोकुल साउदले बताए । 

केबलकार आयोजनाको कुललागत ५ अर्ब रुपैयाँ छ । पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानीभएको छ । टप स्टेशनमा पर्यटकका लागि भेज र ननभेज छुट्टाछुट्टै रेष्टुरेन्ट बनिसकेका छन् भने बालउद्यान, स्काई जीपलाइन निर्माणको क्रममा छ ।

केबलकार सञ्चालनमा आएसँगै टप स्टेशनमा साढे ३ अर्ब लागतमा पाँचतारे होटेललगायत संरचना निर्माण हुने साउदले बताए । बुटवलमा अर्को सिद्धार्थ केबलकार पनि  निर्माण काम धमाधम अगाडि बढाइएको छ ।  सिद्धार्थ पनि अव तीन महिनाभित्र सञ्चालनमा आउने भएपछि यहाँ दुईवटा केबलकार सञ्चालन हुनेछन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप