शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुशासन र समृद्धिको यात्रामा प्रदेश सरकार : मुख्यमन्त्री कार्की

सोमबार, १५ जेठ २०८०, १२ : ५२
सोमबार, १५ जेठ २०८०

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासन र समृद्धिको यात्रामा प्रदेश सरकार अघि बढिरहेको बताएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज यहाँ आयोजित १६ औँ गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन गर्दै उनले आम नागरिकले अनुभूति गर्ने गरी प्रदेश सरकारले काम गरिरहेको चर्चा गरे  । मुख्यमन्त्री कार्कीले इतिहासको गतिलाई कसैले पनि पछाडि धकेल्न नसक्नेमा जोड दिए ।

उनले मुलुकमा स्थापित गणतन्त्रले सबै वर्ग, जाति र समुदायलाई मूल प्रवाहमा ल्याएकाले प्रदेशको नामकरण पछि केही शक्ति र व्यक्तिले गरिहेका आन्दोलन एवं विरोधको कार्यक्रम पूर्णरुपमा शान्तिपूर्ण हुनुपर्ने बताए । हिंसाको गतिविधिलाई छाडेर सरकारसँग वार्ता र संवाद गर्न अपिल गर्दै मुख्यमन्त्री कार्कीले भने, “मुलुकको सद्भाव र शान्तिलाई कसैले पनि बिगार्नु हुँदैन । सहमति र वार्ताबाटै समस्या समाधान गर्नुपर्छ  आफ्नो अधिकार खोज्दा अरुको अधिकार पनि हनन् गर्नु हुँदैन ।”

गणतन्त्रमा रोजगार र सामाजिक सुरक्षाको सुनिश्चिता संविधानले नै गरेको धारणा व्यक्त गर्दै उनले मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन सबैले आआफ्नो तहबाट प्रयास गर्नुपर्ने कुरामा जोड दिए । मुख्यमन्त्री काकीले सङ्घीय लोकतन्त्र र गणतन्त्र प्राप्तिको आन्दोलनमा सहिद भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते एवं अपाङ्गता भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गरे । 

कोशी प्रदेशका प्रमुख सचिव डा.दीपक काफ्लेले लोकतन्त्र र गणतन्त्रात्मक व्यवस्थाले जनताको सुशासन र अधिकार स्थापित गरेको चर्चा गरे । कार्यक्रममा लोकतन्त्र प्राप्तिमा योगदान पुर्याउने पत्रकार मोहनप्रसाद भण्डारी, श्यामकृष्ण राई र नरबहादुर लिम्बूलाई जनही रु एक लाखको लोकतान्त्रिक पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप