बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

आजैदेखि हामी फिजीकरणको बाटोमा गयौँ : साध्यबहादुर भण्डारी

स्वागत नेपाल भन्छन्, ‘राष्ट्रपति पौडेलले राम नामकै बदनाम गरे’
बुधबार, १७ जेठ २०८०, १९ : १६
बुधबार, १७ जेठ २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकालमा अस्वीकृत भएको उक्त नागरिकता विधेयक प्रमाणीकरण गरेपछि राष्ट्रपति पौडेलको चौतर्फी आलोचना सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको पूर्व सन्ध्यामा राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गर्नुलाई विशेष रुपमासमेत हेरिएको छ । प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलको उक्त कदमलाई लिएर नागरिकता अध्ययन कार्यदलले घोर आपत्ति जनाएको छ । 

रिपोर्टर्स क्लब नेपालमा बुधबार पत्रकार सम्मेलन गर्दै नागरिकता अध्ययन कार्यदलले प्रधानमन्त्री र राष्ट्रपति पौडेलको उक्त कदमविरुद्ध सर्वोच्चको ढोका ढक्ढक्याउने चेतावनी दिएका छन् । साथै, उनीहरूले नागरिकता विधेयकको विरुद्ध कडा आन्दोलन छेड्ने चेतावनीसमेत दिएका छन् ।

विदेशीलाई नागरिकता दिएर नेपालीलाई अल्पमतमा पार्ने, नेपाली सभ्यता, पहिचान र संस्कृति समाप्त पार्ने, सदियौँदेखि रहेको सद्भाव र सहिष्णुतालाई खलल पार्ने र मुलुकमा द्वन्द्व सिर्जना गर्ने प्रवृत्तिबाट नागरिकताजस्तो विषयमा चलखेल भएको कार्यदलको ठहर छ । नागरिकता विधेयक प्रमाणीकरण हुनु राष्ट्रघाती कदम भएको भन्दै नागरिकता अध्ययन कार्यदलले सबै नागरिकलाई संघर्षमा उत्रिनसमेत अपिल गरेको छ । 

‘प्रधानमन्त्रीले मन्त्रीपरिषद्बाट निर्णय गरी निवर्तमान राष्ट्रपतिबाट प्रमाणीकरण नगरी स्वतः निष्क्रिय हुन पुगेको नागरिकता विधेयक वर्तमान संसद्बाट निर्वाचित राष्ट्रपति र संसद् चलिरहेको अवस्थामा निष्क्रिय भएको विधेयक प्रमाणीकरण गरेकोले यो गम्भीर राष्ट्रघातविरुद्ध सम्पूर्ण देशभक्त नेपाली जनतालाई संघर्षमा आउन अपिल गर्दछौँ,’– नागरिकता अध्ययन कार्यदलका संयोजक साध्यबहादुर भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक भण्डारीले देश आजैबाट फिजीकरणको बाटोमा लागेको टिप्पणी गरे । ‘देश आजैदेखि फिजी भयो । महेन्द्र चौधरीहरू तयार भएर बसे दिल्लीमा । आजैदेखि हामी अल्पमतको प्रक्रियामा गयौँ,’– उनले भने । 

कार्यदलका सहसंयोजक नारायण शर्माले देश अहिले निकै अप्ठ्यारो परिस्थितिमा रहेको बताए । देशको अस्तित्व लोप हुँदै गएको र फिजीकरणको बाटोमा रहेको अवस्थामा खबरदारीका लागि निस्कन उनले आग्रह गरे । 

‘आज देश धेरै अप्ठ्यारो स्थितिमा छ । दुखको कुरा देशको अस्तित्व लोप हुँदै गरेको, देश फिजीकरण, सिक्किमीकरण हुँदै गरेको अवस्थामा हामी खबरदारी गर्न सडकमा निस्कन सकेको अवस्था छैन । निर्णायक आन्दोलनको बीजारोपण यही सम्मेलनमार्फत हुन गइरहेको छ,’– शर्माले भने । 

त्यसै गरी, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले नागरिकता विधेयकलाई ‘संविधानमाथि गरिएको कू’ को संज्ञा दिएका छन् । ‘आज राष्ट्रपति रामचन्द्र पौडेलबाट नागरिकता विधेयक प्रमाणीकरण भएको छ । यस कार्यको हामी घोर भर्त्सना गर्न चाहन्छौँ । मैले यस कार्यलाई ‘संविधानमाथि गरिएको कु’ को रूपमा बुझेको छु,’– भण्डारीले भने । 

‘राष्ट्रपतिज्यूले संविधान र कानुनकोमात्रै कुठाराघात गर्नु भएन, मुलुकलाई नै लज्जित बनाउने काम गर्नु भएको छ । त्यसैले वर्तमान सरकार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको यो कार्यलाई मैले संवैधानिक कु को रूपमा चित्रण गरेको छु,’– अधिवक्ता भण्डारीले भने । 

राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा आफ्नो उपचार गराएर आएपछि सार्वजनिक रूपमा अब म नागरिकता विधेयक प्रमाणीकरण गर्न सक्ने भएँ भनेर अभिव्यक्ति दिएको उनले दाबी गरे । 

संविधानविद् एवं अधिवक्ता स्वागत नेपाल राष्ट्रपति पौडेलले राम नामकै बदनाम गरेको टिप्पणी गरे । नेपालीले अब जन्मने सन्तानको नाम रामचन्द्र राख्दासमेत सोच्नुपर्ने बेला आएको उनको भनाई छ । 

‘मान्छे मर्दा वियोगमा सम्झने राम राम कस्तो मर्न नसकेको मान्छेका नाम पर्न गएछ रामचन्द्र ? यो भन्दा अर्को नाम अब नेपालीहरूले कसरी आफ्नो सन्तानको नाम रामचन्द्र राख्न सक्छन् होला ? इराक युद्धपछि ९८ प्रतिशत दम्पतीले आफ्ना सन्तानको नाम सद्दाम हुसेन राखेका थिए रे । अमेरिकासँग लड्न सक्ने तागत भएको,’– उनले भने । 

अर्का वक्ता वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले आज इतिहासकै कालो दिवस भएको टिप्पणी गरे । राष्ट्रपति पौडेलले संविधान र कानुनमा उल्लेख नै नभएको अधिकार प्रयोग गरेको उनको दाबी छ । 

‘आज नेपालको राष्ट्रियताको इतिहासमा कालो दिवस हो । संविधानमा १५ दिनभित्र विधेयक प्रमाणीकरण गर्नुपर्ने हुन्छ । १६ दिनका दिन गर्न पाइँदैन । रामचन्द्र पौडेलले ०७९ सालमा विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न इन्कार गरेको विधेयकमा लालमोहर लगाउनु भयो । कहाँ छ त्यस्तो व्यवस्था ?,’– उनले प्रश्न गरे । 

भारतले प्रधानमन्त्री प्रचण्डलाई रेशम चौधरी छुटाएर र नागरिकता विधेयक प्रमाणीकरण गरेर आउनका लागि भनेको उनको आरोप छ । 

जनसमाजवादी पार्टीका महासचिव डम्बर विक्रम कार्कीले राष्ट्रपति पौडेलबाट राष्ट्रियता हराएको बताए । राष्ट्रपति पौडेल दास भइरहेको उनको टिप्पणी गरे । दास मानसिकता भएकालाई राष्ट्रपति मानेर बस्न आफूहरू विवश रहेको उनले बताए । राष्ट्रपतिको यो कदमविरुद्ध बुताले भ्याएसम्म लडाइँ लड्ने  उनले घोषणा गरे । नयाँ दलहरूले राष्ट्रपति पौडेलको यो कदमको विरोध गर्न नसक्ने भए कालो कपडाले मुख छोपेर हिँड्नसमेत आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप