शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
सन्दर्भ : राजदरबार हत्याकाण्ड

दरबार हत्याकाण्डमा यस्तो छ तत्कालीन शाहज्यादा पारसको बयान

शुक्रबार, १९ जेठ २०८०, ०९ : ००
शुक्रबार, १९ जेठ २०८०

नारायणहिटी राजदरबारमा २०५८ जेठ १९ गते भएको घटना सम्बन्धमा छानबिन गर्न गठित उच्चस्तरीय समितिले तत्कालीन शाहज्यादा पारस वीरविक्रम शाहसँग लिएको बयान :

श्री ५ शाहज्यादा पारस वीरविक्रम शाह

समिति : सरकार, राजदरबारमा भएको १९ गते जुन पारिवारिक जमघट थियो, त्यसमा सरकारको उपस्थिति छ भन्ने जानकारी हामीलाई प्राप्त भयो । त्यसबाट सरकारले के नजर गरिबक्स्यो, के अनुभव गरिबक्स्यो, त्यो सबै जानकारी भएको सुनेको कुराहरु चाहिँ हामीलाई प्राप्त भएमा रिपोर्ट दिन सजिलो पर्ने थियो ?

जवाफ : अब, हामी पुग्यौँ त्यहाँ त्यस्तै अन्दाजी साढे सात भन्दा अलि ढिलो पुग्यौँ । हामी त्यही... ७ः४० तिर पुग्यौँ, सबैजना आइसकेको थियो । मुमा, म, बहिनी, हिमानी र हामी अलि ढिलो पुग्यौँ । ७ः४० तिर पुग्यौँ पुग्दादेखि अ... युवराजधिराज अलिकति ककटेल ज्युनार भैसक्या जस्तो थियो । अनि के खाने मैले कोक मात्रै खाने विचार गरेँ । ए कोक मात्र खाने ! म त ह्विस्की खाएर बसेको छु हुकुम भयो । त्यो बेलासम्म ठिक्कै होइबक्सन्थ्यो, एकदमै लागेको जस्तो गरिबक्सी राखेकोथ्यो । अ... कुरा गर्दाखेरी के भो भन्दाखेरी हैन यही विवाहको कुरा भइराखेको छ । मेरो, मुमासँग पनि कुरा गरेँ । आफूमुमासँग पनि कुरा गरें अनि दुवैजनाले हुन्न भन्नु भयो । अब आइतबार बुवासँग कुरा गर्छु हुकुम भयो । त्यति कुरा भइराखेको थियो, त्यत्ति हुँदा हुँदै आठ बज्यो । सबैजनालाई ड्रिंक्स सिंक्स टक्राइबक्स्यो । आठ बज्यो आफूमुमा, मुमा बडामहारानी सवारी होइबक्स्यो, फेरी सरकारबाटै सवारी चलाइबक्सेका, फेरी... ड्रिंक्स दिइबक्स्यो, अनि यस्तै साँढे आठतिर महाराजधिराज सवारी होइबक्स्यो । अफिस सक्याएर सवारी होइबक्स्यो, त्यो बेला दाइ हामीसँग भित्र होइबक्सन्थ्यो । जहाँ घटना भयो त्यही कोठामा होइबक्सन्थ्यो । एकदमै लागेको जस्तो ढलिबक्स्यो, बेहोसै होइबक्सेको जस्तो सुकला नै भयो, त्यही भुइमा नै सुकला भयो, म, गोरख, निराजन र राजिव भएर उठाएर लगेर सरकार यहाँ त मिलेन ठूलो बुवा सवारी होइबक्स्यो, अब यसो यस्तो कति छ ... छ माथि सवारी चलाउँछौं भनेंर हामी चारजना भएर माथि खोपीमा सवारी चलायौं, त्यो खोपीमा लगेर गद्दीमा त सुकला गराउन पाइन । गद्दीको मुन्तिर सानो ओछ्यान छ नि त्यहीं नै सुताएर गयौं हामीले । करीव साँढे आठ जस्तो भाथ्यो, साँढे आठ त्यस्तै ३१–३२ आठ ३१–३२ होला । हामी तल आयौं । वत्तिसत्ति निभाएर तल आयौँ । तल आएपछि अब महाराजधिराजको भित्रै, मुमा बडामहारानी सरकार जहाँ राज होइबक्सेकोथ्यो त्यहीं नै हेलेन शाहसँग मिटिङ्ग भइराखेको थियो । हामीले दर्शन गर्न पनि पाएको थिएन, वाहिर कुरेर बसिराखेको थिएँ, त्यहाँ भित्रको मिटिङ आधा घण्टाजति चल्यो होला, मेक्सीमम आधा घण्टाजति चल्यो होला । त्यसपछि हामी दर्शन गरेर यता आयौं । महाराजधिराज सरकार र मुमा बडामहारानी सरकार पनि यतै सवारी भयो । त्यही कोठामा जहाँ यो घटना भयो, त्यही कोठामा सवारी भयो । भर्खर ड्रिंक्स लिई बक्सेको थियो, महाराजधिराज सरकारले । हामीले चियर्स पनि गरेको छैनौं, भर्खर ड्रिंक्स लिई बक्सेको थियो, यसै वीचमा अब हामीचाँही एतापट्टी कुनामा थियौं हजुर, देखिएन युवराजधिराज सवारी भएको । अ... हामीले युवराजधिराज सवारी भएको देखेनौं, हामी कुनामा थियौँ । मैले त यो...

समिति : कुन भनेको त्यो बडामहारानी सरकार राज भएको कुर्सितिर कि ? 

जवाफ : होइन, क्यारेमवोर्ड छ नि ।

समिति : क्यारेमवोर्ड यो ?

जवाफ : क्यारेमबोर्ड, क्यारेमबोर्ड छ नी ।

समिति : त्यो वारको पछाडि ?

जवाफ : हो बारको पछाडि त्यो... कुनामा हामी बस्ने कुना त्यही हो । हामी Youngs

हरुको, अब त्यहाँ उताबाट चुरोट सुरोट समाएको नदेखियोस् भनेर त्यो कुनामा हामी धेरै जस्तो वस्ने त्यही कुनामा हो । अनि त्यहाँ मैले सवारी भएको कोही देखेको थिइनँ, मैले सवारी भएको भनेको थाहा पाएको पहिलो बन्दुक पड्केपछि थाहा पाएँ । गड्याङ्ग गर्‍यो, त्यत्ति ३ राउण्डजति फायर भएको छ । पहिले सवारी हुनेबित्तिकै ३ फायर भएको छ । एउटा माथि छ एउटा सिधा छ । त्यसरी दागि बक्सदाखेरी एउटा सिधै गएको छ, एउटा माथि गएको छ । ३ राउण्डजस्तो लाग्छ, मलाई जहाँसम्म लाग्छ । अब त्यस्तो हुँदाखेरी ३ राउण्ड जस्तो लाग्छ first मैं त्यो पनि आवाज । महाराजधिराजले के गरेको मात्र हुकुम भएको थियो ड्याङ्ग ड्याङ्ग एउटा यस्तोमा एउटा यस्तोमा । महाराजधिराज ढलिबक्स्यो । म र डाक्टर राजीव सँग सँगै । दुईजना कुदेर गयौं । डाक्टर राजीव चाही महाराजधिराज भएको ठाउँमा कुद्न भ्यायो हजुर, मलाई चाहीं अधिराजकुमारी शोभाले जानै दिन बक्सेन,  तिमी त्यहीं बस हिड्ने होइन हुकुम भयो । त्यही नै मैले पछाडी फर्केर बहिनीहरु सबैजनालाई ढल्नलाई सुत तिमिहरु यहाँ भनेँ । यहाँ वाङ्ग वाङ्ग पड्कन थालिसक्यो, सबै जना सुत भनेर त्यो लाइन क्रोसियरमा सबैजनालाई राखें । उता दुईजना सिनियर मेम्वरहरु पनि महेशकुमार र रवी शम्शेर दुवै जना पनि मेरै छेउमा थियो । दुवैजनालाई पनि मैले लाइन क्रोसिएरमा राखें । यत्तिमै यत्ति हुँदाहुँदै युवराजधिराज सरकार, फेरि फर्केर सवारी भयो । मैले देखेको चाहिँ हजुर, महाराजधिराजलाई हानिबक्सेको देखेँ । धीरेन्द्र सरकारलाई हानी बक्सेको देखें, बाबा enough, you done enough damage भनेर second time फर्केर जाँदाखेरी, धीरेन्द्र सरकारले के हुकुम भयो भने you done damage हुकुम भयो । त्यत्ति हुकुम हुँदाखेरी ड्याङ्ग ड्याङ्ग अर्को एउटा यस्तोमा लागेको छ । एउटा होकी दुइटा त्यो पनि धीरेन्द्र सरकारलाई, राम्रोसँग सम्झन सकेको छैन । ढलिबक्स्यो । धीरेन्द्र सरकार ढलिबक्स्यो, ढलिबक्से वित्तिकै त त्यसपछि त अरु अरु मान्छेहरु त one after another  को ढल्यो को ढल्यो त्यसपछि राम्रोसँग भन्न सक्दिन । म पछाडी फर्केर बहिनीहरु सुताउन थालिसकेको थिए, अँ... मैले ढलिबक्सेको देखेको महाराजधिराज ढलिबक्सेको देखेँ यता, कुमार खड्ग ढलिबक्सेको थियो, उता कुमार गोरख ढलेको देखें, त्यो चाही first मै ठूलो बुवासँगसँगै ३ जना ढलेको छ । त्यो first automatic weapon mp-5 को फायरले ३ जना ढलेको छ । बाहिर सवारी भयो, फेरि फर्केर सवारी भयो, त्यसपछि त्यो सानो weapn mp-5 automatic त्यो फालिबक्स्यो । त्यो weapon महाराजधिराज सरकारले टिपिबक्स्यो । त्यो weapon टिपिबक्सेको थियो । अधिराजकुमारी शोभा सवारी भएर त्यो weapon  लिइबक्स्यो, म्यागजिन पनि झिकिबक्स्यो । त्यहीँ भइमा राख्दीबक्स्यो त्यो । अब के भन्ठानी बक्स्यो भने त्यही एउटा मात्र होला भन्दठानी बक्सेछ । दाइले चाहीं अरु पनि बोकिबक्सेको मैले पनि देखेको हो । अरु तीनवटा बोकिबक्सेको थियो, चारवटा थियो weapon । एउटा चाहीने बन्दुक left side मा थियो hand gun, hand gun चाही left side  मा थियो । दाहिने वगलिमाः mp-5 थियो । भिरिबक्सेको क्जयत नगल र एम १६, त्यो  automatic हो । भ्यार्रर गरेर ठूलो बुबालाई हानी बक्स्यो, कान्छो बुबालाई पनि हानी बक्स्यो, यता खड्ग विक्रम ढलिबक्स्यो उता गोरख ढल्यो । त्यो frist attack मै कता कता दागेर वाहिर सवारी भयो । त्यसपछि हामी त कुनैमा थियौँ । वाहिरपट्टी के भयो मैले त देखिन फेरि भित्र सवारी भयो । सवारी भएर ठूलो बुबालाई... । 

समिति : समयको त्यस्तो कुनै ग्याप, लामो ग्याप त हैन ?

जवाफ : छैन, एक मिनेट पनि छैन, ३० सेकेण्ड होला म्याक्सिमम्, म्याक्सिमम् भए ३० सेकेण्ड, भित्र बाहिर भित्र वाहिर गरिबक्स्यो सवारी भयो ठूलो चाही बन्दुक एम १६ एम १६ ले पहिले नै ठूलो बुबाको माथमा हानिबक्स्यो सट त्यस पछि यता सवारी भयो, खड्ग फुपाजु ढलिबक्स्यो कुमार खड्ग त्यो वारको ठ्याक्कै तल ढलिबक्स्यो ।

...हजुर, उतिापट्टि गोरख, ठूलो बुबा बीचमा स्नुकर बोर्डको तल गोरख ढलिराखेको थियो, ...श्रुति मैले आएको देखिनँ, गोरखलाई गएर बाबा तिमीलाई पनि लाग्यो भनेको देखें । त्यो गएको बेलामा उताबाट फर्कि बक्स्यो, युवराजधिराज सवारी भयो, यतापट्टी  ढली राखेको थियो हजुर, पहिला कुमार खड्ग ढलेकोमा अधिराजकुमारी शारदा सवारी भो । तिमीलाई के भयो तिमीलाई के भयो भनेर सवारी भई माथि पट्टी सुतिबक्स्यो, खड्ग फुपाज्यूको माथि ढलेर कवर गरिबक्स्यो । युवराजधिराज सवारी भयो ड्याङ्ग ड्याङ्ग (point blank) ड्याङ्ग ड््याङ्ग ड्याङ्ग यस्तो घारीबाट देखेको त्यही देखेको । त्यो भएको म यताको कुनाको मेचमा त्यो वारको मूनिबाट त्यो चाही राम्रो सँग देखेको हो मैले । ड्याङ्ग हानी बक्स्यो ।  त्यो गोली आएर यतापट्टि कार्पेटमा लागेछ । भएर आएर मेचको यतापट्टी काठमा लागेर मेरो साइडमा महेश कुमारलाई राखेको थिएँ मैले, त्यो गोली उछिट्टिएर गएर उसको यस्तोमा लागेको हो । त्यो चाही लागेको उसलाई । अब त्यसपछि फेरी वाहिर सवारी भएको हो कि म राम्रो सँग सम्झन सकिन, बाहिर सवारी भएको जस्तो लाग्दछ, दुईतिी चोटी गरिबक्स्यो भित्र, वाहिर third time सवारी हुँदा चाही यता ..अ... शाहज्यादीा जयन्ती दिदी, केतकी अ... श्रुति ३ जनालाई हानिबक्स्यो । श्रुति third time ... अनि बाहिर सवारी भयो युवराज सरकार चाही मैले त्यसपछि, यता कुनामा सवारी भयो, त्यो अग्लो मेच जस्तो छ नि हजुर, त्यो कुनामा सवारी भयो, त्यसपछि डाइरेक्ट नजरमा हामी पर्‍यौ ... के गरिबक्स्या हजुर ... हामी ... के गरिबक्स्या please ... गई बक्स्योस भनेर त्यो विन्ति जाहेर गरें मैले । नत्र भए सबैजनालाई हानेको भए म थिएँ, महेश मेरो पछाडि थियो, रवी उतापट्टी ठ्याक्कै वारको मुनि रवि थियो । अ.. महेशको पछाडि मेरो वहिनी छ । पछाडी मेरो वाइफ थियो, मेरो वाइफ पछाडि मेरो ३ जना वहिनीहरु मैले राखेको थिएँ । लुकाएर राखेको थिएँ । एउटा वहिनीलाई चाहीँ त्यो सोफा जस्तो छ त्यसको पछाडि राखेको थिएँ । एकदमै कभर गरेर राखेको थिए् मैले । मैले चाही दाइसँग के गरिबक्स्या हामी यस्तो यहाँ त हामी मात्र छौं please ... one by one सबैलाई हेरेर छोडेर बाहिर लागिबक्स्यो, त्यसपछि थाहा भयो हामीलाई हानिबक्सेन भनेर । म उठेर गएँ । त्यहाँ अरु मान्छे ढलिराखेको थियो । के के भाछ भनेर मैले कान्छो बुवाकहाँ गएँ । पारस मेरो खुट्टा चलाउन मैले खुट्टै चलेन  अँ... मेरा खुट्टा खुम्च्याउन सक्दिन खुट्टा चलाई देउ । अलिकति चलाएँ फिल गर्न सकिबक्सेन । त्यसपछि यता केटाकेटीलाई हेर भन्नु भयो, मैले त मेरो मुमा ढलेको पनि देखेको छैन । मुमा पनि देखेको छैन यता अधिराजकुमारी शान्ति पनि देखेको छैन,  उता उता... वडामहारानी सरकार निराजनको त वाहिरै कुरा भयो मैले त्यति देखेको छैन । अनि त्यो बेलाम हेर्दा खेरी मुमा भर्खर उठी बक्सिराथ्यो, ढलिबक्सेको । मूमा तल होइसिन्थ्यो । अधिराजकुमारी शान्ति माथि होइसिन्थ्यो । मुमाले चाही घचडेर उठिबक्सेको देखें । म help गरेर उठाएँ मुमालाई । ...मठिक छैन म ठिक छैन भन्नु भयो, माथबाट पनि रगत आइराखेको यस्तो समातेर बसिबक्स्याथ्यो । माथको रगत चाहिने अधिराजकुमारी शान्तिको रगत रहेछ । मैले त माथमा लागेछ भन्ठाको थिए पहिला । अधिराजकुमाीको रगत रहेछ । त्यतिगरे पछि कहाँ लागेको छ भन्दा यहाँ लागेको छ हुकुम भयो, माथ पनि चेक गरें मैले, केही पनि छैन । त्यसपछि म दौडेर गएर यता मुमा वडामहारानी सरकारकाँ गएँ । बाहिर पनि मैले त फायरिङ्ग सुनेको थिएँ । मैले त उता भन्ठाने, मूमा वडामहारानी सरकरको खोपिमा भन्ठानें । दौडेर त्यहाँ गएर त्यहाँ त केही पनि भएको छैन । त्यहाँ यस्तो यस्तो भयो भनेर जाहेर गरें, त्यो बेलासम्म फायरिङ्ग सकिसकेको थियो, म जाँदा मुमा वडामहारानी सरकार...

समिति : मुमा बडामहारानी सरकार भनेको उता सानो बैठकमा...

जवाफ :  उता सानो वैठक बाहिर पट्टीको । त्यहाँ होइबक्सन्थ्यो , त्याहाँ जाँदासम्म ँष्चष्लन बन्द भएको थियो । जब म मान्छेहरुलाई हेर्न गएको थिए त्यो वेलासम्म कोही फायरिङ्ग भइराखेको थियो । वाहिर ...त्यो चौरमा फायरिङ्ग भइ राखेको थियो । लास्ट भएकै चौरमा हो । त्यसमा पनि के भयो म केही भन्न सक्दिन । मैले देखेको होइन । कसलाई हानिबक्स्यो, त्यहाँ कसरी घटना भयो, त्यो पहिला कसलाई  हानिबक्स्यो, पछि कसलाई हाबिीक्स्यो मलाई थाहा छैन । मैले त मुमालाई लागेको देखेको होइन, अहिले कुरा सुन्दाखेरी बाहिरबाट हानीबक्सेको मुमालाई पछाडी दुइटा बाहिरबाट हानीबक्सेको मात्र सुनें । त्यो मलाई थाहा छैन मैले नदेखेको कुरा म भन्न सक्दिन । मैले देखेको कुराचाही यत्ति हो । म पनि त्यसपछि मान्छेहरुलाई हेरें, सवैजना ढली राखेको छन् । खुट्टा चलाइ देउ भन्नुभयो । पाउ चलाएँ, सिधै हेर्न सकिदैन यता केतकी फुपुलाई हेर भन्नुभयो, कान्छो बुवाुले । म खुट्टा पनि चलाउन सक्दिन म हेल्प भन्दा धेरै त्यो जाहेर गरेँ । दौडेर आफूमुमाकहाँ गएँ मुमा वडामहारानी सरकारकाँ ३ जना होइबक्सन्थ्यो, त्यहाँ केही पनि भएको छैन । बाहिर दौडेर ए.डि.सी.हरुलाई भित्र ल्याएँ । त्यो ए.डि.सी.हरु बाहिर गयो, बाहिर जाँदाखेरी  ...हरु ठ्याक्क आइराखेको थियो । म वाहिर पुग्नु र ADC हरु आइपुग्न almost सेम टाइम थियो । अनि त्याहाँ बाहिर गएर के भने यो भित्र मरेको मान्छे पनि छ घाइते मान्छेहरु पनि छ । मरेको मान्छेहरुलाई छाडदेउ । घाइते मान्छेहरुलाई दौडाइहाल पहिला, भित्र लगें घाइते मान्छेहरु सबैभन्दा पहिला उठाएर one by one सबैजनालाई जो जो पहिला गए जो जो हाल्न सकें पठाएथें, ५–६ मर्डरहरु थिए । जो जो आए हाल्दै पठाउँदै थिएँ । अब दाई, बडामहारानी सरकार र भाइलाई भेटाउन, गएको तिमिहरु खोज भनेर तीन जना । दाइको एडिसी दौडेर आयो he shot himself, he shot himself भन्दै आयो । त्यसपछि भाइ कहाँ भन्दा भाइलाई पनि हानिबक्स्यो । ठुलोमुमा खोइ, ठुलो मुमालाई पनि डाउन, सबैजना डाउन ठुलोमुमाको chance छैन भनेर उनीहरुले मलाई भन्यो । मैले देखेको होइन, ठुलो मुमाको चान्स छैन, दाइचाही ऐयाऐया गरेर लडिबक्स्याथ्यो, माथमा लागेको थियो । ल हाल भनेर दाइ र भाइलाई चाही मैले सँगै हालेर दाइको एडिसीले हाल्यो, म अगाडी बसे, पछाडि एकजना ड्राइभरले दाइलाई समाइराथ्यो र भाइलाई समातेको थियो पछाडी अर्को एकजना थियो ।  । दुईजना चाही म र दुईजना एडिसी अर्को एकजना ड्राइभर भएर अस्पताल पुर्‍याको । त्यतिबेला महाराजधिराज सरकारको सवारी चलाइसकेको थियो । ...सबैभन्दा पहिला त सुन्दर भन्ने एडिसी छ, त्यो गर्दा उ आयो, उताबाट घुमेर आयो त्यहाँ त फायरिङ भइराखेको थियो । उसले अरु मान्छे ल्याउन सकेन, उता ढोकाको शिशा फुटाएर मैले आउ भन्दिए । यो फुटाएरभित्र आएर ठूलो बुबा महाराजधिराज सरकारलाई लग्यो, महाराजाधिराज सरकारलाई पहिला लगेको हो । 

यो राजीव कहाँ थ्यो के थ्यो, राजीव गएको पनि देखेको छैन, हजुर, म पछाडि गर्दै थिए यता मान्छेहरु हेर्दै थिएँ, राजीव गएको मैले देखेको होइन, सबभन्दा पहलिा चाही महाराजधिराज सरकारलाई लिएर गएको । त्यसपछि चाहीं म गएर मान्छेहरुलाई हेर्न गएको । ए.डि.सी. हरुलाई मैले नै बोलाएर त्यो शिशा ढोका फुटालेर महाराजाधिराज सरकारको सवारी चलाएँ । मैले देखेको त यत्ति हो । 

समिति : सरकारले कति weapon युज भएको देखिबक्स्यो ? 

जवाफ : मलाई जहाँसम्म लाग्दछ एउटा एम १६ युज भएको छ । Glock युज भएको छ । चारवटा युज भएको छ मैले त्यो 12 bore  फायर गरेको देखेको छैन । त्यसको फायर देखेको होइन मैले । अरुचाहीं फायर भएको देखेको छु मैले । यो एम १६ फायर भएको देखेको हुँ । 

समिति : युवराजधिराजको कसरी ?।

जवाफ : मैले सुने अनुसार दाइले आफूलाई हानिवक्स्यो, ब्रिजमा हानिवक्सेको ।   

समिति : यसको पछाडि के यस्तो कारण ?

जवाफ : यो विवाहकै हो हजुर । मलाई जहाँसम्म लाग्छ, विवाहकै हो । यो शुरु भएको पोहोर गएको जन्मोत्सवमा सुरु भएको कुरा हो । पार्टी भएपछि पार्टी भएको त्यही ठाउँमै त्यही ठाउँमा भएको कुरा हो, त्यहीं नै हामी आएर कुरा गर्दाखेरी जो जो against अघि जो जो with अब भाई र म with जहिले पनि विथ । दाइको त हामी जे जे हुकुम हुन्छ त्यही गर्ने मान्छे । भाई र म with थियौँ । अब राजिव त डा. with भयो, श्रुती, गोरखहरु र अरु बहिनीहरु against थियो विवाहकोमा । मेन कुरा यही नै जस्तो लाग्दछ । मेन कुरा यही हो जस्तो लाग्दछ ।

समिति : तर त्यो दिन त्यहाँ त्यो कुरा चल्यो कि चलेन ? 

जवाफ : म संग कुरा गरिबक्स्या छैन । मैले अघि तपाईलाई भनेको जस्तो म जाने बित्तिकै के मर्जीभयो भने मलाई मूमासंग पनि कुरा गरें, आफू मुमासंग पनि कुरा गरें, नहुने भयो । अब म बुवासंग आइतबार दर्शन पाउँछु, त्यो बेला कुरा गर्छु, त्यत्ति मात्र हुकुम भाथ्यो मलाई । 

समिति : राम्रो मुड थियो ?

जवाफ : लागेको जस्तो भएको थियो । एकदमै राम्रो थियो मूढ । त्यस्तो होला जस्तो केही सोचेकै थिएनौं हामीले । एकदमै जोक गरी वक्सेको जस्तो सबैलाई हँसाइबक्सेको थियो, त्यहाँ तल होइवक्सँदासम्म त ।   

समिति : सरकार माथि कसले पुर्‍याएको ? 

जवाफ : हजूर हामी चारजनाले पुर्‍याएको । हामी चारजना एकजनाले कहाँ सक्नु !  

समिति : बोकेरै लगिवक्स्यो ?

जवाफ : दुईजना साइडमा म पछाडि यसरी उचालेर गोरख र भाइले, अं... राजीव र भाइले दुईजना साइडमा मैले पछाडी समाएर माथि लग्यौं । गोरख होइन, गोरख पछि पछि आउँदै थियो । माथि... 

समिति : तल सुताइवक्स्यो ?

जवाफ : तल मेन गद्दीमा त सुताएनौं । तल सुतायौं । मैले भाइहरु भनेको वेपनहरु झिक लैजाऊ, अप्ठ्यारो हुन्छ झिक । ...पर्दैन होला... 

समिति : त्यो कोठाबाट ? 

जवाफ : कोठाबाट । माथिको कोठाबाट । जुन मेन गद्दी थियो त्यो गद्दी भन्दा तल अर्को एउटा बेड ... ऊ ग्राउन्ड बेड जस्तो त्यहाँ सुताएर हामी तल आएको । 

समिति : वेपन्सहरु ?

जवाफ : वेपन्स अब त्यो, त्यस्तो त बोकिवक्सेको छैन । एमपी ५ र मैले देखेको छैन कहाँ थियो । अँ,... एम १६ चाहिनी त्यो तखताहरु छ नि, जाने बित्तिकै तखताहरु जस्तो छ । 

समिति : त्यसमा कार्टिजहरु पनि निस्किराखेको थियो ?

जवाफ : हो, त्यो तखतामा छ । त्यो होला ...अँ... बटृाभित्रै बक्सभित्र नै थियो । त्यो तखतामा नै देखेका थिएँ मैले । त्यो चाहीं एम १६ चाहिनी । ... पनि म चिन्छु हजूर जहिले पनि चलाइवक्सिराखेको हो । अब यस्तो हुन्छ भनेर कसले भन्न सक्ला र ? 

समिति : अरु सरकारलाई सम्झिनुपर्ने त्यस्तो केही बाँकी ? 

जवाफ : म अब सम्झें भनेदेखि, म त्यही सम्झन खोजिरहेको छु । त्यो यस्तो छिटो भैद्याथ्यो कि सबै कुरा मैले गर्न सकेको काम गरेको हो । अब सक्नेजति गरेको हो । बचाउन खोजेको हो मान्छेलाई । त्यही पनि अरु पनि बचाउन सक्थें कि जस्तो लाग्छ । आफूलाई अहिले, सोंच्दाखेरी । जे जति गरेंं त्यो कम भयो जस्तो लाग्छ आफूलाई । 

समिति : हस् त ।  

(नारायणहिटी राजदरबारको २०५८ जेठ १९ को घटना सम्बन्धमा गठित उच्चस्तरीय समितिको प्रतिवेदनबाट साभार ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप