मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत

सोमबार, १५ असार २०८३, २२ : ४०
सोमबार, १५ असार २०८३

काठमाडौँ । ‘हाइड्रो–टुरिजम’ को नयाँ अवधारणामा निर्माण भइरहेको ४.७ मेगावाट क्षमताको मौलाकालिका जलविद्युत आयोजनाले निर्माण सुरु भएको ६ महिनामै ३० प्रतिशत भौतिक प्रगति हासिल गरेको छ। 

तनहुँ र नवलपुर जिल्लाको सिमानामा पर्ने देवघाटको साँधे बगर क्षेत्रमा निर्माणाधीन यो आयोजना नेपालकै एउटा नमुना पर्यटकीय ऊर्जा परियोजना बन्ने लक्ष्यका साथ अघि बढेको कम्पनीको भनाइ छ ।

उक्त आयोजनाको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आयोजनाको स्थलगत अवलोकन गरेका छन्। स्थलगत अवलोकनका क्रममा मन्त्री श्रेष्ठलाई आयोजनाको अवस्थाबारे जानकारी गराउँदै मौलाकालिका हाइड्रोपावर कम्पनी लिमिटेडका अध्यक्ष कृष्णप्रसाद सुवेदीले आगामी दुई वर्षभित्रै सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको बताए । 

यो आयोजना ‘ड्याम–टु–टो’ अवधारणामा आधारित छ भने त्यसमा बिजुली उत्पादनसँगै पर्यटन प्रवर्द्धनलाई मुख्य प्राथमिकता दिइएको छ। आयोजनाका लागि निर्माण गरिने १८ मिटर अग्लो बाँधका कारण कालीगण्डकी नदीको माथिल्लो भागमा करिब १५ किलोमिटर लामो विशाल जलाशय (पोखरी) बन्नेछ। कम्पनीले उक्त जलाशयमा सुविधासम्पन्न क्रुज सेवा सञ्चालन गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने योजना बनाएको छ।

पर्यटकीय आकर्षण थप्नका लागि बाँधको माथिल्लो भागबाट करिब ३० मिटरको उचाइमा आकर्षक झरना देखिने गरी पूर्वाधार तयार पारिँदैछ। सोही दृश्यावलोकन गर्न मिल्ने गरी आयोजनास्थल नजिकै पाँचतारे होटलसमेत निर्माणाधीन अवस्थामा रहेको अध्यक्ष सुवेदीले जानकारी दिए । 

आयोजनाबाट उत्पादित बिजुलीलाई चितवनको न्यू भरतपुर सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप