मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा

सोमबार, १५ असार २०८३, २२ : ४३
सोमबार, १५ असार २०८३

सारांश

  • यु–२० राष्ट्रिय रग्बी प्रतियोगिताको महिलातर्फ बागमती र कोशी प्रदेश फाइनलमा पुगेका छन्।
  • पुरुषतर्फ कर्णाली प्रदेशले बागमती र गण्डकी प्रदेशलाई पराजित गर्दै बलियो प्रदर्शन गरेको छ।
  • प्रतियोगिताको प्रदर्शनका आधारमा भारतमा आयोजना हुने यू–२० एसियन रग्बी प्रतियोगिताका लागि नेपाली टोली छनोट गरिनेछ।

काठमाडौँ  । ललितपुरको च्यासल रंगशालामा सोमबारदेखि सहिद स्मृति राष्ट्रिय यू–२० पुरुष तथा महिला रग्बी प्रतियोगिता सुरु भएको छ। 

सहिद स्मृति स्पोर्ट्स एकेडेमीको आयोजना, प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको सहयोग, बागमती प्रदेश रग्बी संघको व्यवस्थापन तथा नेपाल रग्बी संघको समन्वयमा सुरु भएको प्रतियोगिताको पहिलो दिन पुरुष र महिला दुवैतर्फ रोमाञ्चक खेलहरू सम्पन्न भएका छन् ।

प्रतियोगिताको उद्घाटन बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री उर्मिला नेपालले मुख्य रेफ्री प्रेम बहादुर कोइरालालाई रग्बी बल हस्तान्तरण गरेर गरिन्। उद्घाटन समारोह सहिद स्मृति स्पोर्ट्स एकेडेमीका अध्यक्ष रन्जित तामाङको अध्यक्षतामा सम्पन्न भयो । 

आगामी नोभेम्बरमा भारतमा आयोजना हुने ‘यू–२० एसियन रग्बी प्रतियोगिता’का लागि नेपाली टोलीको छनोट समेत यसै प्रतियोगिताको प्रदर्शनका आधारमा गरिने नेपाल रग्बी संघका प्रबन्धक बिराज काफ्लेले जानकारी दिए। खेल संयोजकको भूमिकामा बाग्मती रग्बी खेल संघका सचिव अनन्त प्रकाश श्रेष्ठ छन् भने प्रतियोगिताको स्वास्थ्य साझेदारका रूपमा भक्तपुर इन्टरनेशनल हस्पिटल रहेको छ ।

प्रतियोगिताको पहिलो दिन पुरुषतर्फ कर्णाली प्रदेशले आफ्नो बलियो उपस्थिति जनायो। कर्णालीले बागमती प्रदेशलाई २६–७ र गण्डकी प्रदेशलाई ३४–७ को फराकिलो अन्तरले पराजित गर्‍यो। यस्तै कोशी प्रदेशले मधेस प्रदेशमाथि १५–० को जित निकाल्यो भने बागमती प्रदेशले गण्डकी प्रदेशलाई १४–५ ले पाखा लगायो ।

महिलातर्फ बागमती र कोशी प्रदेशले एकछत्र राज गरे। बागमतीले लुम्बिनी प्रदेशलाई ३२–० र कोशी प्रदेशलाई २२–० ले पराजित गर्‍यो भने गण्डकी प्रदेशले ‘वाकओभर’ दिएपछि बागमती स्वतः विजयी बन्यो । अर्कोतर्फ कोशी प्रदेशले गण्डकी प्रदेशलाई ३५–० र लुम्बिनी प्रदेशलाई १०–५ ले हरायो । लुम्बिनीले भने गण्डकी प्रदेशमाथि १०–० को सान्त्वना जित निकाल्यो ।

पहिलो दिनका खेलहरूको अंक तालिका र प्रदर्शनका आधारमा दोस्रो दिन असार १६ गते मंगलबार हुने पुरुषतर्फको सेमिफाइनल र महिलातर्फको फाइनल समीकरण पनि टुङ्गो लागेको छ । महिलातर्फ पहिलो दिन उत्कृष्ट प्रदर्शन गरेका दुई बलिया टोलीहरू बागमती प्रदेश र कोशी प्रदेश सिधै उपाधिका लागि फाइनलमा भिड्नेछन् । 

पुरुषतर्फ भने फाइनल प्रवेशका लागि दुई वटा सेमिफाइनल खेलहरू हुनेछन्। पहिलो सेमिफाइनलमा कर्णाली प्रदेश र मधेस प्रदेश आमनेसामने हुनेछन् भने दोस्रो सेमिफाइनलमा बागमती प्रदेश र कोशी प्रदेशबिच प्रतिस्पर्धा हुनेछ। कुल ५ पुरुष र ४ महिला टोली सहभागी यस प्रतियोगिताको फाइनल खेलहरू मंगलबार नै सम्पन्न हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप