सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिकता विधेयक संशोधन गर्न रास्वपाको माग

आइतबार, २१ जेठ २०८०, १३ : १९
आइतबार, २१ जेठ २०८०

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकलाई संशोधन गर्न सरकारसँग माग गरेका छन् । आइतवारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक परियारले नागरिकता बिहीनलाई नागरिकता दिन नभइ अन्य कुनै स्वार्थले नागरिकता विधेयक प्रमाणीकरण गरिएको बताए ।

उनले रास्वपा नागरिकता विधेयक प्रमाणीकरणको पक्षमा नरहेको स्पष्ट पार्दै यसको घोर विरोधमा रहेको उल्लेख गरे । उनले भने, ‘आज जुन विधिबाट, जुन तरिकाबाट सरकारले जुन रवैयाले यो प्रस्तुत गरेको छ, यसले मधेसका ती तमाम नागरिकताविहिन जनतालाई नागरिकता दिन होइन, अन्य कुनै स्वार्थले ल्याएको छ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको ठम्याइ छ । हामी यसको घोर विरोध गर्दछौँ ।’

उनले नागरिकताको विषय देशको सुरक्षा, मानव अधिकार र भूराजनीतिसँग जोडिएको विषय भएको भन्दै यसलाई संसदमा छलफल नगरी प्रमाणीकरणमा जानु नहुने बताए । ‘यो राजनीतिक विषय हो । नेपालको सुरक्षासँग जोडिएको विषय हो । यो मानवअधिकारसँग जोडिएको विषय हो । सँगसँगै भूराजनीतिसँग जोडिएको विषय पनि हो’ उनले भने,  ‘यसर्थ यो गम्भिर विषयमा संसदमा विशेष काम छ भनेर हामीलाई संसदमा बोल्न दिइरहने अनि सरकार लुसुलुसु आफ्नो काम गरिरहने यो रवैयालाई अब राष्ट्रिय स्वतन्त्र पार्टीले स्वीकार्दैन । यसर्थ सरकारले रोकोस् । सरकारले यसलाई संशोधन गरोस् ।’

उनले नेपाली नागरिकलाई नागरिकता दिलाउनका लागि रास्वपा संसद र सडकमा संघर्ष गर्न तयार रहेको भन्दै यसरकारले यस प्रकारको विधि भने सुधार्नुपर्ने बताए । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको अवरोधका कारण प्रतिनिधिसभा बैठक एक घण्टापछि बस्नेगरी स्थगित गरिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप