शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

कनेक्सन रिपोर्ट देखाउँदै न्यायाधीशले सोधे–यसलाई कसरी पुष्टि गर्नुहुन्छ ?

आइतबार, २१ जेठ २०८०, २२ : ५८
आइतबार, २१ जेठ २०८०

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेम प्रसाद न्यौपानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुविरुद्ध अभियोग हुने आधार खोजेका छन् । आइतबारदेखि सुरु भएको थुनछेक बहसका क्रममा न्यायाधीश न्यौपानेले जाहेरीकर्ताले पहिचान लुकाएको विषयका साथै प्रतिवादीविरुद्धको अभियोग पुष्टि हुने प्रमाण खोजेका हुन् । 

आइतबार बहसका क्रममा जिल्ला सरकारी वकिलको कार्यालयका सहन्यायाधिवक्ता महेश खत्रीसँग न्यायाधीश न्यौपानेले सोधे, ‘निवेदन दिँदा जाहेरीकर्ताले आफ्नो पहिचान लोप गरेका छन् । लोप गरेर निवेदन दिए, नेपालीको आफ्नो अस्तित्वै मेटाएर भुटानी नाम र ठाउँ खुलाउने उनीहरूको चाहिँ कानुनी दायित्व छैन ?’

जवाफमा खत्रीले सबैलाई एकै ठाउँमा राखेर हेरिए मुद्दा अर्कैतिर जान सक्ने बताए । उनले भने, ‘त्यसरी हेरेर प्रतिवादी बनाए मुद्दा अर्कै तिर जान्छ श्रीमान् । नेपालीहरूलाई बाध्यता छ, बेरोजगारीको समस्या छ । बाध्यात्मक परिस्थितिका कारण यस्तो भएको हो । घर खेत बन्धकी राखेर पीडित प्रलोभनमा परेका छन् श्रीमान् हामी त्यतातिर जानु हुँदैन ।’

त्यस्तै खत्रीले सानु भण्डारीका डायरीमा टोपबहादुर रायमाझी, इन्द्रजित राई लगायतलाई रकम दिइएको देखिएको बहसका क्रममा बताए । यस्तै न्यायाधीशले ‘पैसा दिएको हिसाब राखेको त तपाईँले भन्नुभयो । तर त्यो हिसाब राखेको तथ्यलाई कसरी पुष्टि गर्न सक्नुहुन्छ’ भन्दै फेरि प्रश्न गरे । 

जवाफमा खत्रीले बैंकमा भएको डिपोजिट, विभिन्न समयमा काटिएका चेक र डिपोजिट स्लिपले पनि त्यो कुराको पुष्टि हुने बताए । 

त्यसपछि न्यायाधीशले एउटा कागज देखाउँदै सरकारी वकिललाई फेरि प्रश्न गरे । उनले देखाएको कागज अनुसन्धान अधिकृतले अनुसन्धानको क्रममा ठगीको कनेक्सन देखाउने रिपोर्ट थियो । न्यौपानेले सोधे, ‘यो कनेक्सनको आधार के हो र यसको पुष्टि कसरी हुन्छ ?’ उनले फोन कनेक्सनले मात्रै कसैलाई प्रतिवादी बनाइने हो भने डढेलो हुँदैन ? भन्दै प्रश्न गरे । 

जवाफमा खत्रीले सबै विषयको प्रमाणका आधारमा भएको बताए । ‘प्रमाण छ ।  धेरै कुराले सबै मान्छेहरू जोजो आरोपी छन् उनीहरू सबै पीडितसँग जोडिएको आधार फोन कनेक्सन मात्रै होइन, पैसाको लेनदेन भएको छ, आईएमई  र बैंक थ्रु पैसा गएको छ । अभियोग पुष्टि हुने यथेष्ट प्रमाण हामीले मिसिलमा पेस गरेका छौँ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप