शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र

पश्चिम सुर्खेतमा जग्गा प्राप्तिको प्रक्रिया अघि बढ्दा रुकुम पश्चिमको चौरजहारीमा स्थापना गर्ने कर्णाली सरकारको नीति

सोमबार, २२ जेठ २०८०, १५ : ०९
सोमबार, २२ जेठ २०८०

सुर्खेत । हाल लुम्बिनी प्रदेशको नेपालगंजमा रहेको कर्णालीको प्रदेश प्रहरी तालिम केन्द्र स्थानान्तरणको विषयलाई लिएर यतिबेला दुई मत देखिएको छ । यस अघिदेखिनै पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–८ को दुलालथाई मौरीडाँडा सामुदायिक वनमा तालिम केन्द्र स्थापना गर्ने तयारी भइरहेको छ । तर, आइतबार कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याइएको नीति तथा कार्यक्रममा भने तालिम केन्द्र रुकुम पश्चिमको चौरजहारीमा स्थापना गर्ने भनिएको छ । चौरजहारी कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माको गृह पालिका हो ।

पश्चिम सुर्खेतमा विगत एक वर्ष अघिदेखिनै तालिम केन्द्रको लागि जग्गा हेर्ने काम सुरु भएको थियो । प्रदेश राजधानी वीरेन्द्रनगरमा तालिम केन्द्रका लागि आवश्यक जग्गा नभएको भन्दै सबै तहको रोहबरमा दुलालथाईमा स्थापना गर्ने गरी प्रक्रिया अघि बढाइएको हो । त्यहाँ तालिम केन्द्रका लागि भनेर २२ बिगाहा जमिन छ । 

पञ्चपुरी नगरपालिकाका मेयर लालवीर भण्डारीले तालिम केन्द्रका लागि प्रक्रिया अघि बढिसक्दा प्रदेश सरकारले नीति, कार्यक्रममा चौरजहारी राख्नु उपयुक्त नभएको बताए । ‘यहाँ सबै तरिकाले मिलेको, राजधानीको नजिक पनि भएकाले यहाँ सार्नका लागि प्रक्रिया अघि बढाइएको हो,’ उनले भने, ‘यसअघि पनि चौरजहारीको विषयमा जनार्दनज्यूले भनिरहनुभएको हो तर, प्रहरीले त्यहाँ उपयुक्त ठानिरहेको थिएन, अहिले मुख्यमन्त्रीज्यू त्यहाँकै भएकाले राखिएको हुन सक्छ ।’

साथै उनले केन्द्रबाटै प्रक्रिया अघि बढेको दाबी गरे । यद्यपि काम भने पूर्ण रुपमा बाँकी छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोपालचन्द्र भट्टराईले जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढिसकेको र तालिम केन्द्रका लागि पश्चिम सुर्खेत नै उपयुक्त स्थान रहेको बताए ।

‘नीति तथा कार्यक्रम मैले हेर्न पाएको छैन, जग्गा प्राप्तिका लागि पहल भएको पश्चिम सुर्खेतमै हो,’ उनले रातोपाटीसँग भने, ‘अहिले त्यसैका लागि पहल भइरहेको छ । स्थानको विषयमा उहाँ (मुख्यमन्त्रीहरु)लाई थाहा नभएको पनि हुनसक्छ । बरु त्यसका लागि स्रोत साधन जुटाउने कुरा मुख्य हो ।’

बरु पश्चिमको जग्गा प्राप्तिमा परिणाम सहज नआएपछि नीति तथा कार्यक्रममा भने ठाउँमा पनि हुन सक्ने उनको भनाइ छ । तर, अहिलेका लागि पश्चिम सुर्खेतमै पहल भइरहेको उनले स्पष्ट पारे ।

भट्टराईले पश्चिम सुर्खेतका लागि प्रारम्भिक रुपमा सबै सहमत भएरै काम अघि बढेको बताए । ‘सबै सहमत भएरै हामीले केन्द्रमा लेखापढी गरेको हो,’ उनले भने, ‘चौरजहारीको विषयमा हामीलाई कुनै जानकारी छैन ।’

प्रतिनिधिसभा सदस्य हृदयराम थानीले पटक–पटक संसदमै पञ्चपुरीमा तालिम केन्द्र स्थान्तरणका लागि प्रक्रिया अगाडि बढाइदिन गृह मन्त्रालयलाई आग्रह गर्दै आएका छन् । रातोपाटीसँग उनले भने, ‘गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पश्चिम सुर्खेतकै जग्गालाई टीओआर गरी तुरुन्त पेस गर्नु भनेर लेखेको छ । यदि प्रदेश सरकारले चौरजहारीमा भनेको भए, म यहाँ केन्द्रमा कुरा उठाउँला, यताबाट काम भइरहेको छ । अब कोही बदमासी गर्ने हुन् भने भगवान जानुन् ।’

यद्यपि तालिम केन्द्रको बारेमा निर्णय गर्ने अधिकार केन्द्रलाई नै हुन्छ । त्यसका लागि गृह मन्त्रालयले निर्णय नगरी कहाँ सार्ने भन्ने विषय निर्क्योल गर्ने कुरा रहँदैन । यद्यपि सरकार प्रमुख (मुख्यमन्त्री) को हिसाबले नीति तथा कार्यक्रम बनाउँदा चौरजहारी उल्लेख गरेको कुरालाई अस्वाभाविक लिन नहुने कर्णाली सरकारका प्रवक्ता एवं कानुन मन्त्री कृष्णबहादुर जिसी बताउँछन् ।

जिसीले जिम्मेवारी संघ सरकारको रहेकाले प्रदेशले चाहेर पनि सार्न नसक्ने बताए । प्रदेशले नीति तथा कार्यक्रममा समावेश गर्ने बित्तिकै यो विषयलाई विवादित बनाइराख्नुपर्ने अवस्था नरहेकोसमेत उनले बताए ।

प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतले पश्चिम सुर्खेतको बारेमा जग्गा प्राप्ति लगायतका विषयमा प्रक्रिया चलिरहेको भए पनि पूर्ण रुपमा निर्णय भइनसकेको रातोपाटीलाई बताए । ‘सकेसम्म आफ्नै प्रदेश सुर्खेतमा सार्दा राम्रो होला, अहिले अर्को प्रदेशमा छ भन्ने सबैको भावना हो,’ उनले भने ।

तथापि संघीयताको पहिलो पाँच वर्ष बितिसक्दासम्म आफ्नो प्रदेशका संरचनाहरु अर्को प्रदेमा हुन् बिडम्बना नै हो । यदि अहिले नै निर्णय भैहाले पनि तालिम केन्द्र स्थापना हुन भने अझै ३ वर्ष लाग्ने देखिन्छ ।

२०२३ सालमा सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्रका रूपमा स्थापना गरिएको तालिम केन्द्र ०३८ सालको प्रशासनिक क्षेत्रीय पुनर्संरचना पश्चात मध्यपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्रको रूप धारण गरेको थियो ।

०७२ को संविधान जारी भए पश्चात राज्यको पुनर्संरचना भएसँगै कर्णाली प्रदेशको मातहत रहने गरी तालुक प्रहरी प्रधान कार्यालय प्रशासनको पत्र आदेशानुसार नेपालगञ्ज उप–महानगरपालिका –१८ कारकाँदोमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप