शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

टोखा नगरपालिकाका जनप्रतिनिधिको एक वर्ष : के–के भए काम ?

मङ्गलबार, २३ जेठ २०८०, १३ : ५०
मङ्गलबार, २३ जेठ २०८०

काठमाडौँ । टोखा नगरपालिकामा नयाँ जनप्रतिनिधि आएको एक वर्ष पूरा भएको छ । नगर प्रमुखमा प्रकाश अधिकारी र उपप्रमुखमा मुरारी तामाङ निर्वाचित भएर आएको एक वर्ष पूरा भएको हो । नगर प्रमुखमा अधिकारीको दोस्रो कार्यकाल हो । 

पहिलो कार्यकालको कामकै कारण उनलाई जनताले दोस्रो कार्यकालको लागि पुनः निर्वाचित गराए । नेकपा एमालेबाट निर्वाचित अधिकारी पहिलो कार्यकालमा बाँकी रहेका नगरका काम गर्ने ऊर्जा र अनुभवका साथ लागेका छन् । 

उपप्रमुखमा निर्वाचित मुरारी तामाङको पहिलो कार्यकाल हो । खेलकुद पृष्ठभूमि भएका तामाङ समाजसेवा र खेलकुद मार्फत जनताको सेवामा सक्रिय थिए । 

एक वर्षमा नगरपालिकाबाट भौतिक पूर्वाधारमा केही काम भएको देखिन्छ । नगर भित्रका अधिकांश सडक कालोपत्रे र ढलान भएका छन् । त्यसैगरी नगरको  गौरव योजना मध्येको एक टोखा नगरपालिका वडा नं. ८ र ११ जोड्ने बानियाँटार विष्णुमति खोलामा पुल निर्माण भइरहेको छ । अन्य गौरवका योजनाहरु निर्माणकै क्रममा रहेको नगर प्रमुख अधिकारीले जानकारी दिए । 

एक वडा एक पार्क नीति अन्तर्गत अहिले केहि वडामा पार्क निर्माण भइसकेका छन् भने अन्यमा बन्ने प्रक्रियामा रहेको प्रमुख अधिकारीले बताए । उनका अनुसार अहिले नगर भित्र रहेका  मन्दिरको जीर्णोद्धार भएका छन् भने केही नयाँ मन्दिर पनि बनेका छन् । त्यसैगरी  टोखा चण्डेश्वरी देखी महांकाल हुँदै बौडेश्वर जाने पदर्मागको निर्माण भएको उनले जानकारी दिए ।

नगरपालिकाको प्रशासनिक भवन निर्माणको अन्तिम चरणमा रहेको छ भने नगर भित्रका वडाहरूको आफ्नै भवन निर्माण भएका छन् । यस्तै केही निर्माणको अन्तिम अवस्थामा रहेका छन् । अबको केही समय पश्चात् नगरपालिकाका प्रशासनिक कामहरू आफ्नै भवनबाट सेवा प्रवाह हुने नगर प्रमुख अधिकारीले जानकारी दिए ।

टोखा नगरपालिकामा मेयर उज्यालो कार्यक्रम पनि एक महत्त्वपूर्ण कार्यक्रम हो । यस अन्तर्गत सबै वडामा सडक बत्ती जडान गरिएको छ । त्यसको मर्मतका लागि प्राविधिक टोली समेत खटाएको नगर प्रमुख अधिकारीले जानकारी दिए । 

सांस्कृतिक नगरको रूपमा रहेको टोखा नगरपालिकामा भौतिक विकाससँगै स्वास्थ्य क्षेत्रमा  धेरै काम भएका छन्  । टोखा नगरपालिकाको मेयर दीर्घायु कार्यक्रम सबै भन्दा प्रभावकारी रहेको देखिन्छ । 

ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षणदेखि औषधी उपलब्ध गराउने यो कार्यक्रमले नगर भित्रका आर्थिक रूपमा विपन्न रहेका ज्येष्ठ नागरिकलाई वरदान साबित भएको नगरवासी बताउँछन् । ११ वटै वडामा स्वास्थ्य चौकी मार्फत पनि अन्य नगरवासीलाई सरल, सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा दिइँदै आएको नगर प्रमुख अधिकारी बताउँछन् । 

त्यसका साथै सबै वडामा नियमित कोभिड बुस्टर मात्राको खोप अभियान जारी रहेको छ । त्यसैगरी वडा नं. २ मा नयाँ आधारभूत स्वास्थ्य संस्थाको स्थापना भएको छ भने वडा नं. ११ मा ल्याब सेवाको स्तरोन्नति  हुन लागेको प्रमुख अधिकारीले जानकारी दिए । जनतालाई निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार काम गर्ने अधिकारीले स्पष्ट पारे । 

शिक्षा क्षेत्रको विकासको लागि पनि नगरपालिकाले काम गरेको छ । जसअनुसार सामुदायिक विद्यालयहरूमा  मेयर दिवा खाजा कार्यक्रम, सेनिटरी प्याड वितरण, एसइई तथा कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यालय तथा विद्यार्थीलाई सम्मान गर्ने गरेको छ । 

टोखा नगरपालिकाले खेलकुदलाई पनि विशेष प्राथमिकतामा रोकेका पाइन्छ ।  राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कपहरू भएका छन् । विभिन्न क्लबको संयोजकत्वमा विभिन्न खेलकुदका गतिविधिहरू नगर भित्र हुने गरेको छ ।

युवाहरूलाई लागु पदार्थ दुर्व्यसनबाट जोगाउन पनि नगरपालिकाले  ठुलो काम गरिरहेको छ । त्यसका साथै अध्ययन गर्ने बानी विकासका लागि तिन स्थानमा पुस्तकालय पनि सञ्चालनमा रहेको छ ।

कृषि  तथा पशु प्रवर्द्धन अन्तर्गत टोखा नगरपालिकाले कौसी खेतीलाई जोड दिँदै आएको नगर प्रमुख अधिकारी बताउँछन् । यसबाट घरबाट निस्केको कुहिने फोहोरको व्यवस्थापन हुनुका साथै अर्ग्यानिक तरकारी प्राप्त हुने भएको कारण नगरबासीले यसको फाइदा लिएको अधिकारीले जानकारी दिए ।

 नगर भित्रका किसानलाई हिउँदे तरकारीको बिउ, इएम मल, गहुँको बिउ, धानको बिउ, टनेल प्लास्टिक वितरण, ५० प्रतिशत अनुदानमा डिजेल मिनी टिलर वितरण,  प्राङ्गारिक तथा व्यवसायी खेती तालिम, स्थलगत घुम्ती तालिम, कृषि चुन तालिम, कम्पोस्ट मल, स्प्रे वितरण लगायतका काम भएको अधिकारीले बताए । पशु कार्यक्रम अन्तर्गत नगरपालिका किसानहरूले पालेको पशुहरूको निःशुल्क उपचार, गाईभैसीलाई विभिन्न रोग विरुद्धको खोपका साथै गाईभैसीको कृत्रिम गर्भधारणका कार्यक्रम सञ्चालन गर्दै आएको छ । कुकुरलाई रेबिज विरुद्धका साथै कुकुरको बन्ध्याकरण पनि नगरपालिकाले गरेको छ ।

नगरपालिकाले अहिले सुचनाप्रविधिलाई विशेष जोड दिएको छ । नगरबाट प्रदान हुने सेवाहरुलाई प्रविधिको माध्यमबाट सहज बनाउँदै लगेको छ । हाल अनलाइन भुक्तानी भइरहेको छ भने एकीकृत स्वचालित प्रणाली पनि लागु गर्ने तयारीमा नगरपालिका रहेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट नगर भित्रका ५० जनालाई ८० दिन रोजगारी दिइएको छ । यस कार्यक्रम अन्तर्गत पहिरो पन्छाउने, नाली सफा गर्ने, बाटो साइड ड्रेन, कुलो सरसफाई, मन्दिर आदि ममर्त सम्भार काम भएका छन् । 

टोखा नगरपालिकाले विभिन्न विपदमा परेकाहरुलाई राहत तथा पुननिर्माणका लागि आर्थिक सहयोग गर्दे आएको छ । अग्नी नियन्त्रण तथा नेपाली सेनासंगको सहकार्यमा विपद व्यवस्थापन सम्बन्धी पनि तालिम नगरपालिकाले सञ्चालन गरेको थियो  । 

टोखाको संस्कृति संरक्षणदेखी यहाँको चाकुको उत्पादनलाई अन्तराष्ट्रिय ब्राण्ड बनाउन पनि नगरले महत्त्वपूर्ण भुमिका खेलेको नगर प्रमुख अधिकारी बताउँछन् । स्थानिय उत्पादनलाई  बजार प्रवर्द्धन गर्न सधै नगरपालिकाले  साथ र सहयोग गर्ने प्रतिबद्धता अधिकारीको छ ।  संवृद्ध टोखा नगरपालिका बनाउन लागि रहेको र बाँकी कार्यकालमा सम्पूर्ण काम सम्पन्न गर्ने उनले स्पष्ट पारे । आफ्नो कार्यकाल पछि आउने जनप्रतिनिधिलाई कुनै काम गर्न नपर्ने गरी काम गरिरहेको  नगर प्रमुख अधिकारी बताउँछन् । 

न्यायिक कार्य सम्पादनदेखि विकास निर्माणलाई गुणस्तरीय बनाउन र समग्र टोखाको विकासमा दृढ रहेको नगरपालिकाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप