शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

एमालेमा ७० वर्षे उमेर हद दुईवर्ष नपुग्दै खारेज : विधान महाधिवेशनबाट अनुमोदनको तयारी

मङ्गलबार, २३ जेठ २०८०, ११ : ००
मङ्गलबार, २३ जेठ २०८०

काठमाडौँ । २०७८ असोज १७ मा सम्पन्न नेकपा एमालेको विधान महाधिवेशनले पार्टी नेताहरुमा लगाएको ७० वर्षे उमेर हदको अंकुश हटाएको छ । 

गत साता बसेको एमाले केन्द्रीय सचिवालय बैठकमा नेताहरुबीच ७० वर्षे उमेर हद खारेज गर्ने सहमति बनेसँगै उमेर हदको अंकुश हटाएको हो । यद्यपि ७० वर्षे प्रावधान हटाउने निर्णयको अनुमोदन पछिमात्र हुनेछ ।

 ‘७० वर्षे उमेर हद हटाउने अहिले समझदारी भएको हो । कतिपय कुराहरु समझदारीबाट पनि अघि बढाउनुपर्ने हुन्छ । अहिलेलाई समझदारी कार्यान्वयनमा लैजाँदै पछि विधान महाधिवेशनमार्फत अनुमोदन गर्नेगरी हटाउने कुरा भएको हो’, एक पदाधिकारीले रातोपाटीसँग भने, ‘अध्यक्ष केपी शर्मा ओलीसहितका पदाधिकारी ७० वर्ष उमेर हद पार गरिसकेको अवस्थामा यो प्रावधान खारेज गर्नुपर्ने अवस्था आइलाग्यो ।’ 

तर, नेताहरुले सचिवालय बैठकमा हालैमात्र नेकपा एकीकृत समाजवादीबाट एमाले प्रवेश गरेका नेता मुकुन्द न्यौपानेलाई देखाएर ७० वर्षे प्रावधान हटाउनुपर्ने अवस्था आएको बताएका थिए । ‘मुकुन्द जी पार्टीमा फर्कनुभएको छ । उहाँ संस्थापकमध्यको नेता हो । उहाँ आएपछि कुनै न कुनै जिम्मेवारी दिनुपर्छ । त्यसका लागि विधान वाधक भएकाले खुकुलो पार्नुपर्छ भन्नेमा नेताहरु सहमत हुनुभएकाले खारेज गर्न सहमति जुटेको हो’, एमाले स्रोतले भन्यो । 

एमालेको हालको विधानमा कुनै पनि कमिटीको पदाधिकारी वा सदस्यमा रहन  ७० वर्ष उमेर ननाघेको हुनुपर्ने व्यवस्था छ । सो व्यवस्थालाई विधान महाधिवेशनमा लगेर हटाएकोबारे अनुमोदन गर्नेगरी तत्काललाई नेताहरुबीच ७० वर्षे खारेज गरी अघि बढ्ने सहमति भएको एमाले नेताहरुको भनाइ छ ।

 ‘सचिवालय बैठकमा मुकुन्द न्यौपानेको हकमा ७० वर्षे प्रावधान हटाउने भनेपनि अन्य नेताहरु ईश्वर पोखरेल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य समेत ७० वर्ष आसपास हुनुहुन्छ, उहाँहरु पनि यो प्रावधानबाट पीडित हुने देखिएपछि सहमति जुट्यो’, अर्का एक नेताले भने, ‘यो प्रावधान हटाउँदा सबैलाई बाटो खुल्ने देखियो ।’ ती नेताले युवामात्रै भनेर नहुने भन्दै अझै पुरानाकै आवश्यकता महसुस ठहर गरेको पनि बताए ।

‘युवाहरुमा अहिलेको अवस्थामा नेतृत्व सम्हाल्ने क्षमता खासै देखिएन । अझै पुराना नेता पार्टीलाई आवश्यक पर्ने देखियो’, उनको भनाइ छ । 

यसअघि एमालेमा युवा नेताहरुले अवसर नपाएको भन्दै चर्को आलोचना हुने गरेको थियो । त्यसबेला स्वयं युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यहरु पनि ७० वर्षे प्रावधानको वकालतमा उत्रिएका थिए । 

७० वर्षे प्रावधान हटाउँदा नेता वामदेव गौतम र नेकपा एकीकृत समाजवादीका अन्य नेता पनि एमाले फर्कने एमाले नेताहरुको विश्वास छ । ‘यो प्रावधान हटाउँदा वामदेव कमरेड लगायत एकीकृत समाजवादीका अन्य नेताहरु पनि एमाले फर्कने संकेत बुझिएको छ । यो हटाउँदा पार्टीलाई फाइदा नै हुन्छ भन्ने बुझाइ छ’, ती नेताको दाबी छ । तर ७० वर्षे प्रावधान खारेज गरेकोबारे एमाले उपाध्यक्ष युवराज ज्ञवालीले अनविज्ञता प्रकट गरे । उनले भने, ‘मलाई थाहा छैन । उमेर हद हटाउने आधिकारिक निकाय भनेको विधान महाधिवेशन हो । विधान महाधिवेशन आउन अझै झण्डै तीन वर्ष बाँकी छ ।’ 

उनले यसबारे बैठकमा अनौपचारिक छलफल भएको कुरालाई भने स्वीकार गरे । उनले भने, ‘अनौपचारिक र ठट्टामा कुरो उठ्नु बेग्लै हो तर त्यस्तो होइन ।’ एमाले सचिव लेखराज भट्टले भने आफूलाई त्यसबारे कुनै जानकारी नभएको बताए । ‘खोइ मलाइ त जानकारी भएन’, भट्टको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप