चर्चित अमेरिकी गायक डि४भिडमाथि १४ वर्षीया किशोरीको हत्या आरोप
सारांश
- अमेरिकी गायक डि४भिड (डेभिड एन्थोनी बर्क) माथि १४ वर्षीया किशोरीको हत्या गरेको आरोपमा मुद्दा चल्ने भएको छ ।
- अभियोजन पक्षका अनुसार बर्कले किशोरीलाई यौन दुर्व्यवहार गरी छुरा प्रहार गरी हत्या गरेको र शव लुकाउने प्रयास गरेको आरोप छ ।
- बर्कका वकिलहरूले पर्याप्त प्रमाण नभएको दाबी गरे पनि न्यायाधीशले मुद्दा अघि बढाउन पर्याप्त आधार रहेको ठहर गरेकी छिन् ।
न्युयोर्क । अमेरिकी गायक डि४भिड (डेभिड एन्थोनी बर्क)माथि १४ वर्षीया किशोरीको हत्या गरेको आरोपमा औपचारिक रूपमा हत्या मुद्दा चल्ने भएको छ । पाँच दिनसम्म चलेको प्रारम्भिक सुनुवाइपछि लस एन्जलसको अदालतले उनीविरुद्ध मुद्दा अघि बढाउन पर्याप्त आधार रहेको ठहर गरेको हो ।
अभियोजन पक्षका अनुसार २१ वर्षीय बर्कले १४ वर्षीया सेलेस्टे रिभाज हर्नान्डेजलाई लामो समयसम्म यौन दुर्व्यवहार गरेपछि छुरा प्रहार गरी हत्या गरेका थिए । त्यसपछि उनले शव टुक्राटुक्रा पारी लुकाउने प्रयास गरेको आरोप पनि लगाइएको छ । किशोरीका अवशेष गत वर्ष सेप्टेम्बरमा बर्कको ठेगानामा दर्ता भएको टेस्ला कारबाट फेला परेका थिए ।
अदालतमा प्रस्तुत अभियोजन पक्षको दाबीअनुसार किशोरीले उनीहरूको सम्बन्ध सार्वजनिक गरेर बर्कको करोडौँ डलरको सङ्गीत करिअर ध्वस्त पार्ने चेतावनी दिएपछि उनले हत्या गरेको आरोप छ ।
सुनुवाइका क्रममा सार्वजनिक गरिएका सन्देशहरूमा किशोरीले ‘तिम्रो करिअर र जीवन समाप्त पारिदिन्छु’ भन्दै धम्की दिएको उल्लेख गरिएको छ । त्यसको भोलिपल्ट बर्कले पठाएको उबरमार्फत उनी हलिउडस्थित बर्कको घर पुगेकी थिइन् । अभियोजन पक्षले उनी घर पुगेलगत्तै बर्कले छुरा प्रहार गरेर हत्या गरेको दाबी गरेको छ ।
लस एन्जलस प्रहरीका अनुसन्धान अधिकारीले अदालतमा दुवै जना किशोरीको परिवारसँगै चर्च जाने गरेको र उनीहरूबीच लामो समयदेखि सम्बन्ध रहेको प्रमाण भेटिएको बताए । यद्यपि उनले किशोरीले आफ्नो उमेर १६ र १८ वर्ष भएको भन्दै बर्कलाई गलत जानकारी दिएको विषय पनि अनुसन्धानमा खुलेको जानकारी दिए ।
बर्कका वकिलहरूले भने हत्या भएको पुष्टि गर्ने पर्याप्त प्रमाण नभएको दाबी गरेका छन् । उनीहरूका अनुसार किशोरीका अभिभावकलाई दुवैबीचको सम्बन्धबारे जानकारी थियो र उनले बर्कसँग लन्डन यात्रा गर्न लिखित अनुमति समेत दिएका थिए । बर्क पक्षले घटनाको रात बर्क घरमै रहेको पुष्टि गर्ने निगरानी क्यामेराको दृश्य नभएको र चिकित्सकले घाउ कसरी लाग्यो भन्ने स्पष्ट रूपमा पुष्टि गर्न नसकेको भन्दै अभियोजन पक्षको दाबी कमजोर रहेको तर्क गरेको छ ।
तर न्यायाधीशले अभियोजन पक्षले हत्या, १४ वर्षमुनिकी बालिकामाथि निरन्तर यौन दुव्र्यवहार तथा मानव शवको गैरकानुनी अंगभंगसम्बन्धी आरोपमा मुद्दा चलाउन पर्याप्त प्रमाण प्रस्तुत गरेको निष्कर्ष निकालिन् ।
बर्कले भने सबै आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको बताएका छन् । उनको औपचारिक अभियोग दर्ता अगस्ट ३१ मा हुने तय भएको छ भने त्यसपछि ९० दिनभित्र मुख्य सुनुवाइ सुरु हुने अपेक्षा गरिएको छ ।
लस एन्जलस काउन्टीका जिल्ला सरकारी वकिल नाथन हचम्यानले अदालतमा हालसम्म उपलब्ध प्रमाणको सानो अंश मात्र प्रस्तुत गरिएको र मुख्य सुनुवाइमा थप गम्भीर प्रमाण सार्वजनिक गरिने बताएका छन् । उनले बर्कविरुद्ध मृत्युदण्डको माग गर्ने वा नगर्ने विषयमा भने अझै निर्णय नभएको जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभा पुरुष भलिबल : पाँचौ स्थानका लागि भएको खेलमा पनि हार्यो नेपाल
-
चिटिक्क एयरपोर्ट (फोटोफिचर)
-
प्रश्नपत्र लिकका घटना किन दोहोरिन्छन् ?
-
संयुक्त राष्ट्र सुरक्षा परिषद्मा फ्रान्सको सम्बोधनकै बेलामा उठेर हिँडे अमेरिकी कूटनीतिज्ञ
-
दलित तथा विपन्नका लागि ३६ हजारभन्दा बढी आवास निर्माण
-
स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय बनाउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण