शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
बढुवामा गोलमाल

डीएसपीमा बढुवा सिफारिसले प्रहरीमा व्यापक असन्तुष्टि

बुधबार, २४ जेठ २०८०, ११ : ५७
बुधबार, २४ जेठ २०८०

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले सोमबार ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा गर्न सिफारिस गर्‍यो । एक सय ४४ जनाबाट ४६ जनालाई मापदण्डभित्र पर्ने भन्दै बढुवा सिफारिस गर्दा अहिले आकांक्षीहरुमा व्यापक असन्तुष्टि देखिएको छ । 

गम्भीर प्रकृतिको अपराधको सफल अनुसन्धान गरेका प्रहरी निरीक्षकहरू नै बढुवा सिफारिसमा छुटेपछि असन्तुष्टि बढेको हो । 

यसअघि डीएसपीबाट एसपी बढुवा मेरिटको आधारमा गरेपछि प्रहरी महानिरीक्षकको आलोचना भएको थियो । कारबाही भोगेकालाई पनि बढुवा सिफारिस गरेको भन्दै धेरैले असन्तुष्टि जनाएका थिए । तर, यो पटक प्रहरी निरीक्षकबाट डीएसपी बढुवा सिफारिस गर्दा मेरिटलाई ध्यान दिइएको छैन । 

बढुवा सिफारिसमा ४ नम्बरमा परेकी एलिजा गिरी प्रहरी निरीक्षकमा भर्ना हुँदा ६९ नम्बरमा थिइन् । ३६ नम्बरमा बढुवा सिफारिसमा परेकी सुभद्रा लामा वाइबा निरीक्षकमा भर्ना हुँदा १२० नम्बरमा थिइन् । 

मेरिट लिस्टमा १०८ नम्बरमा रहेकी प्रहरी निरीक्षक रुपा थापा बढुवा सिफारिस गर्दा ३० नम्बरमा परेकी छिन् । मेरिट लिष्टकै ७ नम्बरमा रहेका राजेशराज पुरीलाई बढुवा सिफारिस गर्दा २० नम्बरमा झारिएको छ । 

मेरिट लिष्टकै २० नम्बरमा रहेका रमेश कुमार श्रेष्ठलाई भने बढुवा सिफारिस गर्दा माथि ल्याउँदै ७ नम्बरमा पुर्‍याइएको छ । प्रहरी निरीक्षकमा भर्ना हुँदा मेरिट लिस्टमा १५ नम्बरमा रहेका सुधीर राईलाई पनि माथि ल्याइएको छ । उनी बढुवा सिफारिस हुँदा ८ नम्बरमा राखिएको छ । प्रहरी निरीक्षकमा भर्ना हुँदा २६ नम्बरमा रहेका यम कुमार श्रेष्ठलाई ३ नम्बरमा बढुवा सिफारिस गरिएको छ । उनी प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरका अङ्गरक्षक हुन् । 

बढुवा समितिको सदस्य–सचिव मानव स्रोत विकास विभागका प्रमुख एआइजी सन्दीप भण्डारीले बढुवा सिफारिसमा हस्ताक्षर गरेका छन् । कर्मचारी प्रशासन महाशाखाका एसपी अर्जुन तिमिल्सिनालाई समेत ‘बाइपास’ गरेर एआइजी भण्डारीले बढुवा सिफारिसमा चलखेल गरेको आरोप छ ।

 समितिको अध्यक्ष रहेका प्रहरी महानिरीक्षक कुँवरले सदस्य सचिव भण्डारीलाई नै सबै जिम्मेवारी दिएका थिए । 

बढुवा सिफारिस गर्दा तालिम, कार्यसम्पादन मूल्याङ्कन, दुर्गममा बसेको, शिक्षा र समितिले दिने नम्बरलाई आधार बनाइन्छ । समितिले दिने साढे सात नम्बर दिन पाउँछ । यही नम्बरमा बढुवा समितिले चलखेल गरेर आफू निकटकालाई बढुवा सिफारिस गरेको आरोप बढुवा आकांक्षीको छ । 

बढुवा आकाङ्क्षी तर सिफारिसमा नपरेका एक प्रहरी निरीक्षकले भने,‘कि मेरिटकै आधारमा गरेको भए हुन्थ्यो, १४४ जनाबाट छान्नुपर्नेमा बढुवा समिति १३१ बाट किन तल झर्न सकेन भन्ने हाम्रो आपत्ति हो ।’ 

प्रहरी केन्द्रीय प्रवक्ता डीआईजी कुबेर कडायतले प्रहरी निरीक्षकबाट डीएसपीमा बढुवा गर्दा मेरिट लिस्टलाई ध्यान नदिइने गरेको बताए । उनले भने, ‘१४४ जनाबाट जम्मा ४६ जना बढुवा सिफारिस गर्नुपर्ने थियो, सिट थोरै र आकाङ्क्षी धेरै हुँदा असन्तुष्टिका आवाज आउँछ । यसलाई सामान्य ढङ्गले लिनुपर्छ ।’ उनले कार्यसम्पादन मूल्याङ्कनकै आधारमा बढुवा सिफारिस गरिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप