शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
कर्णाली प्रदेश

‘प्रदेशको पहिलो पाँच वर्षे कार्यकालको समीक्षा हुनुपर्छ’

प्रदेशको जनशक्ति कर्णालीको आवश्यकतालाई पुरा गर्ने खालको भएन : विष्ट
बिहीबार, २५ जेठ २०८०, १७ : ०८
बिहीबार, २५ जेठ २०८०

सुर्खेत । कर्णालीका पूर्व अर्थमन्त्री एवं सांसद विन्दमान विष्टले सङ्घीयताको पहिलो पाँच वर्षे कार्यकालको समीक्षा हुनुपर्ने बताएका छन् । सकारात्मक सोचका साथ प्रयत्न गर्दा गर्दै पनि अपेक्षित उपलब्धि हासिल गर्न सकेनौँ भनेर समीक्षा हुनुपर्ने उनको भनाइ छ । समीक्षाले नै अगाडि बढ्न सहज हुने भएकाले सङ्घीयतालाई बलियो पार्न भए पनि समीक्षा गरेर अघि बढ्नुपर्ने उनको तर्क छ  ।

बिहीवारको प्रदेशसभा बैठकमा बोल्दै विष्टले भने, ‘देश किन बन्न सकेन होला भनेर सोच्ने हो भने नराम्रो हुन् थाल्यो भन्दा पनि राम्रो हुन थाल्यो भनेर चिन्ता गर्नेहरूको सङ्ख्या बढेको हुँदा देशको अवस्था यो भएको हो कि भन्ने लागेको छ । त्यसैले हरेक विषयवस्तुको समीक्षा भएर अघि बढ्नुपर्छ ।’ 

नीति तथा कार्यक्रममा नै पाँच वर्षको गम्भीरतापूर्वक समीक्षा हुनुपर्ने र त्यसमा भएका कमजोरीलाई औँल्याउँदै अघि बढ्दा सहज हुने विष्टले बताए । ‘नराम्रो गरौँ भन्ने कसैको चाहना हुन्न, हामीलाई जनताले धारे हात लगाएर गाली गरुन् भनेर कसैले चाहन्न, सकेसम्म रूपान्तरण नै गर्नुपर्छ भन्ने हुन्छ,’ उनले भने,‘ हामीले जे नीति तथा कार्यक्रम तय गरेका छौँ, बजेट तय गर्‍यौँ तर, कार्यान्वयन हुन सकेन, परिणाम निस्केन । जनताको जीवनस्तर परिवर्तन गर्न सकेनौँ, समृद्धिको मार्गलाई नयाँ उचाइमा लिन सकेनौँ ।’ 

त्यसको एउटै कारण हो आवश्यकता अनुसारको जनशक्तिको व्यवस्था नभएर हो । विष्टले प्रदेशको जनशक्ति जे छ त्यसले कर्णालीको आवश्यकतालाई पुरा गर्ने खालको नभएको बताए ।  

उनले अगाडि भने, ‘कर्णालीको वन के हो ? केही मात्रामा काठ हो, त्यो भन्दा बढी जडीबुटी हो । तर, हाम्रो जनशक्ति कस्तो छ त भन्दा जनरल फरेष्टिको मात्र छ । त्यसले काम गरेर हाम्रो जडीबुटीको क्षेत्रमा विकास र परिवर्तन गर्न सक्छौँ त ? सकिँदैन, बोटानिकलको एउटा पनि दरबन्दी छैन । जनस्रोतको धनी प्रदेश हो त्यसको उपभोग गर्ने भनेका छौँ तर, हाइड्रो, इन्जिनियर सम्बन्धी जनशक्ति छैन । पर्यटनमा एउटा शाखा राखिएको छ, एउटा सामान्य कर्मचारीले त्यो शाखा हेरिरहनुभएको छ । त्यो सम्बन्धी हामी अगाडि बढ्न सक्दैनौँ ।’ 

नीति, कार्यक्रम र बजेटमा राखे पनि आवश्यक अनुसारको जनशक्ति नहुँदा कर्णाली समृद्धिको मार्गमा अघि बढ्न नसकेको विष्टको भनाई छ । 

विष्टले प्रदेशको आवश्यकता, त्यो अनुसारको स्रोत र त्यो अनुसारको जनशक्ति सम्बन्धी नयाँ तरिकाले नयाँ सङ्गठन संरचना निर्माण गरेर अघि बढ्नुपर्ने बताए । ‘ उदाहरणका लागि पर्यटकीय हिसाबमा रारा, शे–फोक्सुन्डो, मानसरोवर छ, पञ्चकोशी छ तर, हामी आफ्नो घर अगाडिको कुल देवताको मन्दिरसम्म पुग्ने खतरा छ,’ उनले भने,‘यस्तो खालको प्रवृत्तिले कर्णाली समृद्धिको बाटोमा हिँड्न सक्दैन ।’ 

अर्कोतर्फ कतिपय विषयहरू सबै एउटै ठाउँमा केन्दीत भएका छन् । प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भेरिगंगाको छिन्चुदेखि मैनतडासम्म औद्योगिक करिडोरको परिकल्पना गरिएको छ । सङ्घीय सरकारले त्यहीँ ठाउँमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउने कार्यक्रम छ भने त्यहीँ ठाउँमा स्मार्ट सिटी बनाउने सङ्घीय सरकारको कार्यक्रम छ । सबैले महत्त्वपूर्ण योजना एउटै पालिकामा बनाउने प्रवृत्तिले सबै ठाउँको प्रतिनिधित्व गर्न नसक्ने विष्टले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप