बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा बैठक : लम्पिस्किनदेखि लुसम्मको विषयमा सांसदहरुले गराए सरकारको ध्यानाकर्षण

शुक्रबार, २६ जेठ २०८०, १४ : ४०
शुक्रबार, २६ जेठ २०८०

काठमाडौँ । प्रतिनिधिसभा सदस्य विमला सुवेदीले गाईवस्तुमा देखा रेको लम्पिस्किन रोगको प्रभावकारी नियन्त्रण गर्न सरकारसँग माग गरेकी छन् ।  

शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सुवेदीले देशभर गाईवस्तुमा लाग्ने लम्पिस्किन रोग फैलिएको भन्दै यसको लागि औषधि उपचार गर्न र प्रभावकारी नियन्त्रण गर्न सरकारसँग माग गरेकी हुन् । उनले सरकारले बीमा कम्पनीलाई बुझाउनुपर्ने प्रिमियम नबुझाएका कारण किसानले पाउनुपर्ने बीमा रकम समेत नपाएको भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराइन् ।  

प्रतिनिधिसभा सदस्य मनिष झाले तराईमा तातो हावाको कारण जनजीवन प्रभावित हुनेतर्फ सरकारलाई सजग गराउँदै स्वास्थ्य संस्थाहरुले आवश्यक तयारी गर्नुपर्ने बताए ।  

प्रतिनिधिसभा सदस्य महेश बर्तौलाले किसानले मौसम अनुरुपका विभिन्न समस्याहरु खेप्नुपरेको भन्दै उनीहरुलाई समस्या अनुरुपको राहत तथा क्षतिपूर्ति दिन सरकारसँग माग गरे ।  

प्रतिनिधिसभा सदस्य माधव सापकोटाले असार १ गतेदेखि गंगबुस्थित बसपार्कबाट मात्रै यात्रुबाहक बस छुट्ने व्यवस्थाको अन्त्य गर्न काठमाडौँ महानगरपालिका र सम्बन्धित मन्त्रालयलाई आग्रह गरे । 

प्रतिनिधिसभा सदस्य रघुजी पन्तले भारतको प्रतिरोधस्वरुप नेपालले टिष्टा, काँगडासम्म भएको आफ्नो नक्सा संसद् भवनमा राख्ने प्रस्ताव गरे ।  

प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले प्रतिनिधि सभा बैठकमा बोलिएका कुराहरू रेकर्डबाट हटाउने कुराको अन्त्य गर्न आग्रह गरे । उनले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी निर्माणको क्रममा हराएको सुनको सम्बन्धमा प्रश्न उठाउँदा बैठकको रेकर्डबाट हटाइएको भन्दै आफू त्यसरी रेकर्डबाट हटाउने कुराको विरुद्धमा रहेको उल्लेख गरे ।  

प्रतिनिधिसभा सदस्य लेखनाथ दाहालले विद्यालय कर्मचारी र बालविकास शिक्षकको माग सम्बोधन गर्न सरकारसँग माग गरे । उनले संघीय शिक्षा ऐन संसद्को यसै अधिवेशनमा ल्याउन पनि माग गरे । उनले संघीय निजामती सेवा ऐन पनि संसद्को यसै सदनमा ल्याएर पारित गर्नुपर्नेमा जोड दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप