आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

कांग्रेसमा शुभेच्छुक संस्थाको अधिवेशन : देउवा पक्षलाई चार वटामै धक्का

सोमबार, २९ जेठ २०८०, १६ : २६
सोमबार, २९ जेठ २०८०

काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्थामा सभापति शेरबहादुर देउवा पक्षले पकड गुमाउँदै गएको छ । पार्टीको १४ औँ महाधिवेशन भारी बहुमतका साथ दोस्रो पटक सभापति बनेका देउवाले शुभेच्छुक संस्थामा भने पकड गुमाएका हुन् ।

२०७८ मंसिर–पुसमा सम्पन्न पार्टीको महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यमा देउवा पक्षको दबदबा छ । तर, त्यसपछि सम्पन्न पार्टीका चार वटा मुख्य शुभेच्छुक संस्थाको अधिवेशनमा संस्थापन इतर पक्ष हाबी भएको छ । नेपाल प्रेस युनियन, नेपाल शिक्षक संघ, सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) र डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए) मा संस्थापन पक्षले हार बेहोरेको छ । सभापति देउवा अन्य पाँच वटा भ्रातृ संस्थामा भने एकलौटी रूपमा अध्यक्ष मनोनित गरेका थिए ।

देउवाले २०७८ फागुन ९ मा नेविसंघ, तरुण दल, असार १० मा नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ र साउन २६ मा नेपाल महिला संघमा सभापति मनोनीत गरेका थिए । सभापति देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा, तरुण दल अध्यक्षमा विद्वान गुरुङ, किसान संघका अध्यक्षमा गणेश तिमिल्सिना, आदिवासी संघ अध्यक्षमा ओमबहादुर घर्तीमगर र महिला संघको अध्यक्षमा उषाकुमारी राउत मिश्रलाई ल्याएका छन् ।

प्रेस युनियनमा इतर पक्षको कम्ब्याक

गत वर्ष साउनमा भएको नेपाल प्रेस युनियनको अधिवेशनबाट संस्थापन पक्षको पराजय यात्रा सुरु भएको थियो । प्रेस युनियनमा संस्थापन इतर पक्षका शिव लम्सालसँग संस्थापन पक्षकी उम्मेदवार अनिता विन्दु पराजित भइन् । वरिष्ठ उपाध्यक्षमा पनि लम्साल प्यानलकै प्रेम केसीले संस्थापन पक्षका सरोज अधिकारीलाई हराए । खुला उपाध्यक्षमा नकुल अर्याल र भीष्मराज ओझा निर्वाचित भए । महिला उपाध्यक्षमा सलोजा दाहाल, समावेशी उपाध्यक्षमा दीपेन्द्र वान्तवा, प्रदेश १ उपाध्यक्षमा डिल्लीराम खतिवडा, मधेसबाट अनिल कर्ण, बागमतीबाट डाक्टर मुरारी अधिकारी, गण्डकीबाट ऋषिकान्त पौडेल, लुम्बिनीबाट माधवप्रसाद अर्याल, कर्णालीबाट राजेन्द्रबहादुर कार्की, सुदूरपश्चिमबाट प्रेम चुनारा र काठमाडौँ उपत्यकाबाट जीवन भण्डारी उपाध्यक्षमा निर्वाचित भए ।

यस्तै, महासचिवमा दिलीप पौडेल, खुला उपमहासचिवमा युवराज गौतम, कमल पन्त र रवीन्द्र सुवेदी, महिला उपमहासचिवमा सुलोचना गौतम र दिलिपाश्री अधिकारी,  समावेशी उपमहासचिवमा अभयकुमार राई निर्वाचित भएका छन् ।

खुला सचिवमा केदारप्रसाद दाहाल, खगेन्द्र भण्डारी, भुवन शर्मा र तीर्थराज बस्नेत, महिला सचिवमा मेनुका ढुंगाना, पुष्पा शर्मा र रेजिना गौतम, आदिवासी जनजाति सचिवमा लालकुमार मुक्तान, मधेसी सचिवमा अजित तिवारी, दलित सचिवमा राजन रुचाल, पिछडिएको सचिवमा एलपी देवकोटा, खस–आर्य सचिवमा युवराज रेग्मी, रेडियो सचिवमा नरहरि सापकोटा, छापा सचिवमा राधा खनाल निर्वाचित भएका छन् ।कोषाध्यक्षमा माधव धिताल निर्वाचित भएका छन् । जसमा अधिकांश पदाधिकारी र केन्द्रीय सदस्य लम्साल प्यानलबाट निर्वाचित भए । सभापति देउवा निकट बद्री सिग्देलको ९ वर्षे नेतृत्वलाई विस्थापन गरी युनियनमा संस्थापन इतर पक्ष हाबी भएको थियो ।

शिक्षक संघमा इतरको निरन्तर होल्ड

कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघमा पनि संस्थापन पक्षले जित हात पार्न सकेन । गत चैतको अन्तिम साता भएको संघको नवौँ अधिवेशनबाट संस्थापन इतर सोमनाथ गिरी अध्यक्ष निर्वाचित भए । गिरीले संस्थापन पक्षका गोकर्णबहादुर बानियाँलाई पराजित गरी शिक्षक संघ इतर पक्षबाट गुम्न दिएनन् ।

पदाधिकारीमा पनि महिला उपाध्यक्ष र महासचिव बाहेकका पद संस्थापनइतर पक्षका उम्मेदवार निर्वाचित भए । संस्थापन पक्षबाट महिला उपाध्यक्षमा धनकला भण्डारी र महासचिवमा ज्ञानेन्द्र बहादुर रावलले चुनाव जितेका थिए । प्रदेशतर्फ उपाध्यक्षमा कोशी प्रदेशतर्फ वीरेन्द्रकुमार खड्का, मधेस प्रदेशतर्फ छोटेलालप्रसाद तेली शाह, बागमतीमा सुन्दर पन्त, गण्डकीमा लक्ष्मीप्रसाद रेग्मी, लुम्बिनीमा प्रेमनारायण भण्डारी, कर्णालीमा भगवती श्रेष्ठ, सुदूरपश्चिममा खड्कबहादुर खड्का निर्वाचित भएका छन्।

महासचिव अर्थमा निर्मला कोइराला, उपमहासचिवमा नारायणप्रसाद तिमिल्सिना, उपमहासचिव महिलामा गीता शिवाकोटी, उपमहासचिव अर्थमा प्रेमप्रसाद पौडेल निर्वाचित भएका छन्।

सिडेन पनि जोगिएन

जेठ दोस्रो साता भएको कांग्रेसनिकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)को निर्वाचन परिणाम पनि संस्थापन पक्षको प्रतिकुल आयो । सिडेन अध्यक्षमा संस्थापन इतर पक्षीय लक्ष्मण केसी निर्वाचित भएका छन् ।

कांग्रेस महामन्त्री गगन थापा र नेता प्रदीप पौडेल निकट केसीले सभापति देउवा पक्षीय उम्मेदवार चेतनाथ पाण्डेलाई हराएका हुन् । यस्तै उपाध्यक्षमा पनि केसी प्यानलका उमेश धिताल निर्वाचित भएका छन् ।

महासचिवमा पनि केसी प्यानलकै थमन बहादुर खड्का निर्वाचित भएका छन् । उपमहासचिवमा सुशील लामिछाने र कोषाध्यक्षमा नवराज बस्नेत निर्वाचित भएका छन् । उनीहरू पनि केसी प्यानलकै हुन् ।

अधिवेशनबाट सिडेनमा २५ सदस्यीय केन्द्रीय समिति चयन भएको छ । पाँच जना पदाधिकारीसहित २० जना केन्द्रीय सदस्य पनि निर्वाचित भएका छन् । सिडेनमा यसअघि सभापति देउवा निकट उमेश थानी अध्यक्ष थिए । इतर पक्षले सिडेनमा प्यानलसहित नेतृत्व खोसेको छ ।

डिएलएमा इतर पक्षको हाबी

डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए) मा संस्थापन पक्षले पराजय भोगेको छ । संस्थापन इतर पक्षका सीताराम केसी निर्वाचित भएका छन् । जेठ २६ मा चितवनमा सम्पन्न ११ औँ महाधिवेशनबाट केसी अध्यक्षमा निर्वाचित भएका हुन्  ।

केसीले ४ जना प्रत्यासीलाई पराजित गर्दै अध्यक्ष बनेका हुन् । केसीले संस्थापन पक्षीय लक्ष्मी देवी दाहाल रावतलाई पराजित गरेका छन् । एशोसिएसनको महासचिवमा ज्ञानेन्द्रप्रसाद अधिकारी निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षमा जगन्नाथ ढकाल, महिला उपाध्यक्षमा  कविता थापा कार्की विजयी भएका छन् ।

यस्तै प्रदेश उपाध्यक्षमा कोशीबाट कविता बस्नेत र मधेसबाट रामान्द साह, बागमतीबाट जनकराज श्रेष्ठ, गण्डकीबाट भूमिश्वर शर्मा, लुम्बिनीबाट विष्णुप्रसाद धिताल, कर्णालीबाट पदमबहादुर शाही र सुदूरपश्चिमबाट गंगाराम पाध्याय निर्विरोध निर्वाचित भएका छन् ।

खुला सचिवमा शिवप्रसाद रेग्मी, महिला सचिवमा धनमाया राना निर्वाचित भएका छन् भने कोषाध्यक्षमा हरिबहादुर बस्नेत निर्वाचित भएका छन् । अध्यक्ष केसीलगायत अधिकांस पदाधिकारी तथा सदस्यहरू संस्थापनइतर समूहका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप