शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

जिल्ला निर्वाचन कार्यालय हटाउने निर्णय सच्याउनुपर्छ : प्रमुख आयुक्त थपलिया

सोमबार, २९ जेठ २०८०, १९ : २२
सोमबार, २९ जेठ २०८०

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारले जिल्ला निर्वाचन कार्यालय हटाउने निर्णय तत्काल सच्याउनुपर्ने बताएका छन् । 

संविधान र कानुन प्रतिकूल हुनेगरी सरकारले बजेटमार्फत् सो कार्यालय हटाउने निर्णय गरेकाले त्यसलाई सच्याउनुपर्ने उनले बताए ।  

सोमबार राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले सो निर्णय सरकारले तत्काल नसच्याउने हो भने आगामी श्रावण १ गतेबाट जिल्ला निर्वाचन कार्यालयहरुबाट हुने  सबै काम ठप्प हुने चेतावनी समेत दिए ।  

निर्वाचन आयोगको कार्यालय कहाँ रहने भन्ने कुरा निर्वाचन आयोग आफैँले गर्ने संविधानमा स्पष्ट व्यवस्था हुँदाहुँदै पनि जिल्ला निर्वाचन कार्यालय हटाउने निर्णय कहाँबाट आयो ? भनी सरकारलाई उनले प्रश्न समेत गरे ।  

प्रमुख निर्वाचन आयुक्त थपलियाले संविधान र कानुन आफैँ बोल्ने भएकाले जिल्ला निर्वाचन कार्यालय चाहिन्छ भनेर निर्वाचन आयोगले बोलिरहन आवश्यक नभएको समेत बताए ।  

प्रमुख निर्वाचन आयुक्त थपलियाले विदेशमा रहेका मतदाताहरूले पनि मत हाल्न पाउने व्यवस्थासहित नयाँ निर्वाचन सम्बन्धि कानुन आउने प्रतिबद्धता समेत व्यक्त गरे । उनले सो सम्बन्धी कानुनको मस्यौदामा सबै तहको निर्वाचनको मितिको समेत स्पष्ट व्यवस्था गरिएको बताए । 

प्रमुख निर्वाचन आयुक्त थपलियाले राष्ट्रियसभाको उपनिर्वाचनमा विद्युतीय मेशिनको प्रयोग गर्न आयोग तयार रहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक निर्णयका लागि पहल गरिदिन सांसदहरू र संसदीय समितिको ध्यानाकर्षण गराए ।  

 

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप