शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

लालपुर्जा वितरणका लागि तनहुँमा जग्गाको नापजाँच अगाडि बढ्यो

मङ्गलबार, ३० जेठ २०८०, ०७ : ५७
मङ्गलबार, ३० जेठ २०८०

तनहुँ । भूमिहीन एवं अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि तनहुँमा जग्गा नापजाँचको काम अगाडि बढेको छ । राष्ट्रिय भूमि आयोग तनहुँले भूमिहीन एवं अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि जग्गा नापजाँचको काम अगाडि बढाएको हो ।

आयोगका विज्ञ सदस्य श्रीराम कार्कीका अनुसार शुक्लागण्डकी नगरपालिका–३, ८ र ९ मा जग्गाको नापजाँच भइरहेको छ । देवघाट गाउँपालिका–५ मा नापजाँच सकिए पनि केही छुटपुट भएकाले छुटपुट भएकालाई समेत समावेश गर्ने तयारी गरिएको उनले बताए । देवघाटकै वडा नं २ र ४ मा जग्गाको नापजाँच सुरु गर्ने तयारी गरिएको छ ।

सदस्य कार्कीका अनुसार आँबुखैरेनी गाउँपालिकाका छवटै वडामा जग्गाको नापजाँच काम सकिएको छ । व्यास नगरपालिकाका जग्गा नापजाँचका लागि छलफल अगाडि बढाइएको छ । जग्गा नापजाँचका लागि आवश्यक उपकरण खरिदका लागि नगरपालिकाले बोलपत्र आह्वान गरिसकेको उनले बताए । उनले भने, “प्राविधिक कम भएका कारण पनि जग्गा नापजाँचको कामले तीव्रता पाउन सकेको छैन । हामीसँग उपलब्ध प्राविधिकलाई नै मिलाएर सबै स्थानीय तहमा खटाउनुपर्ने अवस्था छ ।”

जग्गा नापजाँच सम्पन्न भएपछि फिल्ड ढड्डा उतारेर काम गर्दा प्रत्येक पालिकाका लागि एक महिना समय आवश्यक पर्छ । उनले भने, “जग्गा नापजाँच सुरु भएपछि धेरै काम अगाडि बढेको छ भन्ने महसुस सबैलाई हुन्छ । सोहीबमोजिम हामीले कामलाई अगाडि बढाइरहेका छौँ ।” सदस्य कार्कीका अनुसार असारभित्रै अथवा नभए दशैँ अगाडि कुनै न कुनै पालिकामा लालपुर्जा वितरण गर्ने लक्ष्य छ ।

यसैगरी भानु नगरपालिकामा पनि दशैँअघि सुकुम्बासी एवं अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणको तयारीसहित नापजाँच कार्य सुरु भएको छ । वर्षौँदेखि लालपुर्जाविहीन रहँदै आएका स्थानीयवासीलाई लालपुर्जा दिने उद्देश्यसहित भानु नगरपालिकामा जग्गाको नापजाँच सुरु भएको छ । भानु नगरपालिका–१ स्थित नयाँबस्तीबाट जग्गाको नापजाँच कार्य सुरुआत गरिएको हो ।

भानु–१ मा पाँच सयभन्दा बढीलाई निस्सा वितरण गरिएको थियो । यो वडाबाट सुरु भएको जग्गा नापजाँच कार्य क्रमशः अन्य वडामा सुरु गरिने नापी कार्यालयका तनहुँका प्राविधिक एवं जग्गा नापजाँच कार्यका टोली प्रमुख राजीव श्रेष्ठले जानकारी दिए । 

भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले दशैँअगावै नापजाँच कार्य सकेर लालपुर्जा वितरण गरिने बताए । राष्ट्रिय भूमि आयोग तनहुँका अध्यक्ष रामचन्द्र अधिकारीले स्थानीय तहको समन्वयमा भूमिहीनलाई लालपुर्जा र अव्यवस्थित बसोबासीलाई व्यवस्थित बनाउने प्रक्रिया सुरु गरिएको बताए । 

भानु नगरपालिकामा जग्गाको नापजाँच सुरु भएपछि भूमिहीन खुसी भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप