सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
सडक दुर्घटना

किन हुन्छ भिग्री–स्वर्गद्वारी सडकखण्डमा पटक–पटक दुर्घटना ?

मङ्गलबार, ३० जेठ २०८०, १२ : ५८
मङ्गलबार, ३० जेठ २०८०

दाङ । प्यूठानको भिग्री–स्वर्गद्वारी सडकखण्डमा सोमबार दिउँसो सवारी दुर्घटनामा ८ जनाको मृत्यु भयो । स्वर्गद्वारी मन्दिर दर्र्शन गरी फर्किने क्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ कोठरीकी ३० वर्षीय सरिता शर्मा पोख्रेल, उनका १४ वर्षीय छोरा विशाल पोख्रेल र ९ वर्षीय छोरा विकास पोख्रेल, लमही नगरपालिका–७ का ४० वर्षीय गोविन्द शाह, उनकी ३० वर्षीय श्रीमती राधा नेपाली र उनका छोरा ९ वर्षीय आदित्य शाह, गाडी चालक लमही–५ तारा कुमाल सहित ८ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

स्वर्गद्वारी नगरपालिका वडा नं. ४ भ्यागुतेमा ८ जना सवार कार सडकबाट झण्डै ५० मिटर तल खसेको थियो । साँघुरो घुम्ती र उकालो–ओरोलो सडकमा अनियन्त्रित हुँदा उक्त कार खसेको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ ।

आर्थिक वर्ष २०७५÷७६ देखि हालसम्म उक्त सडकमा ८ वटा दुर्घटनामा ३० जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । सो खण्डमा पछिल्लो पाँच वर्षमा ७ महिला, १७ पुरुष र ६ बालक गरी ३० जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । यस्तै १५ महिला ३ पुरुष र ३ बालक सो अवधिमा घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता प्रहरी निरीक्षक सुशिल थापाले जानकारी दिए ।

सो सडक खण्डमा स्वर्गद्वारीतर्फ जाँदा उकालोसहितको घुम्ती र फर्किँदा ओरालोसहितको घुम्ती रहेका कारण सानो लापरवाही हुँदासमेत दुर्घटनाको जोखिम रहने प्रहरीको भनाइ छ । थापाले भने, ‘जाँदा उकालो र आउँदा घुम्तीसहितको ओरालो छ । नयाँ चालकले सिङ्गल ब्रेकमा मात्रै सवारी झार्दा दुर्घटना हुने गर्दछ ।’

सडक विकासका हिसाबले भिग्री–स्वर्गद्वारी सडक कालोपत्रे रहे पनि सडक सुरक्षाका हिसाब असुरक्षित रहेको पाइन्छ । थापाले भने, ‘भिग्री–स्वर्गद्वारी सडक स्तरोन्नति नभएसम्म यस्तो जोखिम कायम रहन्छ ।’

सडक कटिङ्ग गरी स्तरोन्नति गर्न सके स्वर्गद्वारी दर्शनका लागि भित्रिने र बाहिरिने दर्शनार्थीहरुको यात्रा केही हदसम्म सुरक्षित तुल्याउन सकिने सरोकारवाला बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिराज नेपाली
गिरिराज नेपाली
लेखकबाट थप