सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सभामुख घिमिरेको टिप्पणी : राजनीतिक दललाई तातो नलागेपछि रमिता हेर्नुपर्ने अवस्थामा पुगेँ

मङ्गलबार, ३० जेठ २०८०, २३ : ००
मङ्गलबार, ३० जेठ २०८०

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय समितिमा सभापति चयनका लागि दलहरू उदासीन भएपछि आफू रमिता हेर्नुपर्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन् । मङ्गलवार सिंहदरबारमा पत्रकारहरूसँगको भेटमा कुरा गर्दै सभामुख घिमिरेले संसदीय समितिहरूमा सभापति चयन नहुँदा विधेयक अगाडि बढाउने लगायतका कुराहरूमा घाटा भइरहेको बताए । 

सभामुख घिमिरेले भने, ‘संसदीय समितिहरू नबनाउँदा घाटा भइरहेको छ । अहिले जसले समिति चलाइरहनुभएको छ, उहाँहरूले पनि मैले नै चलाउने हो भन्ने निर्धक्कताका साथ काम गर्न सक्नुभएको छैन । अर्को के भइरहेको छ भने छिटो–छिटो विधेयकलाई अघि बढाउन र परिणाम निकाल्न घाटा भइरहेको छ । यो घाटा पूर्ति गर्नका लागि छिटो समितिको सभापति निर्वाचित गर्नुपर्ने हो । यसका लागि राजनीतिक दलहरूको प्रतिबद्धता देखिएन ।’

दुई तिन दिनभित्र हुने काममा पनि ढिलाइ भइरहेको घिमिरेले बताए । उनले आफूले यसका लागि कोसिस गरे पनि दलहरू अग्रसर नभएको बताए । 

घिमिरेले भने, ‘छलफल गरेपछि हुने कुरा यही हो । आखिर सङ्ख्या यही हो, व्यक्ति यिनै हुन, पार्टी यिनै हुन् । दुई तिन दिनभित्र हुने काममा उहाँहरू लाग्न सक्नुभएको छैन । साह्रै धेरै कोसिसहरू गरियो, मत रमिता हेरेर बस्नुपर्ने अवस्थामा पुगेँ । जिम्मेवारीको हिसाबले रमिता हेर्ने कुरा नहुने, तातो नलागेपछि त रमिता हेर्ने अवस्थामा पुगेँ । किनभने हिजो मात्रै पनि सूचना निकालिदिँउ भनेर सचिवालयसँग कुराकानी गरेको थिएँ । सूचना निकालेपछि तातो लाग्छ कि भनेको त्यसो नगरौँ भन्ने कुरा भयो । दलका प्रमुख सचेतकहरू, सचेतकहरू, दलका प्रमुख नेताहरूलाई पटक पटक भनेको छु ।’ 

उनले समितिको एउटा बैठक ज्येष्ठ सदस्यले सञ्चालन गरे पनि त्यसपछिका बैठक सभापति चयन गरेर सञ्चालन गर्नुपर्नेमा ज्येष्ठ सदस्यलाई बैठक सञ्चालनका लागि निरन्तरता दिनु उपयुक्त नभएको बताए । 

उनले समितिमा चुनाव गरेर सभापति चयन गर्न भने पनि दलहरू अग्रसर नभएको गुनासो गरे । घिमिरेले भने–‘चुनाव गर्दा गठबन्धन गरेर पनि गर्न सक्छन्, त्यसो गर्दा सत्तापक्षलाई फाइदा नै पुग्न सक्छ, उहाँहरूले पहल गरेर बाँडफाँड गर्न सहमति जुटेन भने चुनाव गर्न त सक्नुहुन्छ तर त्यसका लागि पहल नै देखिएन ।’  

सभामुख घिमिरेले संसदीय समितिको सभापति चयनका लागि आफू सूचना निकाल्ने पक्षमा नरहेको बताए । राजनीतिक दलहरूले पहल नै नगरेको अवस्थामा सभामुखले मात्र एकतर्फी सूचना निकालेर समस्या समाधान नहुने उनले बताए । 

गत जेठ २ गतेबाट प्रतिनिधि सभा अन्तर्गतका विषयगत समितिको बैठक बस्न थाले पनि हालसम्म कुनै पनि समितिमा चयन हुन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप