आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

आईफोन निर्माताले भारतमा इलेक्ट्रिक कार बनाउने योजनामा

शुक्रबार, ०१ असार २०८०, १४ : २३
शुक्रबार, ०१ असार २०८०

आईफोन बनाउने ताइवानी कम्पनी फक्सनले भारतमा विद्युतीय कार निर्माण गर्ने योजनामा काम गरिरहेको छ । यसले अमेरिका र चीनबीच बिग्रँदै गएको सम्बन्धका बीच आपूर्ति शृङ्खला नेटवर्कका लागि चीनमाथिको निर्भरता कम गर्न सक्ने विश्वास गरिएको छ ।

फक्सनका अध्यक्ष यंग लिउले बीबीसीसँग कम्पनीको भावी योजना बारेमा कुरा गरेका छन् । कम्पनीले भारतमा विद्युतीय कार उत्पादन गर्ने योजना बनाएको उनले बताए ।

उनले फक्सनले आफ्नो सप्लाई चेन नेटवर्कको केही भाग चीनबाट हटाउन सक्ने र आगामी दशकमा कम्पनीको वृद्धिको दिशा इलेक्ट्रिक कारले निर्धारण गर्ने बताए ।

अमेरिका–चीनबीच बिग्रँदै गएको सम्बन्ध बारे यंग लिउले कम्पनीले सबैभन्दा खराब अवस्थाको लागि तयारी गर्नुपर्ने बताए ।

ताइवानको राजधानी ताइपेईस्थित आफ्नो कार्यालयमा ६७ वर्षीय यंग लिउले भने, ‘दुवै देशका नेताहरूले शान्ति र स्थायित्वलाई ध्यानमा राख्नेछन् भन्ने हामी आशा गर्छौँ । तर एक कम्पनी र सीईओको रूपमा, मैले सबैभन्दा खराब अवस्थामा के गर्ने भनेर सोच्नु पर्छ । ’

चीनले ताइवानमाथि नाकाबन्दी गर्न सक्ने आशङ्का गरिएको छ । चीनले ताइवानलाई आफ्नो हिस्सा मान्छ र चीनले ताइवानमाथि हमला गरे सबैभन्दा खराब अवस्था निम्तिन सक्ने पनि भनिएको छ ।

खराब अवस्थामा रहेका कम्पनीको कामलाई निरन्तरता दिन योजना बनाएर काम भइरहेको यंग लिउले बताए । यसका लागि फक्सनले आफ्नो उत्पादन लाइनको केही अंश चीनबाट मेक्सिको र भियतनाममा सारियो ।

फक्सन, जसको आधिकारिक नाम होन हाई टेक्नोलोजी ग्रुप हो, सन् १९७४ मा स्थापना भएको थियो । यसको सुरुवात टेलिभिजनका लागि नब बनाउनका लागि भएको थियो । 

आजको मितिमा यो कम्पनी दुनियाँको शक्तिशाली टेक्नोलोजी फर्म्समा गनिन्छ जसको वार्षिक राजस्व २०० अर्ब डलर हो ।

एप्पलको आधाभन्दा बढी उत्पादनको निर्माण फक्सनले नै गर्छ । एप्पलबाहेक माइक्रोसफ्ट। सोनी, डेल र अमेजनका लागि फक्सन प्रोडक्ट्सको उत्पादन गर्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप