सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

गभर्नर अधिकारीद्वारा नेपाल क्रिप्टोकरेन्सीको मुद्दामा प्रतिवद्ध रहेको बीआईएसलाई जानकारी

बुधबार, १३ असार २०८०, १६ : ४७
बुधबार, १३ असार २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी यहीँ असार ९ र १० गते स्विट्जरल्याण्डको बासेलमा आयोजित द बैंक फर इन्टरनेशनल सेटलमेन्ट (बीआईएस) को ९३ औं वार्षिक बैठकमा भाग लिएर स्वदेश फर्किएका छन् । उक्त बैठकमा बीआईएसका सदस्य राष्ट्र, विश्वका विभिन्न केन्द्रीय बैंक तथा मौद्रिक अधिकारीका प्रतिनिधिको सहभागिता रहेको थियो ।

नेपालको तर्फबाट बैठकमा भाग लिन पुगेका गभर्नर अधिकारीले फाइनान्सियल स्टाब्लिटी इन्स्टिच्युटद्वारा असार ९ गते आयोजित पोलिसी एप्रोच फर एड्रेसिङ्ग रिक्स् पोष्ट बाई क्रिप्टो एसिस्ट एण्ड डिसेन्ट्रलाइज फाइनान्स’ विषयक अन्तरक्रियामा सहभागी भएका छन् । उक्त कार्यक्रममा गभर्नर अधिकारीले क्रिप्टोकरेन्सीको मुद्दामा नेपाल सचेत र सुरक्षित रहेको बताउँदै क्रिप्टोकरेन्सीको प्रयोगले ल्याउनसक्ने चुनौती र त्यसलाई सम्बोधन गर्न नेपालले अवलम्बन गरेको नीतिगत व्यवस्थाका सम्बन्धमा जानकारी गराएका छन् ।

बैठकमा बीआईएसका महाप्रबन्धक अगस्टिन कार्टेन्सले बीआईएसको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै उच्च मुद्रास्फीति र वित्तीय स्थायित्वमा देखिएको चुनौतीका कारण विश्वभरका केन्द्रीय बैंकहरू दबाबमा रहेको चर्चा गरे ।

त्यस्तै असार १० गते आयोजित ओभरकमिङ क्रस–बोर्डर पेमेन्ट च्यालेन्जिङ्ग फर इमर्जिङ्ग मार्केटस् एण्ड डेभलपिङ्ग इकोनोमिक्स (इएमडीएफईज्) विषयक ‘सेन्ट्रल बैंक राउण्डटेबल’मा समेत गभर्नर  सहभागी भएको गभर्नर कार्यालयले जनाएको छ ।

बैठकका क्रममा गभर्नर अधिकारीले स्टेट बैंक अफ पाकिस्तानका गभर्नर जमील अहमदसँग समेत भेटवार्ता गरेको र सो भेटका क्रममा मूल्यस्थिति, वित्तीय स्थायित्व र बाह्य क्षेत्र व्यवस्थापनका विषयमा छलफल भएको जनाइएको छ ।

बीआईएस एक अन्तर्राष्ट्रिय वित्तीय संस्था हो, जसले विश्वभरका केन्द्रीय बैंकबीचको समन्वय र नीतिगत प्रयासबाट मौद्रिक तथा वित्तीय स्थायित्व प्रवद्र्धनको निम्ति आवश्यक भूमिका निर्वाह गर्दछ । सन् १९३० मा स्थापित यस संस्थामा हाल ६३ वटा केन्द्रीय बैंकहरू सदस्य छन् । यसको मुख्यालय स्विट्जरल्याण्डको बासेलमा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप