शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

राप्रपाले सरकारबारे निर्णय गर्ने जिम्मा लिङ्देनलाई दियो

शनिबार, १६ असार २०८०, १६ : २६
शनिबार, १६ असार २०८०

विराटनगर । कोशी प्रदेशको सरकार गठनका लागि काँग्रेस, माओवादीसहितको नयाँ सत्ता समीकरणमा सामेल हुने राप्रपाले सङ्केत गरेको छ ।

 राप्रपा कोशीका प्रदेशसभा संसदीय दलका नेता, सांसदहरू तथा पार्टीका पदाधिकारीहरूसँग अध्यक्ष राजेन्द्र लिङ्देनले झापास्थित आफ्नै निवासमा छलफल गरेका थिए । उक्त छलफलले सरकारमा सहभागी हुने नहुने भन्ने विषयमा निर्णय लिन अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिम्मेवारी दिएको राप्रपाकी सांसद सविना बजगाईले बताइन् । राप्रपाले प्रदेशमा सम्भावित मध्यावधि निर्वाचन रोक्न हुन सक्ने प्रयास र नयाँ सरकार गठन प्रक्रियामा राप्रपाको भूमिकाको विषयमा छलफल गरेको हो । 

‘हामीले राजनीतिक चरित्र देखाएर यसअघि एमालेसँग भएको सहमति र सहकार्यअनुसार  शुक्रबार मुख्यमन्त्रीले विश्वासको मत लिँदा पक्षमा मतदान गरेका हौँ । अझै पनि उहाँले बहुमत जुटाउन सक्नु भयो भने उहाँलाई नै सहयोग गर्ने, बहुमत जुटाउन नसकेको खण्डमा विकल्प खोल्न अध्यक्षलाई जिम्मा दिने निर्णय भएको छ,’ उनले भनिन् । बजगाईंले आफूहरू कुनै पनि दलसँग छलफलको लागि खुला रहेको बताइन् । 

छलफलमा मध्यावधिमा जाने वा नजाने भन्ने विषय पनि उठेको थियो । ‘हामीले मध्यावधिमा जानबाट सकेसम्म रोक्ने, नभए मध्यावधिमा जान पनि तयार हुनुपर्छ भन्ने कुरामा छलफल पनि भयो,’ उनले भनिन् ।

पुस २४ गते एमालेका हिक्मत कार्की नेतृत्वको सरकार गठन हुँदा राप्रपा पनि सरकारमा सहभागी भएको थियो । यसैबीच नयाँ सरकार गठन गर्न कांग्रेस, माओवादी केन्द्र र गठबन्धन दलका नेताहरू काठमाडौँ पुगेका छन् । कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकार गठन प्रक्रिया भने भोलिदेखि सुरु हुने अनुमान छ । प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार नयाँ सरकार गठनका लागि दलहरूलाई आव्हान गर्न सक्ने सो कार्यालयले जनाएको छ । प्रमुख खापुङ दलहरूसँग र कानुन व्यवसायीसँग संविधानको धारा १६८ को कुन उपधारा अनुसार सरकार गठन गर्ने भन्ने विषयमा परामर्शमै रहेका छन् ।

संविधानको धारा १६८ को उपधारा (२) अन्तर्गत बनेको कार्की नेतृत्वको सरकार ढलेसँगै अब संविधानको सोही धाराको उपधारा (३) अनुसार आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने एमालेले दाबी गर्दै आएको छ । गठबन्धनले बहुमत ४७ सहित सरकार गठनको दाबी गर्दा सभामुखलाई समेत गणना गर्नुपर्ने अवस्था छ । 

उता, विपक्षी गठबन्धन दलहरूले भने संविधानको धारा १६८ को (२) अनुसार नै सरकार गठनको सम्भावना जीवित रहेको कारण सोही अनुसार सरकार गठन हुनुपर्ने जिकिर गरिरहेका छन् । 

अहिले एमालेसँग रहेको राप्रपा गठबन्धनसँग आए सहज बहुमतसाथ सरकार गठन हुनसक्छ । गठबन्धन दलका कांग्रेससँग २९, माओवादीसँग १३, नेकपा एकीकृत समाजवादीसँग ४ र जसपासँग  १ जना सांसद छन् । राप्रपाका ६ सांसद सरकारमा सामेल हुन आए ५३ मतसहितको सरकार गठन हुनसक्छ । एमालेको सांसद सङ्ख्या ४० रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप