आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

‘मैले कहिल्यै उनीहरूको सम्बन्धलाई ...’ हेमाबारे पहिलो पटक बोलिन् धर्मेन्द्रकी जेठी श्रीमती

आइतबार, १७ असार २०८०, ११ : १२
आइतबार, १७ असार २०८०

बलिउडका दिग्गज अभिनेता धर्मेन्द्र आफ्नो पारिवारिक जीवनलाई निजी राख्न रुचाउँछन् । यही कारणले गर्दा उनी अहिलेसम्म उनकी पहिलो पत्नी प्रकाश कौर र दोस्रो पत्नी हेमा मालिनीबीचको सम्बन्धबारे मौन छन् । यद्यपि, नाति करण देओलको विवाहपछि उनकी कान्छी श्रीमती हेमा मालिनी र छोरीहरू ईशा र अहानाका लागि उनको हालैको इन्स्टाग्राम पोस्टले उनलाई एक पटक पुनः चर्चामा ल्याइदिएको छ । धर्मेन्द्रले हेमालाई विवाह गर्दा उनी पहिले नै विवाहित थिए र चार सन्तानका पिता थिए । यस्तोमा हेमालाई अपनाउनका लागि उनले इस्लाम धर्म अपनाएका थिए ।

आफ्नो समयको शीर्ष अभिनेता रहेका धर्मेन्द्रले हेमासँग विवाह गर्दा उनलाई धेरैले वुमनाइजरसमेत भने । यद्यपि, इन्डिया टुडेसँगको अन्तरवार्तामा प्रकाश कौरले धर्मेन्द्रको दोस्रो विवाहमा पनि उनको पक्ष लिँदै भनिन्, ‘मेरो श्रीमान् मात्रै किन, जुनसुकै पुरुषले मलाईभन्दा हेमा मालिनी नै रोज्थे । मेरा श्रीमानलाई वुमनाइजर भन्ने हिम्मत कसले गर्‍यो, जबकि उद्योगका आधाभन्दा बढीले यही गरिरहेका छन् ? सबै हिरो प्रेममा परिरहेका छन् र दोस्रो विवाह गरिरहेका छन् ।’

धर्मेन्द्रबारे कुरा गर्दै उनले थपिन्, ‘उनी राम्रो श्रीमान् नहोलान् तर उनी मेरा लागि असाध्यै राम्रा व्यक्ति हुन् । उनी निश्चित रूपमा आफ्ना सन्तानका लागि उत्कृष्ट पिता हुन् । उनी आफ्ना बच्चालाई धेरै माया गर्छन् । उनले कहिल्यै सन्तानलाई उपेक्षा गर्दैनन् । हेमामाथि के बितिरहेको होला, त्यो म बुझ्न सक्छु । उसले विश्व, आफन्त र साथीहरूको समेत सामना गर्नुपर्छ । तर म हेमाको ठाउँमा भएको भए उसले जे गरिन्, त्यो म गर्दिनथेँ । किनभने एक महिला भएको नाताले म उसको भावना बुझ्न सक्छु । तर एक श्रीमती र आमाको रूपमा उसलाई स्वीकार गर्न सक्दिनँ ।’

प्रकाश कौरले धर्मेन्द्र आफ्नो जीवनको पहिलो र अन्तिम पुरुष भएको बताइन् । उनले भनिन्, ‘उनी मेरो जीवनको पहिलो र अन्तिम पुरुष हुन् । उनी मेरो बच्चाका पिता हुन् । म उनलाई धेरै माया र सम्मान गर्छु । ’

उनी थप्छिन्, ‘जे भयो भयो । यसका लागि मैले उनलाई दोष दिनुपर्छ कि पर्दैन थाहा छैन तर एउटा कुरामा म ढुक्क छु कि उनी मबाट टाढा नै किन नहुन्, मलाई केही भइहाले र उनको आवश्यकता परे, उनी मेरा लागि पक्कै उपस्थित हुनेछन् । मैले उनीमाथिको विश्वास गुमाएको छैन । आखिर उनी मेरा सन्तानका पिता हुन् ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप