बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
खेलकुद

आयुषको उडान : देशका लागि खेल्न ‘क्यालिफोर्निया टु काठमाडौँ’

बुधबार, २० असार २०८०, १२ : १०
बुधबार, २० असार २०८०

काठमाडौंँ । अन्तर्राष्ट्रिय प्रतियोगितामा दुई अनिवार्य खेलभित्र पर्छ, एथ्लेटिक्स र पौडी । विश्व खेलकुदको महाकुम्भ ओलम्पिकदेखि एसियाली खेलकुदसम्म एथ्लेटिक्स र पौडी अनिवार्य खेल मानिन्छ । सहभागी हरेक राष्ट्रले यी दुई खेलमा आफ्ना खेलाडी अनिवार्य सहभागी गराउनु पर्ने हुन्छ । 

त्यसैले, यी दुई खेलमा छनोट हुन नसकेमा सम्बन्धित राष्ट्रका खेलाडीलाई ‘वाइल्ड कार्ड’ को व्यवस्थासमेत गरिएको हुन्छ । विश्व खेलकुदको सबैभन्दा बढी स्पर्धा भएको खेल पनि हो, एथ्लेटिक्स र पौडी । ठुला अन्तर्राष्ट्रिय प्रतियोगितामा यी दुवै खेलमा सबैभन्दा बढी पदकको छिनोफानो पनि हुने गरेको छ । 

यहाँ चर्चा गर्न खोजिएका पात्र एथ्लेटिक्ससँग जोडिएका छन् । उनी हुन्, आयुष कुँवर । सुदूरपश्चिम प्रदेशको अछाममा जन्मिएका आयुष एथ्लेटिक्सका उदीयमान खेलाडी हुन् । 

विश्व एथ्लेटिक्समा खास गरी दुईवटा स्पर्धा हुन्छन्, ट्र्याक र फिल्ड । आयुष भने ट्र्याक इभेन्टका खेलाडी हुन् । ट्र्याक इभेन्टमा पनि उनी स्प्रिन्टर हुन् । अर्थात्, छोटो दूरीका धावक । कुनै समय सुदूरपश्चिममा एउटा भनाई चर्चित थियो, ‘यहाँ त सूर्य पनि अस्ताउनका लागि मात्र आउँछ ।’

हो, सूर्य अस्ताउनमात्र जाने त्यही भूगोलमा जन्मिएर खेलकुदमा आफ्नो भविष्य खोजिरहेका आयुष अहिले देशको प्रतिनिधित्व गर्दै एउटा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने तयारीमा व्यस्त छन् । उनी यतिबेला राष्ट्रिय जर्सी लगाएर एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने सपना बुनिरहेका छन् । 

यसका लागि उनी एका बिहानैदेखि दक्ष प्रशिक्षकहरूको निगरानीमा दशरथ रंगशालाको सेन्थेटिक ट्र्याकमा पसिना बगाइरहेका छन् । एसियन च्याम्पियनसिपका लागि छनोट भएका खेलाडीलाई राकेश बज्राचार्य, विमला राना, चन्द्र गुरुङ र धनिराम थारुले प्रशिक्षण दिँदै आएका छन् । 

आयुषसँगै एसियन एथ्लेटिक्स च्याम्पियनसिपका लागि छनोट भएका खेलाडीलाई साथ दिएको छ, शिवम् सिमेन्टले । एसियन च्याम्पियनसिप जुलाई १२ देखि १६ तारिखसम्म थाइल्यान्डको राजधानी बैंककमा हुँदैछ । 

आयुषको पूख्र्यौली घर हो, अछामको साँफेबगर । उनी जन्मिए मामाघर नेपालगञ्जमा । हुर्किए, कैलालीको धनगढीमा । प्रारम्भिक शिक्षा हासिल गरे, भारतको रानी खेत (नैनीताल) बाट । उच्च शिक्षा प्राप्त गरे, अमेरिकाको क्यालिफोर्नियाबाट । अनि अहिले पनि क्यालिफोर्निया नै उनको कर्मथलो हो । 

संयोग पनि कस्तो, उनी निम्न माध्यमिक तह अध्ययनका लागि भारतको रानी खेत जाँदा देशमा माओवादी जनयुद्ध चरम अवस्थामा थियो । जनयुद्धका कारण देशको हरेक क्षेत्र अस्तब्यस्त थियो । शिक्षा क्षेत्र पनि त्यसबाट अछुतो रहने कुरै भएन । 

देशभित्र अध्ययनको वातावरण नदेखेपछि अविभावकले नै उनलाई नैनीताल पु¥याएका थिए । अहिले उनी पहिलो पटक राष्ट्रिय जर्सी लगाएर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाँदैछन् । अनि, यतिबेला देशको प्रधानमन्त्री छन्, उनै जनयुद्धका सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’ । आयुषको जीवनसँग जोडिएको एउटा रमाइलो संयोग हो योे । 

रानी खेतमा अध्ययन गर्दादेखि नै आफू खेलकुद क्षेत्रप्रति आकर्षिक हुन पुगेको आयुष बताउँछन् । सुरुमा बास्केटबल, फुटबल, टेबलटेनिस र एथ्लेटिक्सजस्ता खेलमा सक्रिय भएका उनलाई अरु खेलले लामो समय बाँधेर राख्न सकेन । उनको मन लोभ्यायो, एथ्लेटिक्सले । 

त्यसपछि एथ्लेटिक्समा एकोहोरिएका आयुष आजसम्म पनि यही खेलमा आफ्नो भविष्य खोज्न व्यस्त छन् । जे होस्, यतिबेला उनी आफ्नो मातृभूमिको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने तयारीमा जुटेका छन् । 

त्यसो त भारतको रानी खेतबाट फर्किएर बुढानीलकण्ठ स्कुलमा भर्ना भएदेखि नै उनले राष्ट्रिय जर्सी लगाएर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने सपना बुनेका थिए । 

सानैदेखि खेलकुद भनेपछि हुरुक्क हुने उनी बुढानीलकण्ठ स्कुलमा स्टार क्लबका अध्यक्ष पनि थिए । त्यतिबेला पनि उनी विभिन्न सानातिना प्रतियोगिताका लागि प्रायोजक खोज्न हिँडिरहन्थे । अन्ततः उनको त्यही बानीले नै कालान्तरमा उनलाई शिवम् सिमेन्टजस्तो महत्त्वपूर्ण ब्रान्डसँग जोडिन पुग्यो । 

‘म आफ्नो पोसाकका लागि प्रायोजक खोज्दै शिवम् सिमेन्टमा पुगेको थिएँ । तर, उहाँहरुले एसियन एथ्लेटिक्स च्याम्पियनसिप खेल्ने सबै खेलाडीलाई सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । अहिले हामी सबै खेलाडी उत्साही छौँ,’ आयुष भन्छन् । 

बैंककमा हुने एसियन च्याम्पियनसिपमा आयुषले एक सय र दुई सय मिटर दौडमा देशको प्रतिनिधित्व गर्दैछन् । त्यसका लागि भएको छनोट प्रतियोगितामा आयुषले एक सय मिटर दौड १०.९ सेकेन्डमा पूरा गरेका थिए । 

आयुषसँगै अन्य चार पुरुष र दुई महिला खेलाडीले पनि एसियन च्याम्पियनसिपमा देशको प्रतिनिधित्व गर्दैछन् । उक्त प्रतियोगितामा राष्ट्रिय च्याम्पियन शिवराज पार्कीले एक सय र दुई सय मिटर दौडमा सहभागिता जनाउँदै छन् ।

दीपक अधिकारीले १० हजार मिटर दौडमा भाग लिँदैछन् भने मुकेश पालले १५ सय मिटर र पाँच हजार मिटर दौडमा नेपालको प्रतिनिधित्व गर्दैछन् । सोमबहादुर कुमालले चार सय र आठ सय मिटर दौडमा सहभागिता जनाउँदै छन् । महिलातर्फ फूलमती रानाले पाँच सय र १५ सय मिटर दौडमा देशको प्रतिनिधित्व गर्दैछिन् भने राजपुरा पछाईले पाँच हजार मिटर दौडमा सहभागिता जनाउँदै छिन् ।

अघिल्लो वर्ष पोखरालाई केन्द्र बनाएर गण्डकी प्रदेशका विभिन्न जिल्लामा आयोजना भएको नवौँ राष्ट्रिय खेलकुदमा पनि आयुषले सहभागिता जनाएका थिए । गैरआवासीय नेपालीहरुको टोलीको तर्फबाट उनले राष्ट्रिय प्रतियोगिता खेलेका थिए । प्रतियोगितामा उनी चौथो भए । ह्यामस्ट्रिङ समस्याका कारण उनले दुई सय मिटर दौडमा भने प्रतिस्पर्धा गर्न सकेनन् ।

aysuh

‘मैले आफ्नो जन्मथलो सुदूरपश्चिम प्रदेशकै प्रतिनिधित्व गर्दै नवौँ राष्ट्रिय खेलकुद खेल्ने योजना बनाएको थिएँ । तर, सुदूरपश्चिमबाट खेल्दा त्यहाँका प्रतिभाशाली कुनै खेलाडीको कोटा खोसिन्थ्यो । त्यसैले एनआरएनको टोलीबाट नवौँमा सहभागिता जनाएँ,’ उनी भन्छन् ।

त्यसअघि आठौं वृहत् राष्ट्रिय खेलकुदमा पनि उनले सशस्त्र प्रहरी बलको एपीएफ क्लबको तर्फबाट सहभागिता जनाएका थिए । त्यसमा आयुष सम्मिलित टोलीले एक गुना चार सय मिटर रिले दौडमा स्वर्ण पदक जितेको थियो । वृहत् राष्ट्रिय खेलकुदमा उनले जितको यो पहिलो स्वर्ण पदक थियो । 

त्यसअघि उनले विद्यालयस्तरको राष्ट्रपति रनिङ शिल्ड र राष्ट्रिय खेलकुद परिषद्ले आफ्नै नाममा सञ्चालन गर्दै आएको राखेप च्याम्पियनसिपमा पनि सहभागिता जनाएका थिए । राष्ट्रपति रनिङ शिल्डमा त उनले दुई सय र चार सय मिटर दौड तथा लङ्जम्पमा स्वर्ण पदक पनि जितेका छन् ।

पहिले अध्ययन र हाल कामको सिलसिलामा क्यालिफोर्निया बस्दै आएका आयुषले त्यहाँ पनि दक्ष प्रशिक्षकको निगरानीमा नियमित अभ्यास गर्दै आएका छन् । आफ्नो अभ्यासलाई निरन्तरता दिन उनी त्यहाँको एक क्लबसँग पनि जोडिएका छन् । 

डिजिटल टाइमिङका आधारमा हाल आयुषले एक सय मिटर दौड १०.९७ सेकेन्डमा पूरा गर्दै आएका छन् । नेपालमा हुने अधिकांश प्रतियोगितामा भने डिजिटल टाइमिङको प्रयोग हुँदैन । अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भने खेलाडीले पार गरेको निर्धारित दूरी मापन गर्न डिजिटल टाइमिङकै प्रयोग हुने गरेको छ । 

‘पहिलो पटक देशको प्रतिनिधित्व गर्दै एसियन च्याम्पियनसिपजस्तो ठूलो प्रतियोगिता खेल्न जाँदैछु । त्यो प्रतियोगितामा एसियाकै चर्चित खेलाडीहरुको सहभागिता रहन्छ । त्यसैले पनि थोरै अत्तालिनु स्वाभाविक हो,’ आयुष भन्छन्, ‘तर, हामीबाट देशले नै उत्कृष्ट प्रदर्शनको आशा गरेको छ । हामी खेलाडीको आत्मविश्वास बढाउन यसले महत्त्वपूर्ण भूमिका खेलेको छ । एसियन च्याम्पियनसिपमा कम्तिमा पनि नयाँ राष्ट्रिय कीर्तिमान बनाउने विश्वास लिएको छु ।’ 

नेपालमा एथ्लेटिक्सको छोटो दूरीका प्रतियोगिताहरु निकै कम आयोजना हुने गरेको उनको बुझाई छ । ‘विभिन्न समयमा म्याराथन प्रतियोगिता आयोजना हुन्छन् । तर, छोटो दूरीका प्रतियोगिता भने निकै कम आयोजना हुन्छन् । त्यसैले यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्छ जस्तो लाग्छ,’ आयुष भन्छन् । 

नेपाली एथ्लेटिक्समा वैकुण्ठ मानन्धर, रघुराज वन्त, राकेश बज्राचार्य आफ्नो ‘आइडल’ भएको उनी बताउँछन् । 

यसका अतिरिक्त खेलकुदको भौतिक पूर्वाधारमा पनि सरकारको ध्यान जानुपर्ने उनको सुझाव छ । ‘भौतिक पूर्वाधारले खेलाडीको तयारी र प्रदर्शनमा निकै ठूलो असर पारेको हुन्छ । हाम्रो देशमा विकट गाउँवस्तीका खेलाडीले सेन्थेटिक ट्र्याकमा अभ्यास त के देख्नसम्म पाएका हुँदैनन् । त्यसैले यसतर्फ सरकारको ध्यान जानु आवश्यक छ,’ उनी भन्छन् ।

क्यालिफोर्नियाको एक संस्थामा फाइनान्सियल एनालिष्टको भूमिकामा काम गरिरहेका आयुषले भविष्यमा ‘स्पोर्टस म्यानेजमेन्ट’ मा स्नातकोत्तर गर्ने लक्ष्य लिएका छन् । प्रारम्भिक दिनहरुमा खेलकुदमा लाग्दा परिवारबाट खासै समर्थन नपाए पनि पछिल्लो समय बुवा भरत कुँवर र आमा सुधा कुँवरबाट खेलकुदमा अझ राम्रो गर्न प्रोत्साहन पाएको उनको भनाई छ । 

‘सुरुका दिनमा खेलकुदमा लाग्न परिवारबाट खासै सपोर्ट भएन । खेलकुदभन्दा अध्ययनमै ध्यान केन्द्रित गर्न सुझाव दिनुहुन्थ्यो । तर, अहिले राम्रो सहयोग पाएको छु,’ उनी भन्छन्, ‘खेलकुदप्रति मेरो लगाव बढाउनमा फुफाजु टेकबहादुर बोगटीको ठूलो हात छ । उहाँ आफै पनि क्रिकेट, बास्केटबल र बक्सिङ खेल्नुहुन्थ्यो ।’ 

००००

‘शिवम्ले एथ्लेटिक्सलाई प्रमोट गर्न खोजेका हो’

— केशव अर्याल, डीजीएम (मार्केटिङ), शिवम् सिमेन्ट 

क्रिकेट, फुटबल, भलिबल, ब्याडमिन्टनजस्ता खेलमा थुप्रै प्रायोजक आउने गरेका छन् । केही निश्चित खेलमा ठुला प्रायोजकहरू ओइरिँदा सम्भावना बोकेका राम्रा खेलहरू ओझेलमा पर्नु स्वाभाविक हो । नेपालका लागि एथ्लेटिक्स पनि सम्भावना बोकेको खेल हो ।

कुनै समय नेपाली एथ्लेटिक्सले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पनि राम्रो प्रदर्शन गरेको उदाहरण हामीसँग छ । वैकुण्ठ मानन्धरले दशकौँअघि दक्षिण एसियाली खेलकुदमा राखेको कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेको छैन ।

देशलाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने खेल पनि एथ्लेटिक्स नै हो । एथ्लेटिक्सका जितबहादुर केसीले देशका लागि पहिलो अन्तर्राष्ट्रिय पदक जित्नु भएको थियो । तर, पछिल्लो समय एथ्लेटिक्स खेल ओझेलमा पर्दै गएको भान हुन्छ ।

1688442850652

यसअघि हामीले पनि भलिबल, क्रिकेट, फुटबलजस्ता खेल प्रायोजन गरेका थियौँ । शिवम् सिमेन्टले नेपालको राष्ट्रिय खेल भलिबलका विभिन्न प्रतियोगितालाई पनि प्रायोजन गरेको छ । भलिबलमा प्रतिभा माली, कृपा अधिकारीजस्ता प्रतिभाशाली खेलाडी उत्पादन गर्ने न्यु डायमन्ड एकेडेमीसँग पनि हामी एक वर्ष जोडियौँ । 

कुनै पनि खेलको विकास र विस्तारमा प्रायोजकको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । केही कर्पोरेट हाउसले वार्षिक रूपमा एथ्लेटिक्स प्रतियोगिता पनि आयोजना गर्छन् । तर, एथ्लेटिक्सका ती सबै प्रतियोगिता म्याराथन वा लामो दूरीका दौडमात्र हुन्छन् । 

एथ्लेटिक्सको छोटो दूरीका दौडहरुमा कर्पोरेट हाउसहरुको पनि खासै ध्यान गएको पाइँदैन । यस्तैमा एसियन एथ्लेटिक्स च्याम्पियनसिपका लागि पोसाकको प्रायोजक खोज्दै खेलाडी आयुष कुँवर हाम्रो संस्थामा आउनु भयो । 

एथ्लेटिक्ससँग कुनै ब्रान्ड पनि जोडिएको थिएन । त्यसैले शिवम् सिमेन्टले देशका लागि अन्तर्राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिता खेल्ने सबै खेलाडीलाई सहयोग गर्ने निर्णय गरेका हौँ । आगामी दिनमा पनि हामी एथ्लेटिक्ससँग जोडिन चाहन्छौँ । 

हामी पहिलो पटक एथ्लेटिक्ससँग जोडिएका हौँ । एथ्लेटिक्स विश्वकै पुराना खेलमध्ये एक हो । त्यसैले, यो खेलको विकासमा आगामी दिनमा अन्य कर्पोरेट हाउसको पनि ध्यान पुग्नेछ भन्ने विश्वास हामीले लिएका छौँ । 

००००

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोशन राउत
रोशन राउत
लेखकबाट थप