सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

नर्वेका राजदूत र उपराष्ट्रपति यादवबिच भेटवार्ता

बिहीबार, २७ वैशाख २०८१, २१ : ०७
बिहीबार, २७ वैशाख २०८१

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि नर्वेका राजदूत तोरुन ड्रामडलले शिष्टाचार भेटवार्ता गरेकी छिन् ।  भेटमा दुई देश बिचको द्विपक्षीय सम्बन्ध, लोकतन्त्र, मानवअधिकार र सामाजिक न्यायलगायतका विषयमा छलफल भएको उपराष्ट्रपतिको सचिवालय जनाएको छ ।

उपराष्ट्रपति यादवले नर्वे नेपालको घनिष्ठ मित्रराष्ट्र भएको उल्लेख गर्दै सन् १९७३ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र नर्वे बिचको सम्बन्ध मैत्रीपूर्ण तथा सौहार्दपूर्ण रहि आएको बताए ।

‘लोकतन्त्र, मानवअधिकार र सामाजिक न्याय हाम्रा दुई देशका साझा मूल्य र मान्यताहरू हुन्,’ उनले भने, ‘उच्चस्तरीय राजनीतिक नेतृत्व तथा कूटनीतिक तहमा भ्रमणको आदानप्रदान तथा संवाद, विकास सहयोग, जनस्तरको सम्बन्ध, लगानी तथा व्यापार, पर्यटन आदि नेपाल–नर्वे सम्बन्धका आधारस्तम्भ हुन् । आपसी हितका लागि यी क्षेत्रहरूमा थप सहकार्य गर्नु आजको आवश्यकता हो ।’

उपराष्ट्रपति यादवले विकास साझेदारको रूपमा नेपालले नर्वेसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको बताए । ‘नर्वे सरकारले विशेष गरी नवीकरणीय ऊर्जा, शिक्षा तथा सुशासनको क्षेत्रमा गरेका कामहरू नेपालका लागि उपयोगी छन्,’ उपराष्ट्रपति यादवले भने, ‘दिगो शान्ति, स्थायित्व, आर्थिक विकासका लागि हाम्रो अभियान जारी छ । नेपालको विकासको पथमा मित्र राष्ट्र नर्वेको निरन्तर साथ र सहयोग रहनेछ भन्नेमा हामी आशावादी छौँ ।’

नेपालका लागि नर्वेका राजदूत ड्रामडलले नेपाल र नर्वेबिच धेरै कुरामा समानता रहेको उल्लेख गर्दै यहाँ जसरी नै नर्वेमा पनि तीन तहको सरकार रहेको बताइन् । नर्वेले जलविद्युत्, विद्युत् प्रसारणलगायतका क्षेत्रमा सहयोग गर्दै आएको बताउँदै नेपालको आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले नर्वेको निजी लगानीकर्ताहरूलाई नेपाल भित्राउने आफू प्रयासरत रहेको समेत बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप