सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषद्को निर्णय : एरिकादेखि क्रिकेट टोलीसम्मले कति पाउँछन् रकम ?

बिहीबार, २७ वैशाख २०८१, २१ : ०७
बिहीबार, २७ वैशाख २०८१

काठमाडौँ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले २ करोड ९७ लाख १० हजार नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले युवा तथा खेलकुद मन्त्रालय मार्फत पेस गरेको प्रस्तावलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेसँगै १९ औँ एसियन गेम्स र चौथो एसियाली पारा खेलकुदका पदक विजेता खेलाडी तथा प्रशिक्षकका साथै नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले नगद पुरस्कार पाउने भएका हुन् । 

चौथो एसियाली पारा खेलकुद सकिए लगत्तै राखेपले एसियाली खेलकुद र एसियाली पारा खेलकुदको पुरस्कारका लागि युवा तथा खेलकुद मन्त्रालय मार्फत प्रस्ताव गरेको थियो । १९औँ एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत दिलाउन सफल एरिका गुरुङले १९ लाख ५० हजार प्राप्त गर्ने छिन् । प्रमुख प्रशिक्षक कुशल श्रेष्ठले २ लाख ३४ हजार, सहायक प्रशिक्षकहरू छोरी डंगोल र वीरकृष्ण शाही तथा व्यवस्थापक निवासगोपाल वैद्यले जनही १ लाख ९५ हजार प्राप्त गर्ने छन् ।

एसियाली खेलकुदमा नै कबड्डीमा कांस्य जित्ने नेपाली राष्ट्रिय महिला कबड्डी टिमका १२ खेलाडीले जनही ३ लाख ९० हजार, प्रमुख प्रशिक्षक पार्वती राईले २ लाख ६० हजार तथा सहायक प्रशिक्षक विष्णुदत्त भट्ट र व्यवस्थापक डिल्लीराम काफ्लेले जनही १ लाख ३० हजार प्राप्त गर्ने छन् । यसरी कबड्डी टिमले कुल ४८ लाख दश हजार नगद प्राप्त गर्ने  छन् ।

यसैगरी चौथो एसियाली पारा खेलकुद २०२२ मा कांस्य जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले १३ लाख प्राप्त गर्ने छिन् । प्रमुख प्रशिक्षक कविराज नेगी लामाले २ लाख ६० हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठले १ लाख ३० हजार प्राप्त गर्नेछन् ।

आईसीसी पुरुष टि–ट्वान्टी वर्ल्ड कप फाइनल एसियामा दोस्रो भएको राष्ट्रिय क्रिकेट टिमले कुल २ करोड ४ लाख ७५ हजार नगद पुरस्कार प्राप्त गर्ने छ । १५ खेलाडीले जनही १३ लाख, प्रमुख प्रशिक्षक मोन्टी देशाईले ३ लाख ९० हजार, टिम व्यवस्थापक सुमनराज कार्की, सहायक प्रशिक्षक वसन्त शाही र फिजियो विक्रम न्यौपानेले जनही १ लाख ९५ हजार नगद हात पार्ने छन् ।

पुरस्कार प्रदान गर्ने निर्णय गरेकोमा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र राखेपका सदस्य–सचिव टंकलाल घिसिङले नेपाल सरकार र अर्थ मन्त्रालयलाई धन्यवाद दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप