बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

मन्त्रिपरिषद्को निर्णय स्वास्थ्यमन्त्रीले उल्टाए

कनिष्ठलाई निर्देशक बनाउन कार्यकारी निर्देशकलाई मन्त्रालयमा काज सरुवा !
बुधबार, २० असार २०८०, २३ : ०२
बुधबार, २० असार २०८०

काठमाडौँ । कानुन हेर्ने हो भने मन्त्रिपरिषद्को निर्णय उल्टाउन मन्त्रिपरिषद्ले मात्रै सक्छ । तर मन्त्री शक्तिशाली रहे भने मन्त्रिपरिषद्को निर्णय पनि मन्त्रीको एकल निर्णयले उल्टाउन सकिने रहेछ । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले आफ्नो त्यही शक्तिको प्रयोग गर्दै मन्त्रिपरिषद् बैठकबाट नियुक्त भएका एक कार्यकारी निर्देशकलाई हटाएर आफू निकटका कनिष्ठ व्यक्तिलाई कार्यकारी निर्देशक बनाएका छन् । 

स्वास्थ्यमन्त्री बस्नेतले पदबाट हटाएका व्यक्ति भक्तपुर क्यान्सर अस्पतालका निर्देशक विष्णुदत्त पौडेल हुन् भने उनको स्थानमा नियुक्ति दिइएका व्यक्तिचाहिँ उज्ज्वल चालिसे हुन् । झापाका विष्णुदत्त पौडेललाई २०७७ साल मङ्सिर १८ गतेको मन्त्रिपरिषद्को निर्णयबाट भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा नियुक्ति दिइएको थियो । तत्कालीन केपी शर्मा ओली सरकारको पालामा मन्त्रिपरिषद्को निर्णयबाट उनलाई कार्यकारी निर्देशकमा नियुक्ति दिइएको थियो । सोही अस्पतालमा ११ औँ तहमा कार्यरत डाक्टर विष्णुदत्त पौडेललाई कार्यकारी निर्देशक बनाउँदा सरकारले गठन आदेशमार्फत बनाएको थियो । 

Bishnu Dutta Poudel Niyukti

भक्तपुर क्यान्सर अस्पताल विकास समिति (गठन) आदेश, २०७७ को दफा ९ को उपदफा २ बमोजिम पौडेललाई अस्पतालको कार्यकारी निर्देशकका रूपमा ४ वर्षका लागि नियुक्ति दिइएको थियो । तर २ वर्ष ७ महिनामै मंगलबार पौडेललाई हटाएर उनको स्थानमा उज्ज्वल चालिसेलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो ।

Ujjal Chalise Niyukti (1)

भक्तपुर क्यान्सर अस्पताल विकास समिति आदेश, २०७७ को दफा ९ मा कार्यकारी निर्देशकको नियुक्ति सम्बन्धी व्यवस्था उल्लेख गरिएको छ । दफा ९ मा अस्पतालको प्रशासकीय प्रमुखका रूपमा काम गर्न कार्यकारी निर्देशक रहने उल्लेख गरिएको छ । सोही दफाको उपदफा २ मा ‘नेपाल सरकारले चिकित्साशास्त्रको सम्बन्धित विषयमा स्नातकोत्तर गरी क्यान्सर रोगको निदान, उपचार तथा रोकथाम सम्बन्धी क्षेत्रमा कम्तीमा ७ वर्षको अनुभव भएका व्यक्तिहरूबाट एक जनालाई कार्यकारी निर्देशक नियुक्त गर्नेछ’ भन्ने उल्लेख छ ।

सोही आदेशको दफा ९ को उपदफा ३ मा कार्यकाल ३ वर्षको हुने उल्लेख गरिएको छ भने सोही दफाको उपदफा ४ मा पहिलेको व्यवस्थामा संशोधन गरी ‘...कार्यकारी निर्देशकले पद अनुरूपको काम नगरेमा वा अस्पताल र समितिको हित विपरीत कुनै काम गरेका नेपाल सरकारले निजलाई जुनसुकै बखत कार्यकारी निर्देशकको पदबाट हटाउन सक्नेछ’ भन्ने व्यवस्था गरेको छ ।

Gathan Aadesh Samsodhan

तर गठन आदेशलाई मिचेर मन्त्रिपरिषद्ले मात्रै हटाउन सक्ने कार्यकारी निर्देशकलाई मन्त्री बस्नेतको एकल निर्णयबाट कार्यकारी निर्देशक पदबाट हटाएर काँग्रेस निकटका नवौं तहका डाक्टर उज्ज्वल चालिसेलाई निमित्त कार्यकारी निर्देशक बनाएका छन् । कार्यकारी निर्देशक पौडेललाई भने मन्त्रीस्तरीय निर्णयबाट क्यान्सर रोगसम्बन्धी निकायगत समन्वयका लागि भन्दै मन्त्रालयमा काजमा बोलाइएको छ । 

Bishnu Dutta Poudel Mantrala Kaaj

पौडेललाई काजमा मन्त्रालय तानेर जिम्मेवारीविहीन बनाउने र राजीनामा गर्न बाध्य बनाउने रणनीति अनुसार उनलाई काजमा बोलाइएको छ । कार्यकारी निर्देशक पौडेलले भने मन्त्रालयको पत्र बुझेका छैनन् । निमित्त कार्यकारी निर्देशकको जिम्मा दिइएका चालिसेले भने असार १९ गते नै अस्पतालको प्रशासनमा नियुक्तिको पत्र बुझाइसकेका छन् ।

कानुन विपरीत अवधि बाँकी हुँदाहुँदै आफूलाई हटाइएको, हटाउनुको कारण नदिइएको र मन्त्रिपरिषद्को निर्णयलाई स्वास्थ्यमन्त्रीको निर्णयबाट हटाइएको भन्दै कार्यकारी निर्देशक पौडेल भने अदालत जाने तयारीमा छन् । मन्त्री बस्नेतले आफ्नो निर्णय तत्काल फिर्ता नलिए उनी अदालत जाने तयारीमा रहेको सोही अस्पतालमा कार्यरत एक चिकित्सकले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप