सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

हामीले भ्रष्टहरूलाई हिर्काउँदा एमालेलाई हिर्काएजस्तो हुन्छ : राजन दाहाल

विप्लव, वैद्य, बाबुरामहरुले हामीलाई कमजोर बनाउनु भयो तर आफू बलियो बन्न सक्नुभएन
शनिबार, २३ असार २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरदार प्रितम सिंहका बारेमा दिएको अभिव्यक्तिले नेपालको राजनीति गर्माएको छ । आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह कहिले दिल्ली, कहिले नेपालमै विभिन्न नेताहरुसँग धाएको भनेर प्रचण्डले दिएको अभिव्यक्तिकै विषयमा एमालेले संसद अवरुद्ध गरेको छ ।

एमालेले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएसम्म संसद चल्न नदिने अडान लिएको छ । सत्ता पक्षका दलले प्रधामन्त्रीको अभिव्यक्तिलाई लिएर राजीनामा दिन नपर्ने बरु संसदमा स्पष्ट पार्नु पर्ने ठहर गरेका छन् ।

प्रधानमन्त्रीको अभिव्यक्ति, संसद अवरुद्ध र पार्टी गतिविधिमा केन्द्रित रहेर माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् सांसद लेखनाथ दाहाल ‘राजन’सँग रातोपाटीकर्मी रोहित दाहालले विस्तृत कुराकानी गरेका छन् । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंशः

सरदार प्रितम सिंहको पिरतीले प्रधानमन्त्रीको पद नै जाला जस्तो भयो नि ?

प्रमुख प्रतिपक्ष दलले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद अवरोध गरेर अराजनीतिक गतिविधि गर्‍यो । प्रधानमन्त्रीको अभिव्यक्ति कुनै राजनीतिक विषयसँग जोडिएको छैन । प्रितम सिंह राजनीतिक व्यक्ति हैनन् । उनको राजनीतिक इतिहास छैन । उनी ठुला व्यावसायिक घराना पनि हैनन्, जसले राजनीतिक पहुँच राख्छन् । उनी सामान्य मजदुर हुन् । नेपालमा पहिलो पटक ट्रक लिएर आएका थिए । सामान्य नागरिक सरह जीवन बिताइरहेका छन् । उनी लामो समयदेखि नेपालमै बसे । विशेष गरी पम्फा भुसालको निर्वाचन क्षेत्रमा उनको घर पर्ने रहेछ ।

पम्फा भुसाल मार्फत कमरेड प्रचण्डसँग पुग्दा गुरुद्वार र स्कुलमा आउने जाने क्रममा माओवादी आन्दोलनप्रति उनको सदासयता रहेछ । कमरेड प्रचण्ड प्रधानमन्त्री भइदिए हुन्थ्यो भन्ने शुभेच्छा र भावना रहेछ । त्यो कुनै बेलाको भेटघाटमा व्यक्त गर्नु भएको रहेछ । ‘तपाईं प्रधानमन्त्री भइदिए हुन्थ्यो भनेर भेटे जतिलाई भनेको छु,  दिल्ली, अमृतसर गुरुद्वार पुगेर भगवानलाई भाकल गरेँ । तपाईं प्रधानमन्त्री हुनु पर्छ’ भन्ने सन्दर्भमा बोल्नुभयो । त्यो सन्दर्भलाई कमरेड प्रचण्डले भावनात्मक रुपमा व्यक्त गर्नुभयो ।

प्रितम सिंहले बोलेको कुरा कमरेड प्रचण्डले व्यक्त गर्नुभयो । फेरि उहाँले कसैलाई भेट्न दिल्ली र यहाँका नेतासमक्ष प्रितम सिंहलाई पठाएको पनि होइन । भेटेर लविङ गर्न पाएको समेत होइन । उहाँ लविङ गर्न सक्ने राजनीतिक हैसियतको पनि हैन ।

कमरेड केपी ओलीले सामन्थ गोयललाई रातारात बालुवाटार भेटेर पूजा आराधना गरेजस्तै गरेको भए त्यो राजनीतिक विषय हुन्थ्यो । यो अभिव्यक्तिलाई राजनीतिक विषय बनाउनुपर्ने कुनै आवश्यकता छैन । यो विषयमा सबै नेपाली जनतालाई प्रस्ट छ । भारतबाट आएको एउटा सामान्य नागरिकले शुभेच्छा राख्नु अन्यथा होइन ।

rajan dahal (2)

तपाईं स्वतन्त्र नागरिक वा अर्को पार्टीको नेता भएर सोच्दा प्रधानमन्त्रीले त्यस्तो नबोलेको भए हुन्थ्यो भन्ने लाग्दैन ?

उहाँ त्यो कार्यक्रममा नगएको भए हुन्थ्यो भन्नु स्वाभाविक हो । तर, एउटा इतिहास हो । उहाँले नेपालमा पहिलो पटक ट्रक प्रवेश गराउनु भएको रहेछ । पहिलो पटक प्रितम सिंहले चलाएको बसमा चढ्नु भएको रहेछ । कसले ल्याएको रहेछ भन्दा प्रितम सिंहले ल्याएको भन्दा भावनात्मक रुपमा जोडिनुभयो । व्यावसायिक रुपमा एउटा विरासत रहेछ । जसले इतिहासको सम्मान गर्न सक्दैन, त्यसले वर्तमानमा प्रगति गर्न सक्दैन । इतिहासका पात्रहरुको सम्मान गरौं भन्ने सन्दर्भमा कमरेड पम्फा भुसाल मार्फत जोड गरेर जानु भएको रहेछ ।

कार्यक्रममा गएपछि मान्छेका स्वाभाविक रुपमा भावना हुन्छन् । प्रितम सिंहले बोलेको कुरा उहाँको दिमागमा ‘क्लिक’ गर्‍यो । उहाँको दिल्लीमा राजनीतिक पहुँच होइन । यता काठमाडौंमा पनि राजनीतिक पहुँच होइन । यो भन्दा अघि उहाँको नाम सुन्नु भएको थिएन । सामान्य नागरिकको भावनालाई व्यक्त गर्नुभयो । उहाँलाई राजनीतिसँग जोड्नु उपयुक्त छैन ।

कुनै ठुलो राजनीतिक र व्यावसायिक घरानासँग जोडिएर वा विचौलियासँग जोडिएर आएका पात्र प्रितम सिंह हुन्थे भने गम्भीर ‘मिस्टेक’ हो । ‘फलानोले जिते हुन्थ्यो’ भन्नु विचार र राजनीति होइन भावना हो । एमालेले अनावश्यक राजनीतिक रङ दिनु राम्रो भएन ।

ओली प्रधानमन्त्री हुँदा सिधै बालुवाटारमा ‘रअ’ प्रमुखलाई कुटनीतिक मर्यादा विपरीत भेटेको होइन ? सुधिर चौधरीलाई बालुवाटारबाट सिधै कालापत्थर पठाएको होइन ? ओलीको राष्ट्रियता दुनियाँलाई थाहा छ । उनी कति असंवैधानिक छन् भने २/२ पटक संसद विघटन गरेको होइन ? राष्ट्रपतिलाई दुरुपयोग गरेर नेपाली नगारिकलाई गैरनागरिक बनाएर नागरिकता विधेयकलाई निष्क्रिय बनाएको होइन ? संस्थागत भ्रष्टाचार गरेर तीन वर्षका फाइल खोल्दा सबैतिर एमाले बाहेक अरु नभेटिने भ्रष्टाचार गरेको होइन ? यो मुलुकमा अनैतिकता, बेथिति, अराजकता, उच्छृङ्खलता र भ्रष्टाचारको चुलीमा बसेर राष्ट्रघातको साक्षी बसेका पात्रहरुले त्यो पनि कमरेड प्रचण्डलाई नैतिकताको पाठ सिकाउने कुरा हुन्छ ?

प्रधानमन्त्रीको कतिपय अभिव्यक्ति प्रायः विवादास्पद बनेका छन् । भारतमै बसेर भारतविरुद्ध सुरुङ युद्ध लड्ने, १२ बुँदे सहमति भारतमै भयो, कांग्रेससँग सरकार बन्यो भने कम्फर्टेबल हुन्छ भन्नेजस्ता अभिव्यक्तिको क्लाइमेक्समा नै प्रचण्डले पछिल्लो अभिव्यक्ति दिनुभयो र सत्य बोल्नुभयो, दिल्ली बिना प्रधानमन्त्री बन्न सकिँदैन पनि भनिँदैछ नि ?

कमरेड प्रचण्ड सरल हुनुहुन्छ । अरुजस्तो भित्र एउटा, बाहिर अर्को हुनुहुन्न । अरु बाहिर बुद्ध देखिने, भित्र हिंस्रक बाघजस्तो देखिन्छन् । भित्रभित्र अपराध गर्छन्, बाहिर शिष्ट देखिन्छन् । प्रचण्ड बाहिर जे देखिनुहुन्छ, भित्र त्यही हुनुहुन्छ ।

rajan dahal (5)

भारतमा बस्दा भारतीय जनताको सामान्य साथ सहयोग रह्यो । पछि भारत र नेपाल आउजाउ भइरह्यो । हामी सामान्यतया अन्तर्राष्ट्रिय सर्वहारावादलाई मान्ने पर्‍यौं । सर्वहाराको आन्दोलन भएकाले भारतीय जनताको सद्भाव थियो । भारतका शासक वर्गको कुदृष्टि छँदै थियो । तर भारतीय श्रमजीवी वर्गका जनताको साथ सहयोग थियो । जसले गर्दा नेतृत्वलाई भेट्ने बित्तिकै गिरफ्तार गर्ने कुरा सजिलो भएन ।

कतिपय भारतमै पक्राउ पर्नुभयो, कतिपय नेतालाई सुपुर्दगी गरेर स्वदेश पठाइयो । यदि १२ बुँदे सहमति भारतीय शासक वर्गले थाहा पाएको हुन्थ्यो भने गिरफ्तार गरिहाल्थ्यो नि । हामीले रोल्पामै १२ बुँदे सहमति गर्ने कुरा थियो । गिरिजाबाबु रोल्पा जाने स्थिति नबन्ने भएपछि रोल्पाबाट दिल्ली सर्‍यो । गिरिजाबाबु सुरुमा १२ बुँदे सहमति गर्न दिल्ली जाँदा नोएडामा भेट्ने कुरा थियो तर भारतीय सीआइडी पछि लागेको थाहा भएपछि ‘यो पटक मैले प्रचण्डलाई भेट्न नसक्ने भएँ । भारतीय सीआइडी मेरो पछि लाग्यो । यदि प्रचण्डलाई गिरफ्तार गर्‍यो भने कलंक हुन्छु । यो पटक फर्किन्छु’ भनेर नेपाल आउनुभयो ।

त्यसपछि केही महिनामा भूमिगतशैलीमा १२ बुँदे सहमति गर्न दिल्ली जानुभयो । त्यसमा भारतीय पक्षको कुनै संलग्नता छैन ।

संघीयताका पक्षधर, लोकतन्त्रका पक्षधर, परिवर्तनका पक्षधरहरुको सरकार बन्दा अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ हुन्छ भन्ने सन्दर्भमा बोलेको कुरालाई ठ्याक्कै टिपेर कम्फर्टेबल सरकार हो भनेर विरोधीले हल्ला चलाइरहेका छन् । तर वास्तवमा केपी ओली नक्कली, खोत्रा राष्ट्रवादी हुन् । एन्टी इन्डियन आन्दोलन बनाइराख्ने अनि भित्रभित्रै दलाली र चाकडी गर्न माहिर छन् उनी । 

प्रधानमन्त्रीको अभिव्यक्ति स्वभाविक हो, त्यसलाई धेरै उचालिरहनु हुँदैन भन्ने हो ? 

हामीलाई मात्रै होइन, जनतालाई पनि त्यस्तै लागेको छ । तपाईंले देख्नु भएको छ कतै समाचार बनेको ? प्रचण्ड कमरेडको भिडियो क्लिप हेर्नुहोस्, सबै प्रस्ट छ । त्यो पनि ठट्यौली पाराले बोल्नु भएको छ । सामाजिक, व्यावसायिकसँगै राजनीतिक रुचि राख्ने प्रितम सिंहले त्यो सन्दर्भमा मलाई दिल्ली काठमाडौ धाएर शुभेच्छा व्यक्त गर्नुभयो भनेर बोल्दा त्यो शब्द राजनीतिक हुन्छ ?

एमालेले प्रधानमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नदिने अडान लिइसक्यो । के प्रधानमन्त्रीले राजीनामा दिनुहुन्छ ?

राजीनामा दिन कमरेड प्रचण्डले के गर्नु भएको छ ? केपी ओलीजस्तो ‘देशद्रोही’, राष्ट्रघाती महाकाली सन्धि गर्ने, संस्थागत भ्रष्टाचार गर्ने, गैरसंवैधानिक काम गर्ने, अलोकतान्त्रिक काम गर्नेले प्रचण्डलाई आरोप लगाउन मिल्छ ?

भारतीय नाकाबन्दी विरुद्ध लडेको, नेपालको चुच्चे नक्सा जारी गरेको व्यक्तिलाई ‘देशद्रोही’ भन्न मिल्छ ? 

सबैखाले भ्रम पार्न माहिर छन् । नक्कली राष्ट्रवादी बनेर दलाली बन्ने माध्यम बनाउन खोज्दै थिए । त्यो नकाव छिटै उत्रियो । सत्य यो हो । प्रधानमन्त्रीले राजीनामा किन दिने ? केपी ओली जस्तो संस्थागत भ्रष्टाचार गर्नु भएको छ र ? उहाँ जस्तो संविधानको उल्लंघन गर्नु भएको छ र ? उहाँ जस्तो संसद विघटन गर्नु भएको छ र ? प्रचण्ड कमरेडले विकास र समृद्धिको नेतृत्व गर्नु भएको छ ।

rajan dahal (4)

यस्तै विवादित अभिव्यक्ति दिँदा तीन जना मन्त्रीले राजीनामा दिनुभएको छ नि ?

यसरी राजीनामा दिन नैतिक आचारणसँग सम्बन्धित हुनुपर्‍यो । नभए राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग जोडिएको हुनुपर्‍यो । यस्ता खालका अपराध गर्दा राजीनामा दिनुपर्ने हुन सक्छ । सामान्य नागरिकसँग बोलेको कुराले कहाँ राजीनामा दिने भन्ने हुन्छ ? त्यसमा भारतीय राजदूतलाई भनेको भए अर्कै कुरा हुन्थ्यो । त्यो बेला गम्भीर हुन्थ्यो । सामान्य नागरिक, जसको अलिकता पनि राजनीतिक सम्बन्ध छैन । सामान्य नागरिकसँग सामान्य भावना साटासाट गर्दा यस्तो भन्न मिल्दैन ।

प्रचण्ड नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा कुशलतापूर्वक नेतृत्व गरेपछि आफ्ना भनिएका नेताहरु जेल जानु पर्ने भयो । भ्रष्टाचारमा नमुछिएका एमालेका शीर्ष नेता नै छैनन् । ललिता निवास प्रकरणको फाइल तान्दा विष्णु पौडेल आउँछन् । नक्कली भुटानी शरणार्थीको फाइल तान्दा स्वयं केपी ओली तानिँदै छन् । उनको स्वकीय सचिवले करोडौं लिएको पुष्टी हुँदैछ । टोपबहादुर जेल गइसके । चाहे सुनको जलहरी तान्छौं, एमाले नै जोडिएका छन् । गोकर्ण रिसोर्ट तान्यो, एमाले नै तानिन्छन् । स्वास्थ्य सामग्री खरिद तान्यो, त्यहीँ तानिन्छन्, वाइडबडी तान्यो, त्यहीँ जोडिन्छन् ।

पशुपतिको सुनको जलहरी काण्डमा तपाईं पछि हट्ने स्थिति आयो । तपाईंले पित्तल भन्नु भएको थियो, तर सुनैसुन रहेछ नि ?

आफैँ धामी आफैँ बोक्सी भएर हुँदैन । अख्तियारले तामेलीमा राखेको मुद्दा मैले उठाएपछि किन सक्रिय भएको हो ? मुद्दा किन तामेलीमा राखेको हो ? महालेखा परीक्षकको ५९ औं प्रतिवेदनले प्रस्टसँग लेखेको छ । जलहरीमा अनियमितता भयो, लेखाङ्कन छैन । ९६ किलो सुनको मुचुल्का छ । १०७ किलो सुन किनेको देखिन्छ । यो बीचको ११ किलो सुन हराएको छ । यो मैले बोल्या हो र ? उसले लेखेको हो ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीको मातहतमा रहेको सार्वजनिक खरिद ऐन अनुगमन कार्यालय रहेछ । यसले प्रस्टसँग लेखेको छ । सार्वजनिक खरिद ऐन अन्तर्गत काम भएको छैन । त्यसमा ५५ लाखको ज्याला भुक्तानी गरिएको छ । त्यहाँ २ करोड देखाएको छ । दाताहरुको अर्बौं रकमको हिसाबकिताब छैन । यो सबै गडबडी अख्तियारले कसरी छोप्छ, यो सोध्दिनुस् त ? अहिले १०७ किलो सुन पुग्यो भनेर बाहिर हल्ला गरिएको छ । अहिलेसम्म आधिकारिक प्रतिवेदन बाहिर ल्याउन सकेको छैन । अख्तियारले आधिकारिक प्रतिवेदन नल्याउँदै मैले बोल्न मिलेन ।  काम गर्दा ९६ किलो सुनको मुचुल्का गर्ने, अनि १०७ किलोको जलहरी हालेको रहे भनेर जनतालाई ढाट्न मिल्छ ? नाम मेटाउँदा ३ दिन लाग्यो भनिँदैछ । त्यो बेला थोरै सुन थपे रे । उनीहरुले जे गरे पनि भयो ! त्यो गर्दा सरकारसँग समन्वय गरिएको होइन । सरकार र पशुपति विकास कोषसँग समन्वय नगरेर जो जलहरी राख्न सहभागी भएका थिए, उनै पात्र सुन जोख्न गए । सुन जोख्दा सुनको गुणस्तर के हो ? सुन कति ? चाँदी कति थियो ? कति तामा थियो ? तपाईंलाई भन्या छ ? यो केही आएको छैन । क्लिन चिट दिन खोजिएको छ । तर, फेरि फस्छ । जनता उनले भन्या जस्तो बेवकुफ छन् र ?

एमाले ईश्वर पोखरेललाई रामेछापबाट फर्किदा ढुंगा लडाएर राजन दाहालले झण्डै मारे भन्दै थिए । अझै तपाईंको एमाले नेता विरुद्ध आक्रमक नीति घटेको रहेनछ । संसदमा समेत एक्लै एमालेविरुद्ध जाइ लाग्नुहुन्छ । किन यसरी एमाले विरुद्ध लाग्नु हुन्छ ?  

मैले कसैसँग पूर्वाग्रह साधेको छैन । मैले सत्यको पक्षमा उभिएर बोल्नै पर्छ । म कम्युनिस्ट हुँ, सत्य र न्यायको पक्षमा दृढतापूर्वक बोल्नुपर्छ । अंकगणितले सानो होस् वा ठुलो होस्, त्यो अलग पाटो भयो । एमाले जनतामा भ्रम पार्न खोज्छ, भ्रमको भरमा राजनीति गर्न खोज्छ । जनतालाई नक्कली कुरा गरेर, जनतालाई झुक्याएर राजनीति गर्न खोज्ने हुन्छ ? यो गलत चिन्तन, गलत दृष्टिकोण र गलत विचार छ । त्यस कारण एमालेलाई आक्रमण गरेको हो । 

विगत ३ वर्षसम्म सत्ता सञ्चालनमा संस्थागत भ्रष्टाचार गरेको रहेछ । ओली सरकारमा जाँदा ७ खर्ब ऋण थियो । उनले सरकार छोड्दा १७ खर्ब पुर्‍याए । त्यो तीन वर्षमा १० खर्ब ऋण बढाइदिए । यो जनतालाई बोझ भयो । यो भ्रष्टाचार गरेर ऋण बढाएको रहेछ, त्यो देखिहाल्नु भयो ।

एउटा कर्मचारी चुडामणि शर्माले ९ अर्ब भ्रष्टाचार गर्ने भनेपछि भ्रष्टाचारको दलदलमा मुलुक कति फसेको रहेछ ? मुलुकलाई भ्रष्टाचारको दलदलमा फसाउन पो नेतृत्व गर्नु भएको रहेछ । भ्रष्टाचार, कुशासनको नेतृत्व गर्नु भएको रहेछ । यो भ्रष्टाचारलाई संस्थागत गर्नु भएको रहेछ ।

भुटानी शरणार्थी प्रकरणमा के केपी ओली समेत तानिन्छन् ?

पर्याप्त प्रमाण नपुग्दै बोल्न मिल्दैन । तर, प्रारम्भिक रिपोर्टले केपी ओली जानकार छन् । उनकै अभिव्यक्तिले पुष्टी गर्छ । उनले ‘मलाई थाहा थियो’ भनेका छन् । यो मैले बोलेको होइन । केपी ओली भन्छन् । थाहा भएको भए किन कारबाही नगरेको हो ? थाहा पाएको भए यो मुद्दा किन अगाडि बढाइएन ? २ जना पक्राउ परेकालाई किन छोडेको हो ? यो आर्थिक लेनदेनमा उनी जानकार छन् । अनुसन्धान गर्न प्राप्त प्रमाण पुग्नै पर्‍यो । अनुसन्धान गहिरो गरी भयो भने केपी ओली तानिन्छन् । केपी ओलीको प्रमुख स्वकीय सचिव तानिएपछि उनी कहीँ न कहीँ जोडिन्छन् । तसर्थ अनुसन्धान जारी छ । अनुसन्धानले पुष्टी गर्दै लग्ने छ ।

यो सरकारले केपी ओलीलाई गिरफ्तार गर्ने आँट गर्छ ?

ठुलो सानो भन्ने यो संविधान र कानुनले छुट्याउँछ र ? बालकृष्ण खाण, टोपबहादुरहरु पक्राउ परेका छन् । उच्च पदस्थ नेतृत्व पहिलो पटक जेल गएका छन् । 

ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराई जोडिनु भएको विषयमा के हुन्छ ?

यदि गल्ती गर्नु भएको छ भने तानिनुहुन्छ । जब हामीले सत्ता गठबन्धन बनाउँदै गर्दा तीन वटा मिसन बनायौं । सुशासन, समृद्धि र सामाजिक न्याय । सुशासन भन्नासाथ भ्रष्टाचार नियन्त्रण गर्ने हो । भ्रष्टाचार नियन्त्रण गर्न अनुसन्धानको दायरामा ल्याउनुपर्ने हुन्छ । अपराधको प्रकृति अनुसार दण्डित गर्ने हो । अपराधको जरा जहाँ पुगेको छ, त्यहीँ सरकार पुग्ने हो । यो म्याण्डेट शेरबहादुर देउवा र माधवकुमार नेपालबाट कमरेड प्रचण्डले लिनु भएको छ ।

त्यसो भए मओवादी दूधले नुहाएको पार्टी हो ? कहीँ कतै मुछिएको छैन ?

माओवादीका नेताहरुले अनियमितता गरेको भए जेल जान्छन् । माओवादी भन्नासाथ जोगाउनुपर्छ र ? माओवादी मुछिए अझ बढी दण्डित र कानुनी दायमा ल्याउनुपर्छ ।

माओवादी शिविरको भ्रष्टाचारको फाइल नै खोलिएको छैन त ?

कहाँ छ फाइल ? कसले मुद्दा हालेको छ ? कहीँ कतै भ्रष्टाचार भएको छ ? मुखले भनेर हुन्छ ? तत्कालीन सरकारको मातहतमा रहेको हामी जनमुक्ति सेनाहरु  शिविरमा बस्यौं । हामीलाई भरणपोषण भत्ता भनेर दिएको हो । त्यो दिँदा नेपाल सरकार, युएनको निगरानी र कर्मचारीको रोहवरमा टाउको गनेर, परिचयपत्र दिएर, लाइन लगाएर, राष्ट्रिय बाणिज्य बैंकमा चेक भजाएर सुरुमा ३ हजार, पछि ५ हजारको दरले लिएको हो । भरणपोषण भन्दा केको घोटला ? केको  भ्रष्टाचार हुन्छ ?

त्यसो भए शिविरमा भ्रष्टाचार भएको छैन ?

ल्याउनुस् प्रमाण । कहाँ भ्रष्टाचार भएको छ ? शिविर व्यवस्थापनको फाइल शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा आयो । मन्त्रालय विघटन गरेपछि गृह मन्त्रालयमा लगियो । यो सबै महालेखा परीक्षकको कार्यालयले अडिट गरेको छ ।

rajan dahal (6)

शान्ति प्रक्रियासँग जोडिएको सेना व्यवस्थापनको कुरा ल्याएर घोटाला गरेको छ भन्न मिल्छ ? कसले गर्‍यो घोटाला ? हामीलाई एकमुस्ट पैसा दिएको हो र ? प्रत्येक व्यक्तिको टाउको गनेर दिएको हो । यदि घोटाला भएको भए महालेखाले किन अडिट गर्‍यो ? कमरेड प्रचण्डले संसदको रोस्टममै उभिएर ‘फाइल बनाउनुस्, मुद्दा हाल्नुस्, फाइल खोलौं, गृह मन्त्रालयमा छ । कहीँ कतै कमजोरी देखिए म जेल जान तयार छु’ भनिसक्नु भयो । यति भनिसकेपछि यो विषयलाई फेरि उठाउन जरुरी छ र ?

तपाईंले केपी ओलीको नेतृत्वमा जलहरी राख्ने काम हुँदा अनियमितता भएको छ भन्दा तपाईंकै पार्टी अध्यक्ष प्रचण्डले ‘भन्न हुन्न थियो’ भनेर रोस्टममै भन्नुभयो । तपाईंहरु केपी ओलीसँग डराउन त डराउनु हुँदो रहेछ नि ?

म डराइनँ । कमरेड प्रचण्ड पनि डराउनु भएन । यो प्रधानमन्त्रीसँग जोडिएको प्रसङ्गै होइन । कमरेड प्रचण्डले के बोल्नु भयो म जान्दिनँ । मेरो संसदको कमाण्डर सभामुख हुन् । संसदको रेकर्डबाट हटाउने काम गलत गर्नुभयो । मैले संस्थागत भ्रष्टाचारको कुरा गरेको हुँ । केपी ओलीले खाए भनेको हैन । अनुसन्धानको दायरामा ल्याउनु पर्‍यो । निष्पक्ष छानबिन गर्नुपर्‍यो । यो भन्ने बित्तिकै मलाई नै हो भनेर ‘चोरको खुट्टा काटौं’ भन्दा फुत्त केपी ओलीले झिकेर संसद अवरोध गर्नुभयो । सायद इतिहासमै एउटा सांसदले बोले बापत, त्यो पनि नीतिगत कुरामा, अरु कुनै आक्षेप, अशिष्ट र अमर्यादित शब्द बोलेको छैन । नीतिगत रुपमा संस्थागत भ्रष्टाचार भएको छ भन्ने उठाए बापत संसद अवरुद्ध हुनु सायद इतिहासकै पहिलो पटक हुनुपर्छ । यो विषयलाई सभामुखले हटाउनुभयो । तर, जनताको दिल दिमागबाट हटेको छैन ।

के अब केपी ओली विरुद्ध संसदमा बोल्न कठिन भयो ?

संसदको रेकर्डबाट हट्नु नहट्नुसँग कुनै मतलव छैन । मैले बोलिराखेको छु ।

सभामुखको भूमिका कस्तो पाउनु भएको छ ?

सभामुखलाई हामीले नै भोट हालेर जिताएका हौं । मेरा यी हात हुन् सभामुखलाई भोट हालेका । सभामुख निर्वाचित भएपछि प्रतिनिधिसभा सञ्चालनमा परिपक्व र कुशल नेतृत्व प्रदान गर्न सक्नु भएको छैन । उहाँ पटक पटक चुक्नु भएको छ । निष्पक्षतामा चुक्नु भएको छ । उहाँ एमालेको कारिन्दाजस्तो हुनु भयो । अस्ति सदन अवरुद्ध हुँदाहुँदै सभामुखले सांसदलाई बोल्न दिन हुँदैन थियो । सांसद बोल्दा बोल्दै जुरुक्क उठेर हिँड्नुभयो । प्रधानमन्त्रीले बोल्दा बोल्दै अरु सांसदलाई बोल्न समय दिनुभयो । सभामुखले संसदलाई अनुशासित र मर्यादित बनाउन सक्नु भएन । उहाँमा सदन सञ्चालनमा गम्भीर समस्या देखिएका छन् ।

अब यो संसद प्रधानमन्त्रीको राजीनामा नआए पनि खुल्छ ?

संसद खोल्ने जिम्मा सभामुखको हो ।

प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न ?

राजीनामाको कल्पना नगर्नुस् । यसरी सोच्दै सोचिएको छैन ।

rajan dahal (7)

पार्टीको गतिविधितिर लागौं, माओवादी कहाँ छ ? पार्टी कमिटीहरु सक्रिय छैनन् । यस्तो अवस्थामा कहाँ के गर्दै छ ?

माओवादी बलशाली पार्टी हो । इतिहासको योगदान र मुद्दाका हिसावले शक्तिशाली पार्टी हो । त्यो दुनियाँलाई थाहा भएको कुरा हो ।

माओवादी एकपछि अर्को निर्वाचनपछि खिइँदै गएको छ नि ?

पार्टी कहाँ खिइयो ? मुद्दा सिद्धिएपछि माओवादी कमजोर हुने हो । संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी र सामाजिक न्याय सहितका सबै मुद्दा माओवादीका हुन् । अंक गणितका आधारमा कमजोर भए पनि नेतृत्व माओवादीकै छ । विचार र देशको नेतृत्व माओवादीले गरिराखेको छ । हाम्रो स्कुलिङ ‘सत्ता बन्दुकको नालबाट जन्मिन्छ’ भन्ने संघर्षबाट आयौं । पछिल्लो समय कार्यनीतिमा थोरै फेरबदल हुँदा वर्तमान राजनीतिमा थोरै फिट नभएर कमजोरी भएका छन् । पार्टीका गतिविधि कमजोर भए पनि पार्टी कमजोर भएको छैन ।

आगामी ०८४ को चुनावमा कांग्रेस र एमालेलाई नै बत्ती बालेर खोज्नुपर्ला जस्तो छ । माओवादीको त के हालत होला ? तपाईंलाई चिन्ता लागेको छैन ?

यसलाई छोडिदिनुस् । सजिलै आएकाहरु सजिलै जान्छन् । रगतको जगमा बनेको पार्टी तपाईं कमजोर भयो भन्नुहुन्छ ? फेसबुक र टिकटकमा बनेको पार्टी आवेगमात्र हुन्छन् । जनतालाई हामीप्रति रिस उठेर उनीहरुलाई भोट हालेका हुन् । हामीले राम्रो काम गर्ने बित्तिकै जनता फर्किन्छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई कुनै चुनौतीकै रुपमा लिनु भएको छैन तपाईंले ?

मैले चुनौतीका रुपमा लिएको छैन । हामीलाई छाडेर जनता खुलेर गएका छैनन् । उनीहरुले गर्ने आमसभामा मान्छे गएका छैनन् ।

विप्लवजी माओवादी केन्द्रको महासचिव बन्ने कहिले हो ?

त्यो मलाई थाहा छैन । विप्लवजी आउन स्वतन्त्र हुनुहुन्छ । धेरै हन्डर ठक्कर खानु भयो । गत स्थानीय तह निर्वाचनमा चुनाव लड्नु भएको थियो । वडा सदस्य पनि जितेको मलाई थाहा छैन ।

rajan dahal (3)

विप्लव, मोहन वैद्य ‘किरण’जी, बाबुरामजीहरुले हामीलाई कमजोर बनाउन त सक्नु भयो तर आफू बलियो बन्न सक्नु भएन । यद्यपि राजनीतिक रुपमा हामी कमजोर भएनौं । कमरेड प्रचण्डको क्रेज घटेन । राष्ट्रिय राजनीतिको केन्द्रमा प्रचण्ड रहिरहनु भयो  ।

विप्लवलाई महासचिव बनाउने कुरा के हो ? यो सम्भावना कति छ ?

माओवादीमा विप्लवजीलाई महासचिव बनाउने बाहिर हल्ला छ । तर, अध्यक्ष कमरेडले केही बोल्नु भएको छैन ।

एमालेले यो सरकार चाहेको बेलामा ढाल्न सक्छौं भनिरहेको छ । सत्ता गठबन्धन एक ढिक्का भएर जाने कति छ ? दसैंसम्म मात्र हम्मेहम्मे जान्छ भन्छन् नि ?

केपी ओलीले यो सरकार वैशाखसम्म टिक्दैन भन्नुहुन्थ्यो । अब दसैँसम्म टिक्दैन भन्नुहुन्छ । अब दसैँसम्म पनि टिक्छ । यो सरकार न्युनतम साझा कार्यक्रमको जगमा बनेको छ ।

यसको निश्चित मुद्दा, उद्देश्य, लक्ष्य छन् । प्रचण्ड कमरेड प्रधानमन्त्री भएपछि अर्थतन्त्रले लय समातेको छ । बिचौलिया मुक्त प्रशासन भएको छ । सुशासनमा सरकार दृढ भएर अगाडि बढेको छ । लगानीकर्ता आएका छन् । जनतामा उत्साह पैदा भएको छ । जनताको उत्साह र ऊर्जालाई विकास र समृद्धिसँग जोड्ने कुरा हो । स्वभावैले भ्रष्ट र बिचौलियाहरु यो सरकार ढाल्नुपर्‍यो भन्दैछन् । यो सरकार ढाल्यौं भने जेल जानु पर्दैन थियो, हाम्रा कुकर्म बाहिर आउँदैन थिए भन्ने उनीहरुको सोच छ । त्यसभित्र एमालेपनि पर्छ ।

एमालेले समग्रमा बेथिति, अराजकता र संस्थागत भ्रष्टचारको नेतृत्व गर्छ । हामी जे गर्छौँ, त्यो एमालेलाई पर्छ । भ्रष्टचारविरुद्ध उभिए एमालेविरुद्ध उभिएजस्तो हुन्छ । बेथिति अराजकताविरुद्ध अभियान सुरु गर्दा एमाले नै ठोकिन्छ । हामीले हिर्काएको भ्रष्टहरुलाई हो । तर, एमालेलाई हिर्काएको जस्तो भइरहेको छ ।

यो गठबन्धनमा कुनै खटपट छैन । हामी मिलेर अगाडि बढ्छौं । एमालेले किस्तीमा प्रधानमन्त्री पद दिइरहेको छ । रवि लामिछानेलाई पनि किस्तीमै दिए उपप्रधानमन्त्री बन्नुहोस् भनेर । अहिले शेरबहादुर देउवाजीलाई तपाईं नै पाँचै वर्ष सरकार चलाउनुस् भनेको भन्यै छन् । मलाई लाग्छ शेरबहादुरजी लोभिनु हुन्न ।

ओलीले ललिपप देखाइरहन्छन् । यही गठबन्धन दलकै सरकार पाँच वर्षसम्म टिक्छ । भद्र सहमति र न्यूनतम साझा कार्यक्रमको जगमा कमरेड प्रचण्डले कमिसन र करप्सनको हेडक्वाटरमा बम पड्काउने उद्देश्य लिनु भएको छ । हिजो संघर्षको आन्दोलनलाई नेतृत्व गर्नुभयो । विकास र समृद्धिको पनि सफल नेतृत्व गर्ने कुरामा हामी सफल हुन्छौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया