इमर्जिङ टिम्स एसिया कप खेल्न नेपाली टोली श्रीलंका प्रस्थान
काडमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपमा सहभागी हुन नेपाली क्रिकेट टोली सोमबार श्रीलंका प्रस्थान गरेको छ । आगामी बिहीबार सुरु हुने एसीसी इमर्जिङ टिम्स एसिया कप जुलाई २३ तारिखसम्म चल्नेछ ।
प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । उक्त समूहमा भारतको ‘ए’ टोली, पाकिस्तानको ‘ए’ टोली र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् । यसैगरी समूह ‘ए’ मा श्रीलंकाको ‘ए’ टोली, बंगलादेशको ‘ए’ टोली, अफगानिस्तानको ‘ए’ टोली र ओमान रहेका छन् ।
नेपालले आफ्नो पहिलो खेल जुलाई १४ तारिखमा पाकिस्तानको ‘ए’ टोलीसँग खेल्नेछ । नेपालले दोस्रो खेलमा १७ तारिखमा भारतको ‘ए’ टोली खेल्नेछ । यसैगरी समूहगत चरणको तेस्रो तथा अन्तिम खेल नेपालले जुलाई १९ तारिखमा यूएईसँग खेल्नेछ ।
समूहगत चरणको खेलपछि अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली नकआउट चरण (सेमिफाइनल) मा प्रवेश गर्नेछन् । प्रतियोगिताको दुबै सेमिफाइनल खेल २१ तारिखमा खेलिने छ । फाइनल खेल २३ तारिखमा हुनेछ ।
प्रतियोगिताका लागि घोषित नेपाली टोलीमा रोहित पौडेल (कप्तान), अर्जुन साउद (विकेटकिपर), कुशल भुर्तेल, गुलशन झा, सोमपाल कामी, प्रतिश जीसी, देव खनाल, सन्दीप जोरा, कुशल मल्ल, ललित राजवंशी, भीम सार्की, पवन सरार्फ, आसिफ शेख, सूर्य तामाङ, किशोर महतो र श्याम ढकाल रहेका छन् ।
नेपालका दुई प्रभावशाली खेलाडी स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले भने इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन् । विदेशी फ्रेन्चाइज लिग खेल्नुपर्ने भएकाले यी दुई खेलाडीले इमर्जिङ टिम्स एसिया कप नखेलेका हुन् ।
सन्दीप र दीपेन्द्र क्यानडामा आयोजना हुने फ्रेन्चाइज लिग ‘ग्लोबल टीट्वान्टी’ मा आबद्ध छन् । ग्लोबल टीट्वान्टी लिग जुलाई २० देखि अगस्त ६ तारिखसम्म आयोजना हुँदैछ । उक्त लिगमा सन्दीप सरे जग्वार्स क्लबमा आबद्ध छन् । दीपेन्द्रलाई भने मोन्ट्रियल टाइगर्सले अनुबन्धित गरेको छ ।
यसैगरी अलराउन्डर आरिफ शेख पनि टोलीमा छैनन् । यसअघि नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरेको टोलीमा आरिफलाई पनि समावेश गरिएको थियो । तर, अन्तिम समयमा आएर आरिफले घरायसी समस्याका कारण प्रतियोगिता नखेल्ने निणर्य लिएका हुन् ।
जिम्बाबेमा आयोजना भएको आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा सहभागी भएर स्वदेश फर्किएलगत्तै नेपाली टोली एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न श्रीलंका प्रस्थान गरेको हो । १० राष्ट्र सहभागी विश्वकप छनोट प्रतियोगितामा नेपाली टोली आठौं भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामान्य अंकले घट्यो सेयर बजार, ३ अर्ब ४१ करोडमाथिको कारोबार
-
सालक संरक्षणमा सामुदायिक वन
-
यस्तो छ अख्तियारले आरजु देउवाको घरमा टाँसेको म्याद
-
एआईले मानव श्रमिक अभाव सिर्जना गर्नेछ– जेफ बेजोस
-
राष्ट्रिय सभामा दुई पद रिक्त, कहिले हुन्छ पूर्ति ?
-
३५ वर्षदेखि बिग्रिएको औद्योगिक क्षेत्र सुधार गर्दै छु: मन्त्री यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण