मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सङ्घीय सरकारको बजेटमा गुणस्तरहीन काम गरेको भन्दै स्थानीयको विरोध

मङ्गलबार, २६ असार २०८०, ०८ : ११
मङ्गलबार, २६ असार २०८०

बारा । सङ्घीय सरकारको बजेटबाट सिमरामा निमार्ण भइरहेको ‘सेल्फी रोड’ कालोपत्रे गर्ने क्रममा गुणस्तरहीन काम भएको भन्दै स्थानीयहरूले विरोध जनाएका छन् । सङ्घीय सरकारको बजेट, सहरी विकास कार्यालय वीरगन्ज मार्फत जीतपुर सिमरा वडा नं १ को विकासशील चोकदेखि सिमरा विमानस्थल जाने करिब तीन सय मिटर कालोपत्रेमा गुणस्तरहीन काम भएको स्थानीयको आरोप छ । 

जीतपुर सिमरा वडा नं ४ का स्थानीय बाबुराम सिम्खडाले रातारात अस्पाल हालेको र बिहानको परेको पानीले सबै बगाएको हिलो माटोमा कालोपत्रे गरिएको, मापदण्ड अनुसार २ इन्चको कालोपत्रे हुनुपर्नेमा १ इन्च भन्दा कम कालोपत्रे भएको बताएका छन् ।

‘यहाँ निमार्ण काम भइरहेको विषयमा कुनै सार्वजनिक बोर्ड राखिएको छैन, कति लागतको हो, ठेकदार को हो स्थानीयबासीलाई कुनै जानकारी छैन, रातारात हालेको अस्पाल बिहानभर परेको पानीले बगाएको छ, हिलो माटोमा कालोपत्रे भइरहेको छ, बाटो भन्दा नाला अग्लो छ’ स्थानीय सिम्खडाले भने ‘काम गुणस्तरहीन मात्रै भएको छैन, दुईतिर स्लोपिङ नगरी कालोपत्रे भएको छ । यो ६ महिना टिक्दैन ।’ सङ्घीय सरकारको ५० करोडको ठेक्कामा तीनवटा योजनाहरू सम्पन्न गर्ने गरी महावीर कन्स्ट्रक्सन वीरगन्जले आधा घटाएर २६ करोडमा ठेक्का सकार गरेको हो ।

बहुवर्षिय योजना भए पनि ठेकदारले असार मसान्तभित्र बिल भरपाई मिलाउने गरी हतार हतारमा काम गरेको स्थानीयको आरोप छ । जीतपुर सिमरा वडा नं १ का गोपाल शाह ठकुरीले असार मसान्तमा बजेट पचाउने उद्देश्यले मात्रै ठेकदारले काम गरेको बताएका छन् ।

r2 (1)‘यो काममा ठेकदारको चरम लापरबाही छ, माटो जति उठाएर रोड खाल्टो बनाएको छ, माटो फेरि हाल्ला भनेको रातारात अस्पाल छरेर्यो, २ ईन्चको कालोपत्रे १ इन्चभन्दा कम गरेको छ ।’ ठकुरीले भने ‘सेल्फी रोड भनेको सुनेको हो बजेट कति हो, कसको हो,हामीलाई थाहा पनि छैन’ । ठेकदारले शनिवार राती अस्पाल हालेपछि आज बिहानपख परेको पानीले अस्पाल सबै बगाएको थियो भने बाटोमा गिलो माटोमाथिबाट स्पष्ट देखिन्थ्यो ।  

अस्पाल छरे पनि गाडी आवतजावत रोक्नुपर्नेमा निर्बाध रूपमा गाडी गुडेको स्थानीयहरूले बताएका छन् । ‘यसमा निर्माण व्यवसायीको तर्फबाट सार्वजनिक गर्नुपर्ने कुराहरू लुकाइएको देखियो, अस्पाल हालेपछि पानी परेको छ यसरी हतारमा कालोपत्रे गर्न हुँदैनथ्यो, सडकको दुवै तर्फ सूचना बोर्ड राख्नुपर्थ्यो छैन त्यो पनि छैन’ स्थानीय इन्जिनियर अङ्कित रिमालले भने ।

r6

कालोपत्रे गर्ने क्रममा १ इन्च कम हुँदा ठुलो आर्थिक अनियमितता हुने स्थानीय इन्जिनियर रिमालले जनाएका छन् । करिब ६ महिनाअघि लागेको ठेक्कामा असार १५ भित्र सक्नुपर्ने सम्झौतामा उल्लेख भए पनि ठेकदारले चरम लापरबाहीका कारण काम ढिलो गरेको हो । सहरी विकास कार्यालय वीरगन्जका इन्जिनियर सुजित साहले सहरी विकासको योजनाका महावीर कन्ट्रक्सनले काम गरिरहेको बताएका छन् । उनले कालोपत्रे गर्ने क्रममा सुरुमा त्रुटि भएकोले भएकाले त्यसलाई पुन कालोपत्रे गरेर सच्चाइने बताए  ।

‘सब बेस र बेसको काम भइसकेको छ, अस्पालको र कालोपत्रेको काम भइरहेको छ २८८ दशमलव १० सेन्टिमिटर लम्बाई साढे ८ मिटर चौडाइ, मोटाई २ इन्च हो, पानी पर्ला भनेर हामीले अलि हतारमा काम भएर सार्वजनिक सूचना बोर्ड राख्न नसकेको हो’ इन्जिनियर साहले भने ।

r8

सेल्फी रोड नामकरण गरिएको सङ्घीय सरकारको बजेटबाट निर्माण भइरहेको सो सडकमा यसअघि जीतपुर सिमरा उपमहानगरका नगर पमुख राजन पौडेल र बारा ४ का सङ्घीय सांसद किसान श्रेष्ठबीच बजेट आफ्नो पहलका आएको भन्दै सार्वजनिक रूपमा जुहारी नै चलेको थियो । तर सोही सडकसँगै जोडिएको अम्लेखगञ्ज–रक्सौल रेलवेयको सार्वजनिक जग्गालाई खाली नगरी स्थानीय र सङ्घीय सरकारले सडक कालोपत्रे गरेको छ ।

स्थानीयवासी पुरुषोत्तम श्रेष्ठले इतिहास बोकेको रेलवेयको जग्गालाई संरक्षण नगरी नाला निर्माण र बाटो कालोपत्रे गर्नेकार्य दुखद भएको बताएका छन् । सो क्षेत्रमा पर्ने अम्लेखगञ्ज–रक्सौल रेलवेयको सार्वजनिक जग्गा अधिकांश भौतिक संरचना बनेको छ । सार्वजनिक जग्गामा बनेका निजी संरचना खाली नगरी साँघुरो सडक निर्माण गरेको भन्दै स्थानीयले गुनासो गरेका हुन् ।

r9

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप