बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
हेलिकप्टर दुर्घटना

यस्तो छ नेपालमा हेलिकप्टर दुर्घटनाको इतिहास

४४ वर्षमा भएको ३८ दुर्घटनामा परेर ९२ यात्रुको मृत्यु
मङ्गलबार, २६ असार २०८०, १८ : ३२
मङ्गलबार, २६ असार २०८०

काठमाडौँ । मनाङ एयरको ‘९–एन–एमभी’ हेलिकप्टर दुर्घटना हुँदा सवार पाइलटसहित ६ जनाकै मृत्यु भएको छ । मंगलबार सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट बिहान १० बजेर १३ मिनेटमा काठमाडौँका लागि उडेको विमान दुर्घटना भएको हो ।

दुर्घटनाका क्रममा ५ जना मेक्सिकन नागरिकसहित पाइलट चेतबहादुर (सीबी) गुरुङको समेत मृत्यु भएको छ । 

४४ वर्षको अवधिमा यो ३८औं दुर्घटना हो । यसअघि, सन् १९७९ (२०३६ साल) मा पहिलोपटक नेपाली आकाशमा दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।

प्राधिकरणका अनुसार नेपालमा पहिलो दुर्घटना नै उच्चस्तरीय टोली (भीभीआईपी) सवार हेलिकप्टर दुर्घटनामा परेको थियो । २०३६ साल पुस १२ गते भएको पहिलो हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो । 

काठमाडौँबाट लाङटाङ उडान भरेको हेलिकप्टर दुर्घटना भएयता आजसम्म ३८ दुर्घटना भइसकेका छन् । र, ती दुर्घटनामा ९२ जनाको मृत्यु भएको छ । ३८ वटा दुर्घटनामध्ये १९ वटा दुर्घटनामा मानवीय क्षति भएको छ ।

२०८० मै दुई दुर्घटना

यो वर्ष २०८० सालमै दुई वटा ठूलो हेलिकप्टर दुर्घटना भएका छन् । यसअघि, यही वर्षको वैशाख २१ गते शंखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको थियो । जलविद्युत आयोजनाको सामान ओसार्ने क्रममा भएको उक्त दुर्घटनामा परेर १ जनाको मृत्यु भएको थियो भने बाँकी ४ जना घाइते भएका थिए । 

त्यस यता आज ५ जना विदेशी र १ पाइलटसहित कूल ६ जनाको मृत्यु हुने गरी दुर्घटना भएको छ ।

सन् २००० यता २९ दुर्घटना

हेलिकप्टर दुर्घटनाको सिलसिला सुरु भएको करिब आधा दशक भइसके पनि पछिल्लो दुई दशकमा भने ह्वात्तै बढेको तथ्याङ्कले देखाएको छ । 

सन् २००१ देखि २०२३ सम्मको अवधिमा मात्रै २९ वटा हेलिकप्टर दुर्घटना भएका छन् । उक्त मिति अघिसम्म जम्मा ९ वटा हेलिकप्टर दुर्घटना भएकोमा त्यसयता ह्वात्तै बढेको तथ्याङ्कले देखाउँछ ।

सन् २००० अघि भएका ९ वटा दुर्घटनामा जम्मा १० जनाको मृत्यु भएको थियो । त्यस यताको दुर्घटनामा भने ८२ जनाले ज्यान गुमाइसकेका छन् । 

यस्तै, सन् २००० अघि जम्मा ३ वटा दुर्घटनामा मानवीय क्षति भएको थियो । जबकि, सन् २००० यताका २९ मध्ये १६ दुर्घटनामा मानवीय क्षति भएको छ ।

एउटै हेलिकप्टर दुर्घटनामा २४ जनाको मृत्यु

सामान्यतया हेलिकप्टरमा सीमित यात्रु सवार हुन्छन् । तर, नेपालको इतिहासमा २ पटक ठूला हेलिकप्टर दुर्घटना भएका छन् । जसमा एकैपटक २४ जना यात्रुको मृत्यु भएको थियो । 

प्राधिकरणको तथ्याङ्कअनुसार सन् २००६ मा उडान भरेको श्री एयरलायन्सको ९एन–एएचजे हेलिकप्टरमा सवार २४ जनाको मृत्यु भएको थियो । त्यसै गरी, सन् २००२ मा भएको एसियन एयरलाइन्सको हेलिकप्टरमा सवार ११ जनाकै मृत्यु भएको प्राधिकरणको तथ्याङ्कले देखाउँछ ।

किन बढ्दैछ हेलिकप्टर दुर्घटना ?

२०८० मा जस्तै सन् २०७९ मा समेत दुई हेलिकप्टर दुर्घटनामा परेका थिए । तर, सामान्य भएकाले प्राधिकरणले आफ्नो दुर्घटनाको सूचीमा समेटेको छैन । 

२०७९ चैत २५ गते काठमाडौँको ह्याम अस्पतालमा एयर डाइनेस्टीको हेलिकप्टर सामान्य दुर्घटनामा परेको थियो । यस्तै, २०७९ चैत २६ गते नै धौलागिरी बेसक्याम्प नजिक एभरेष्ट एयरको हेलिकप्टर दुर्घटनामा परेको थियो । यी दुई दुर्घटनाजस्तै अन्य सामान्य दुर्घटना भने सूचीमा समेटिएको छैन ।

प्राधिकरणका प्रवक्ता भुलका अनुसार सवार यात्रुको मृत्यु भएको र हेलिकप्टर पुनः उडान भर्न नमिल्ने अवस्थामा पुगेका दुर्घटना मात्रै सूचीमा समेटिएका छन् । यहीकारण, पछिल्ला दुई दुर्घटनालाई दुर्घटनाको सूचीमा नराखिएको हो । 

प्राधिकरणका अनुसार सन् २००० यता नेपालमा हेलिकप्टर दुर्घटना ह्वात्तै बढेको छ । यसको मुख्य कारण हेलिकप्टरको चहलपहल र कम्पनी नै बढ्नु रहेको भुल बताउँछन् ।

‘सन् २००० अघि नेपालमा धेरै हेलिकप्टर उडान हुँदैनथे । कम्पनी समेत धेरै थिएनन्,’ भुलले रातोपाटीसँग भने, ‘अहिले कम्पनी पनि बढेर हेलिकप्टरको प्रयोगकर्तासमेत बढे ।’ यो दुर्घटनाले युरोपियन युनियनको कालोसूचीबाट बाहिरिने नेपालको चाहनालाई झनै कठिन समेत बनाएको छ ।

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप