मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

अहिले नै मध्यपूर्वको नेतृत्व चाहिन्छ भनेर हामीले ढोल पिट्न थाले बिग्रन्छ : मनोज गोर्खाली

‘आगामी निर्वाचनमा सचिवमा उम्मेदवारी दिन्छु’
बुधबार, २७ असार २०८०, १४ : ४८
बुधबार, २७ असार २०८०

गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपूर्व क्षेत्रीय सम्मेलन हालै (जुन २८–३० मा) ओमानको राजधानी मस्कटमा सम्पन्न भयो । सम्मेलनमा मध्यपूर्वका श्रमिकको सवाल र समग्र एनआरएनएको विषयमा गम्भीर छलफल गर्दै १७ बुँदे ओमन घोषणापत्र जारी गर्दै सम्पन्न गरियो । विश्वभरका करिब ५०० एनआरएनए अभियन्ताहरूको सहभागिता रहेको सम्मेलन सफलतापूर्वक सम्पन्न गराउन क्षेत्रीय संयोजक मनोज गोर्खाली (श्रेष्ठ) को भूमिका महत्त्वपूर्ण रह्यो । उनै गोर्खालीसँग मध्यपूर्व सम्मेलन, एनआरएनएको भावी योजना र मध्यपूर्वको रणनीतिसहित आगामी निर्वाचनमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंशः

 हालै मध्यपूर्व क्षेत्री सम्मेलन सफलतापूर्वक सम्पन्न गर्नुभयो, यो सम्मेलनलाई कसरी लिनुभएको छ ?

मध्यपूर्व क्षेत्रीय सम्मेलनलाई सन् २०२१–०२३ कार्यकालको हाम्रो नित्य कर्म भन्न रुचाउँछु । गैरआवासीय नेपाली संघ (एनआरएनए) का विभिन्न रिजन (क्षेत्रीय समिति) हरुले आफ्नो भेलाहरू गर्दै आइरहेको अवस्थामा हामीले पनि मध्यपूर्व सम्मेलन गर्नै पर्ने थियो । मध्यपूर्व वैदेशिक रोजगारीमा रहेकाहरूको बाहुल्य रहेको क्षेत्र हो । विशेष गरी खाडी र मलेसियामा बहुसङ्ख्यक श्रमिकहरू रहेका छन् । यी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको हकहितको लागि यो सम्मेलनले नयाँ आयाम बोकेको छ भन्ने मैले ठानेको छु । 

सम्मेलनबाट १७ बुँदे ओमान घोषणापत्र जारी गर्नुभयो । सम्मेलनको दौरानमा मध्यपूर्वका २१ लाख भन्दा बढी श्रमिकको विषयमा गम्भीर छलफल भएको बताइएको छ । वास्तवमा सम्मेलनपछि श्रमिकले के पाउने भए ? 

हामीले उहाँहरूको सबै समस्याहरू टिपोट गरेर प्रस्तुत गरेका छौँ । सम्मेलनमा नेपाल सरकारकै प्रतिनिधित्व गर्दै वरिष्ठ व्यक्तित्वहरू आउनु भएको थियो । प्रमुख अतिथिमा उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, श्रम मन्त्री शरतसिंह भण्डारी आउनु भएको थियो । उहाँहरूको सामु हामीले श्रमिकका समग्र समस्याहरूलाई पस्केका थियौँ । हामीले ती समस्या राख्दै गर्दा कति समस्याको हल चाँडै हुन्छन् भने कतिका हल समय हाल्न सक्छ । उदाहरणका लागि अहिले सामाजिक सुरक्षा कोष जुन छ हामीले हजारे अभियान भनेर सन् २०११–०१२ मा चलाएको थियौँ । अहिले त्यो हजारे अभियानको नामकरण परिवर्तन भएर सामाजिक सुरक्षा कोष भयो । त्यसरी नै समस्याहरू बिस्तारै हल हुन्छ नै । त्यसमा पनि नेपाल सरकारले कुन हदसम्म सुल्झाउँछ, त्यही आधारमा हुन्छ । 

जस्तो सामाजिक सुरक्षा कोषबारे क्षेत्रीय सम्मेलनमा पनि छलफल त भयो । तर मध्यपूर्वका कैयन श्रमिकहरू  अहिले पनि सामाजिक सुरक्षा कोषको दायराबाट बाहिर हुनुहुन्छ । उहाँहरू दायरामा नआउनुको कारण के हो ?

सामाजिक सुरक्षा कोष कार्यान्वयनमा आएको पनि धेरै भएको छैन । अहिले हामी चुनावी माहौलमा छौँ । हाम्रो ८४ वटै एनसीसीहरुमा (विभिन्न देशमा रहेका एनआरएनएका राष्ट्रिय समन्वय परिषद्) जुलाई १ तारिकबाट जुलाई ३० तारिक भित्रमा चुनाव गर्नुपर्नेछ । हामीले अक्टोबरको ११ एनआरएनए डे मनाइसकेपछि हामीले २० तारिकभित्रमा आईसीसी (अन्तर्राष्ट्रिय समन्वय समिति) को महाधिवेशन र निर्वाचनमार्फत नेतृत्व चयन गर्नुपर्ने हुन्छ । त्यस कारणले गर्दा हामीले अहिले भर्खरै श्रमजिवी साथीहरूको क्याम्प क्याम्पमा र हात हातमा लगिहाल्ने अवस्था छैन । तर, आगामी २०२३–०२५ कार्यकालमा मध्यपूर्वको एनसीसीको पहिलो एजेन्डा नै सामाजिक सुरक्षा कोषसम्बन्धी सचेतना कार्यक्रम हुनेछ । जो विदेशमा श्रम गर्न आउनु भएको छ, उहाँहरू सबैलाई सचेतनाको मार्फत कोषमा आबद्ध गराउन लागिपर्छौँ ।

तपाईँले चुनावी अभियानमा लागिसकेको भन्नुभयो । तपाईँ आफैँ पनि मध्यपूर्वको क्षेत्रीय संयोजक हुनुहुन्छ । आगामी निर्वाचनमा मध्यपूर्वले नेतृत्व नै पाउनुपर्छ भन्ने आवाज सुनिन थालेको अवस्था पनि छ । के मध्यपूर्वले यो पटक नेतृत्व पाउने सम्भावना देख्नुहुन्छ ?

मध्यपूर्वले नेतृत्व पाउने सम्भावना धेरै पहिलादेखि नै देखिएको थियो । संस्थापक उपाध्यक्ष सागर नेपालजस्तो व्यक्तित्व संस्थामा हुनुहुन्थ्यो । एनसीसी कतारबाट प्रतिनिधित्व गर्दै आईसीसीको उपाध्यक्षसम्म पुगेका र अध्यक्षको दाबेदार भएर टीबी कार्कीले छोड्नुभयो । त्यो बेलामा पनि मध्यपूर्वले आईसीसीको नेतृत्व गर्न पाउने समय थियो । तथापि अहिले त धेरै जना मध्यपूर्वबाट आइसक्नु भयो नि । अब त एक दुई जना भन्ने नै छैन । 

मध्यपूर्वबाट नेतृत्व भन्दै गर्दा यो सङ्गठनमा पनि राजनीति भएको कतै लुकेको छैन । अघिल्लो महाधिवेशनमा त एनआरएनए अस्तव्यस्त नै बनेको कतै लुकेको छैन । यस पटक पनि राजनीतिक रूपमा कित्ताकाट हुँदा मध्यपूर्वको नेतृत्वको आकांक्षा फुस्किने खतरा छ भनिन्छ नि ?

हामीले वैचारिक हिसाबमा यसलाई चाहिँ सहयोग गरिरहेको भनेर भन्नु भन्दा पनि पहिला एनसीसीको चुनाव पारदर्शी ढंगबाट सक्नेतिर लागेका छौँ । त्यसपछि आफ्नो टिम बनाउने, आफ्नो रिजन हेर्ने कुरा हुन्छ । अहिले नै मैले भन्नु भनेको त्यसले राम्रो सन्देश जाँदैन । 

तपाईँले आस्था राख्ने दल भन्दा फरक आस्था राख्ने दलका व्यक्ति मध्यपूर्वबाट उम्मेदवार बनेको खण्डमा सघाउन तयार हुनुहुन्छ ? 

मध्यपूर्वमा एउटा बोल्ड टिम छ । त्यो टीममा वैचारिक संघसंस्थाबाट सबै व्यक्तित्वहरू हुनुहुन्छ । यो होइन कि एउटै विचारधारा राख्नेहरु मात्रै छन् । टीमले नै निर्णय गर्ने भएकाले पारदर्शी ढंगले स्वच्छ छविका व्यक्तित्वहरू जो समाजिक अभियानमा निरन्तर काम गर्दै आउनु भएको छ, त्यस्ता व्यक्तित्वहरूलाई यसपालि हामीले नेतृत्वमा ल्याउँछौँ । तर त्यसअघि एनसीसीको चुनाव हुन्छ, त्यसपछि आईसीसी निर्वाचनमा मध्यपूर्वबाटै नेतृत्व गर्नका लागि सहयोग गर्ने अथवा बाहिरका साथीहरूलाई सहयोग गर्ने भन्नेकुरामा त्यसपछि जान्छौँ ।

अहिले मध्यपूर्वबाट नेतृत्वमा सबैभन्दा अगाडि आरके शर्माको नाम आइरहेको छ । उहाँ अगाडि बढ्नुभयो र तपाईँले आस्था राख्ने अर्को व्यक्ति मध्यपूर्व बाहिरबाट उम्मेदवार बन्नुभयो भने के गर्नुहुन्छ ?

तपाईँ एकै कुरामा फोकस भइराख्नु भएको छ । तर, यहाँ यस्तो छ–महेश श्रेष्ठज्यू पनि जापानबाट आइरहनु भएको छ । आरके शर्माज्यू पनि आइरहनु भएको छ । अहिलेसम्म देखिएको यी दुई जना हो । हामीले अहिले नै मध्यपूर्वको नेतृत्व चाहिन्छ भनेर हामीले ढोल पिट्न थाल्यो भने विभिन्न कुराहरु छन्, त्यो बिग्रन सक्छ । अहिले म मध्यपूर्वको संयोजक भएको नाताले मेरो उत्तरदायित्व धेरै छ । अब सात वटा एनसीसीमा मैले पारदर्शी हिसाबले चुनाव गराएर नयाँ नेतृत्व चयन गर्नु छ । त्यसकारण अहिले नै मैले आईसीसीको कुरा गरेर अध्यक्षमा यो र उपाध्यक्षमा यो भनेर भन्नुभनेको त्यसले राम्रो सन्देश जाँदैन । 

चुनावकै कुरा गर्दा तपाईँ क्षेत्रीय संयोजक भइसक्नु भयो । अबको यात्रा के हो ?

नढाँटिकन भन्दा तपाईँसँग मैले हरेक कुरा खुला रूपमा राखेको छु । मलाई मान्छेहरुले मनोज गोर्खालीको मुखबाट निस्केको बोली र गोली एउटै हो भन्छन् । मैले बोलेको कुरा फिर्ता लिन्नँ । मध्यपूर्वमा हाम्रा जो अग्रज व्यक्तित्वहरू हुनुहुन्छ । उहाँहरुसँग बसेर पाँच महिनाअघि नै कुन कुन पदमा अब चुनाव लड्ने भनेर तय गरिसकेका हौँ । त्यहीअनुसार अब मेरो सचिवमा उम्मेदवारी रहन्छ । यो मेरो घोषणा भयो । 

तपाईँ सचिवकै उम्मेदवार बन्न चाहनुको कारण के हो ? के एजेन्डा छन् ?

एनआरएनएमा मेरो लामो अनुभव छ । मध्यपूर्वमा दुई तीन वटा भेलाहरुनै हामीले सफलतापूर्वक सम्पन्न गरिसकेका छौँ । कोभिड–१९ को बेला भनौँ या भूकम्पको बेला नै किन नहोस् हरेक सकसको समयमा हामीले सामाजिक अभियानदेखि लिएर हरेक श्रमजिवी साथीहरूको हकहितका लागि काम गरेका छौँ । 

यूरोप अमेरिकाका साथीहरूलाई नागरिकता विधेयकमा साथ दिनेदेखि अहिले भोटिङ राइटको सवालमा हामी निरन्तर लागिरहेका छौँ र मेरो व्यक्तिगत प्रतिबद्धता पनि छ । त्यही नै साथीहरुसँग मिलेर काम गरिरहेका छौँ । सबैसँग मिलेर काम गर्न र श्रमिकको हकहितका लागि काम गर्न तथा एनआरएनए अभियानलाई अझ सशक्त ढंगले अघि बढाउन मेरो सचिवमा उम्मेदवारी रहन्छ । 

तपाईँको कार्यक्षेत्र यूएईको दुबई हो । दुबईमा नेपाली श्रमिक बढिरहेको र एउटा ट्रान्जिट पनि भएकाले नेपालीसँग सम्बन्धित कस्ताकस्ता समस्या आउने रहेछन् ?

यसमा यस्तो छ । दुबई भनेको एउटा अवसर भएको ठाउँ हो । विभिन्न किसिमका भिसामा हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू आउनु भएको छ । वर्क पर्मिट भिसा, विद्यार्थी भिसा, ट्रान्जिट भिसा, पर्यटक भिसामा आउने गरेका छन् । डाक्टर, इन्जिनियरहरू पनि हुनहुन्छ । यहाँ अवसर हुँदाहुँदै पनि विभिन्न उद्देश्यले यहाँसम्म आउँदा केही समस्याहरू पनि आउने गरेका छन् । चुनौती र अवसर दुवै छ । 

यहाँ त दिनकै ठगीका १०० भन्दा बढी निवेदनहरू परिरहेको हुन्छ । नेपालीले नेपालीलाई मात्रै नभई आफ्नो नातेदारले नातेदारलाई ठगिरहेको छ । आफ्नो नातेदारले नातेदारलाई त विश्वास गरिन्छ नि तर कोहीले भान्जालाई मामाले ठगिरहेको छ। काकाले भतिजलाई । ठग्ने र ठगिने समस्या यहाँ धेरै छ। 

यसको न्यूनीकरणका लागि एनआरएनएको तर्फबाट कस्तो पहल भइरहेको छ ?

मध्यपूर्व क्षेत्रीय सम्मेलनको ओपन सेसनमा पनि मैले यो कुरा राखेको थिएँ । नेपाल सरकारले भिजिट भिसा बन्द गर्ने या टाइट गर्ने भनेको छ । ढोका थुनेको छ तर झ्यालबाट भिजिट भिसामा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू दुबई आइरहनु नै भएको छ । त्यस कारणले एउटा मापदण्ड बनाएर सहजीकरण गर्नुपर्छ । अहिले धेरैजसो भिजिट भिसामा आउने र यहाँ विभिन्न कारणले गर्दा मृत्यु हुने र शव लैजान समेत समस्या छ। एनआरएनएले सकेसम्म सहयोग र सहजीकरण गरिरहेको छ। त्यसकारण नेपालबाट भिजिट भिसामा आउँदा कमसेकम इन्सुरेन्सको व्यवस्था भयो भने सम्बन्धित व्यक्तिलाई केही भएको खण्डमा इन्सुरेन्सले कभर गर्छ । सम्भावित समस्याहरूलाई मध्यनजर गरेर सोहीअनुसारको मेकानिजमहरु बनाइनु पर्छ । 

भिडियो हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप