आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
अर्थतन्त्र

विदेश भ्रमणमा लालायित नेपाली : तीन वर्षमा २ खर्ब ३७ अर्ब ‘क्यास फ्लाइट’

टुरिष्ट भिसामा विदेश जाने र उतै हराउने अवैध कामदारका कारण विदेश जानेको संख्या बढेको आशंका
बिहीबार, २८ असार २०८०, ०७ : ४३
बिहीबार, २८ असार २०८०

काठमाडौँ । पछिल्लो समय विदेश भ्रमण जाने नेपालीहरुको संख्या तीब्र गतिमा छ । पर्यटन हवको रुपमा नेपाललाई विश्व बजारमा चिनाउने प्रयत्न भइरहेपनि उल्टो भ्रमणकै लागि विदेश जाने नेपालीहरुको संख्यामा अतिशय वृद्धि देखिएको हो । तर, यो संख्यामा नभएर खर्चमा देखिएको हो ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार गएको तीन वर्षमा मात्र नेपालीहरुले विदेश भ्रमणमा २ खर्ब ३७ अर्ब ८० करोड ८० लाख ४० हजार रुपैयाँ ‘क्यास फ्लाइट’ अर्थात् नगद पलायन गराएका छन् । यो सोही समयमा विश्व पर्यटन बजारबाट नेपालमा भित्रिएको नगदको तुलनमा २२१.५४ प्रतिशतले बढी हो । 

गएको तीन वर्षमा सोही शीर्षकमा नेपाल भित्रिने विदेशीहरुबाट जम्मा ९४ अर्ब ६२ करोड ९० लाख ८० हजार रुपैयाँ बराबरको मात्र आम्दानी गर्न सकेको छ । सोझो हिसाबमा यस अवधिमा नै नेपाललाई सेवातर्फको भ्रमण शीर्षकमा १ खर्ब ४३ अर्ब १७ करोड ८० लाख ६० हजार रुपैयाँ घाटा लागेको छ । 

निरन्तर चुलिदो भ्रमणघाटा
सन् २०२० देखि २०२२ को अन्तसम्म नै कोभिड–१९ को प्रभाव कायमै रह्यो । यसै प्रभावकाबीच के नेपाली–के विदेशी खासै आउजाउ भएन । र, पनि विदेशी पर्यटक भन्दा नेपालीहरु नै बढी विदेश भ्रमणमा गएको तथ्याङ्कमा देखिन्छ । 

राष्ट्र बैंकको तथ्याङ्कअनुसार सन् २०२०÷२१ अर्थात् आर्थिक वर्ष २०७६-७८ को ११ महिनामा नेपाल भ्रमणमा आएका विदेशीहरुले जम्मा ६ अर्ब ६९ करोड ३० लाख रुपैयाँ बराबरको खर्च गर्दैगर्दा उता नेपालीहरुले विदेश भ्रमणमै ७२ अर्ब ४ करोड ७० हजार रुपैयाँ खर्चेका छन् । सोही वर्ष मुलुकलाई ६५ अर्ब १० करोड रुपैयाँ माथिको भ्रमण घाटा लागेको छ । 

यस्तो घाटाको श्रृङ्खला आर्थिक वर्ष २०७७-७८ मा पनि रोकिँदैन । आर्थिक वर्षको जेठ मसान्तसम्म थप वैदेशिक भ्रमण घाटा १२.४६ प्रतिशतले बढ्दै ७३ अर्ब २१ करोड १० लाख पुगेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा विदेशी पर्यटकले २९ अर्ब ८७ करोड ६० लाख रुपैयाँ बराबर भित्र्याइरहँदा उता सोही अवधिमा नेपालीहरुले ८७ अर्ब अर्ब ३ करोड ३० लाख रुपैयाँ विदेशमा खर्च गरेका छन् । 

यस्तै, पछिल्लो आर्थिक वर्ष २०७९÷८० को ११ महिनामा भ्रमण शीर्षकमा ५८ अर्ब ६ करोड रुपैयाँ भित्रिदैगर्दा १ खर्ब १९ अर्ब ९८ करोड ५० लाख रुपैयाँ बाहिरिएको केन्द्रीय बैंकले जनाएको छ । यो अघिल्लो वर्षको तुलनमा ८.३ प्रतिशतको वृद्धि हो । 

यसरी वर्षेनी भ्रमण शीर्षकमै मुलुकलाई ठूलो घाटा लागिराख्दा ब्यालेन्स अफ पेमेन्ट (बीओपी) मा प्रभाव परेको केन्द्रीय बैंकले जनाएको छ । यद्यपि, पछिल्लो समय मुलुकको पर्यटन क्षेत्र सुधार भएसँगै विदेशी पर्यटकको आगमनसमेत बढ्दा घाटामा केही कमी आएको हो । 

केन्द्रीय बैंकको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा ८ लाख ४९ हजार ७२८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यसले भ्रमण खर्चको असन्तुलनको दरार कम गर्न भूमिका खेलेको केन्द्रीय बैंकको भनाइ छ । 

अवैध वैदेशिक रोजगारीमाथि आशंका !
वैदेशिक व्यापार, वस्तुको आयातमा बाहिरिने पैसा, मेन्टेनेन्स तथा रिपेयरिङ्ग सेवा र ढुवानी (ट्रान्सपोर्ट) को नाममा बाहिरिने रकमबाहेक राष्ट्र बैंकबाट सटही हुने पैसालाई भ्रमण शीर्षकअन्तर्गत राखिने गरिन्छ । 

तर, यसमा शैक्षिक क्षेत्रमा जाने पैसाको गणना हुँदैन । राष्ट्र बैंकले वैदेशिक शिक्षामा जाने पैसालाई छुट्टै गणना गर्छ । जसअन्तर्गत चालु आर्थिक वर्षको ११ महिनामा ८९ अर्ब १८ करोड २० लाख रुपैयाँ बराबर बाहिरिएको केन्द्रीय बैंकले जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा ४६.१ प्रतिशतले वृद्धि भएको हो । 

चालु आर्थिक वर्ष २०७८-७९ को जेठ मसान्तसम्ममा विदेश पढ्न जाने विद्यार्थीले ५९ अर्ब ९९ करोड ३० लाख रुपैयाँ बहिर्याएका थिए । वैदेशिक शिक्षाको नाममा ठूलो रकम बाहिरन थालेसँगै सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् विदेशी मुद्रा सटहीमा २ प्रतिशत शैक्षिक शुल्क लगाउने व्यवस्था गरेको थियो । जुन शुल्क थप १ प्रतिशतले वृद्धि गर्दै सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् ३ प्रतिशत पु¥याइदिएको छ । 

यता भ्रमण शीर्षकमा हुने विदेशी मुद्राको सटहीमा भने सरकारले पहिलो पटक शुल्कको व्यवस्था गर्दै बजेटमार्फत् ५ प्रतिशत कर लगाउने निर्णय गरेको छ । वैदेशिक भ्रमण खर्च बढ्नुमा वास्तविक भ्रमणका लागि भन्दा पनि टुरिष्ट भिसामा विदेश जाने र उतै लापत्ता हुने अवैध कामदारहरुका कारण बढेको हुन सक्ने आशंका राष्ट्र बैंककै छ । केही खाडी मुलुकसँगै युरोप, अमेरिका जाने नेपालीहरुको अभिलाषाका कारण खर्च बढेको स्रोतको दाबी छ । 

तर, यसको सकारात्मक पक्ष अप्रत्यक्ष रुपमा रेमिट्यान्सबाट समेत मुलुकको अर्थतन्त्रमा परिरहेको उनले बताए । तर, विदेशमा औषधोपचारमा जानेहरुले गर्ने खर्चसमेत भ्रमण शीर्षमा नै जोडिने हुँदा यसमा केकति खर्च भयो, स्पष्ट तथ्याङ्क नआउने राष्ट्र बैंकको विदेशी मुद्रा व्यवस्थापन विभागले जनाएको छ । 

data
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप