मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
एचपीभी खोप

पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप जम्मा ७ हजार जनाले मात्र पाउने !

बिहीबार, २८ असार २०८०, १२ : २६
बिहीबार, २८ असार २०८०

काठमाडौँ । पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप एचपीभी खोप सुरुवात तथा सञ्चालन कार्यनीति स्वीकृत गरिएको छ । एचपीभी खोप सञ्चालन स्वीकृतिलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले पदबहालीपछि गरिएको मुख्य कामको क्रियाकलापमा उल्लेख गरेका छन् ।

तर,  पाठेघरको क्यान्सर विरुद्धको एचपीभी खोप प्राप्तीका लागि मन्त्रालयको निर्देशनमा स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखाले रणनीति सहितको प्रपोजल लेखन गरिरहेको शाखाले जनाएको छ । 

एचपीभी खोप क्याम्पियनका रूपमा १० देखि १४ वर्षसम्मका किशोरी र नियमित खोपको रूपमा १० वर्षका बालिकालाई दिइने गरी प्रपोजल तयार पार्ने कार्य भइरहेको खोप शाखाका प्रमुख डा. अभियान गौतमले बताए ।

बालबालिका लागि नियमित खोप निःशुल्क उपलब्ध गराउँदै आएको गाभीलाई कसरी पाठेघरको क्यान्सरविरुद्ध एचपीभी खोप नियमित र क्याम्पियनका रूपमा नछुटाइकन सञ्चालन गर्न सकिन्छ भनेर रणनीति सहितको प्रस्तावका लागि प्रपोजल तयार पर्ने कार्य धमाधम भइरहेको डा. गौतमले जानकारी दिए ।

उता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि आफ्नो सरकारका ६ महिनाका उपलब्धिहरू सार्वजनिक गर्दै २० हजार भायल एचपीभी खोप प्राप्तीबारे उल्लेख गरेका थिए । यही १९ असारमा सरकारले खरिद गरी २० हजार भायल एचपीभी खोप केन्द्रीय खोप भण्डारण केन्द्रमा भण्डारण गरिएको छ । 

प्रधानमन्त्री दाहाल, स्वास्थ्यमन्त्री बस्नेतले पाठेघरको क्यान्सर विरुद्धको एचपीभी २० हजार भाइल खोप प्राप्तिलाई उपलब्धिको रूपमा पटक पटक उल्लेख गरे पनि नियमित खोप र क्याम्पियनका रूपमा सञ्चालन गर्न भने लागिएको होइन ।

सो २० हजार भाइल खोपलाई पाइलटिङको रूपमा प्रयोग गरिने खोप शाखाका प्रमुख डा. गौतमले बताए । सो खोप कुनै स्थानका करिब ७ हजार जना १० देखि १४ वर्षका किशोरीलाई दिइने उनले बताए । 

‘कुन स्थानका किशोरीलाई खोप दिइने भनेर सचिव तथा मन्त्रीस्तरीय निर्णय आएपछि हामी खोप कार्यक्रम सञ्चालन गर्छौँ,’ उनले भने, ‘हाल आएको खोप पाइलटिङमा रूपमा प्रयोग गर्छौँ। त्यसपछि खोप आइसकेपछि अभियान र नियमित खोपको रूपमा मात्रै प्रयोग गर्न सकिन्छ ।’ 

hpv vaccine

कहिले दिइन्छ खोप ?

शाखाका प्रमुख डा. गौतमले साउन मसान्तमा पाइलटिङको रूपमा एचपीभी खोप दिइने बताए । यस खोपको म्याद समय तीन वर्षसम्म रहेको छ ।

हाल सञ्चालन भएका नियमित खोप बच्चाहरूका लागि मात्रै सञ्चालन गरिँदै आएको छ । सरकारले एचपीभी खोपलाई नियमित खोपका रूपमा कसरी सञ्चालन गर्ने भनेर पाइलटिङ गर्न लागिएको उनको भनाई छ । 

खोप शाखाले एचपीभी खोप निःशुल्क प्राप्तीपछि कसरी नियमित खोपका रूपमा सञ्चालन गरिने रणनीति सहितको प्रपोजल यही आर्थिक वर्षभित्र तयार गरी गाभीलाई पठाइ सक्ने सक्ने उनको जिकिर छ । 

विक्री मूल्य फरक फरक हुने

गाभीले निःशुल्क रूपमा नेपाललाई उपलब्ध गराउँदै आएको खोपमध्ये एचपीभी खोप महँगो पर्ने डा. गौतमले बताए । यद्यपि गाभीले उपलब्ध गराउने खोपको अन्तर्राष्ट्रिय मूल्य, सहुलियत मूल्य, विक्री मूल्य फरक फरक हुने उनले बताए । 

यस्तै, नेपालमा निजी स्वास्थ्य संस्थाले ल्याएको एचपीभी खोपको मूल्य फरक फरक छ । बालबालिका दिइने अन्य खोप भन्दा यो खोप महँगो पर्नेछ ।

ह्युमन प्यापिलोमा भाइरसबाट लाग्ने पाठेघरको क्यान्सरका कारण विश्वभर वर्षेनी ३ लाख महिलाको मृत्यु हुने गर्छ । एक अध्ययनका अनुसार एचपीभी खोपले ९० प्रतिशतसम्म पाठेघरको मुखको क्यान्सरको जोखिमलाई घटाउँछ ।

एचपीभी खोपले के गर्छ ?

एचपीभी खोपले पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउँछ । एचपीभी भाइरसको विरुद्धको खोप भएकाले भाइरस शरीरमा छिर्नुभन्दा अगाडि लगाएमा मात्रै प्रभावकारी हुने क्यान्सर रोग विशेषज्ञ डा सरिता घिमिरेको भनाई छ । 

‘शरीरमा भाइरस आउनु भन्दा अघि खोप लगाइने उमेर १५ वर्ष तोकिएको छ ।’ डा घिमिरेले भनिन्, ‘शारीरिक सम्पर्क हुनुभन्दा अगाडि नै यो खोप लगाउनुपर्छ ।’ 

पाठेघरमा क्यान्सर बनाउने भाइरस महिलामा पुरुषको माध्यमबाट सर्ने भएकाले पुरुषलाई पनि यस खोपको आवश्यक पर्ने उनले जनाइन् । 

पाठेघरको क्यान्सर विरुद्धको खोप लगाए पनि पूर्ण रूपमा क्यान्सर लाग्दैन भन्ने सोच्न नहुने उनको भनाई छ । खोप लगाएको ३० वर्षपछि पुनः नियमित पाठेघरको स्क्रिनिङ गर्नुपर्ने हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप