सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुरको ३ पालिकामा मदिरा र सुर्तीजन्य पदार्थ विक्री तथा सेवन प्रतिबन्ध

आइतबार, ३१ असार २०८०, १४ : ५६
आइतबार, ३१ असार २०८०

हेटौँडा । मकवानपुरका ३ स्थानीय तहले मादक पदार्थ र सुर्तीजन्य पदार्थको प्रयोगमा रोक लगाएको छ । साउन १ गतेबाट मादक पदार्थ तथा सुर्तीजन्य पदार्थ प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

 सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण तथा नियमन गर्ने हेटौँडा उपमहानगरपालिका, बकैया गाउँपालिका र मनहरी गाउँपालिकाले मादक पदार्थ तथा सुर्तीजन्य पदार्थको बेचबिखन र प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

हेटौँडा र बकैयाले जस्तै मनहरी गाउँपालिकाले पालिकाभित्र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरेर मादक पदार्थ र सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने घोषणा गरेको थियो । मानवीय स्वास्थ्यलाई हानी पुर्‍याउने भएकाले सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाउने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरिएको जनाइएको छ ।

स्थानीय तहहरूले गाउँ/नगरसभाबाट निर्णय गरेर पालिकाभित्र साउन १ गतेबाट मादक पदार्थ र सुर्तीजन्य पदार्थको जथाभाबी प्रयोग तथा  बेचबिखनमा प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।

हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेले सरकारले जारी गरेको सुर्तीजन्य पदार्थ नियन्त्रण एवं नियमन ऐनका आधारमा उपमहानगरपालिकाले ०७७ मा नै निर्देशिका निर्माण गरेर सो निर्णय गरेको जानकारी दिए । उक्त निर्देशिकाका आधारमा उपमहानगरपालिका क्षेत्र भित्र मादक पदार्थ र सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण तथा नियमन गर्ने तयारी भएको उनले बताए ।

‘सुर्तीजन्य पदार्थ नियमनका लागि यस अघि नै कानुन निर्माण गरिएको थियो । तर त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा समस्या भइरहेको थियो । कानुनको कार्यान्वयन र परिपालना मै कडाइ गर्ने उपमहानगरपालिकाको तयारी हो । सार्वजनिक स्थलहरुमा मादक पदार्थ र सुर्तीजन्य पदार्थको प्रयोग तथा बेचबिखनमा रोक लगाउने निर्णय अनुसार साउन १ गतेबाट लागू गरिने भएको छ,’ उनले भने ‘उक्त निर्णय अनुसार अब विद्यालय, सरकारी कार्यालय, अस्पताल लगायतका सार्वजनिक स्थानहरूमा मादक पदार्थ र सुर्तीजन्य पदार्थको बेचबिखन तथा प्रयोग पूर्ण रूपमा प्रतिबन्धित हुनेछ । साउनबाट सुरु भएको उक्त अभियानलाई क्रमिक रूपमा विस्तार र व्यवस्थित गर्दै अघि बढ्ने छौँ ।’

उपमहानगरपालिकाले सो निर्णय कार्यान्वयनका लागि सुरुवाती चरणमा टोल विकास समितिहरूको समन्वयमा टोल टोलमा प्रचार–प्रसार, माइकिङ गराउने तयारी गरिएको उनले बताए । पालिकाको निर्णय नमान्ने वा अवज्ञा गर्नेलाई २५ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रवक्ता न्यौपानेले बताए । होटेल तथा रेस्टुरेन्टहरूमा समेत सुर्तीजन्य पदार्थ प्रयोग गर्न स्मोकिङ जोन छुट्याउन उपमहानगरपालिकाबाट पत्राचार गरिने उनको भनाइ छ ।

‘होटेल तथा रेस्टुरेन्टहरूमा समेत छुट्टै स्मोकिङ जोनको व्यवस्था गर्न पत्राचार गर्ने तयारी गरिएको छ । उपमहानगरपालिकाको निर्णय नमान्ने वा अवज्ञा गर्ने जोकोहीलाई कानुन अनुसार आर्थिक जरिवाना समेत गरिनेछ,’ उनले भने ।

बकैयाले सूचना जारी गर्दै पालिकालाई लागुऔषधमुक्त गाउँपालिकाका रूपमा स्थापित गर्न लागु औषधसहित सुर्ती र मदिरा सेवनमा निषेध गर्न लागिएको गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले जानकारी दिए । उनका अनुसार लागूपदार्थमुक्त गाउँपालिकाको रूपमा विकास गर्न कार्यपालिकाको बैठकले नै निर्णय गरेर सूचना जारी गरिएको छ ।

‘कानुनद्वारा निषेधित र नियन्त्रित लागूपदार्थहरू स्वाभाविक रूपमा प्रयोग गर्न पाइँदैन । हामीले पालिकामा मदिराजन्य पदार्थ जाँड, रक्सी, छ्याङ, तुम्बा, निगार र सुर्तीजन्य पदार्थको प्रयोगलाई निषेध गर्ने तयारी गरेका छौँ ,’ उनले भने, ‘साउनबाट बकैया गाउँपालिकाको क्षेत्रभित्र ओसारपसार, विक्री–वितरण, तथा प्रयोग गर्न पूर्ण रूपमा निषेध गर्ने भनी सूचित गराइसकिएकाले कसैले सूचनाको बेवास्ता गरे कानुनबमोजिम कारबाही हुनेछ ।’

पालिकाभित्र सार्वजनिक पदधारण गरेका व्यक्तिले कानुनको उल्लङ्घन गरे दोब्बर सजाय हुने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप