शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
सारुक आत्महत्या प्रकरण

सारुक ताम्राकारको मोबाइल परीक्षण रिपोर्ट आउन १५ दिन लाग्ने

आत्महत्या गर्दा मोबाइलमा गीत बजिरहेको थियो
आइतबार, ३१ असार २०८०, १८ : ५९
आइतबार, ३१ असार २०८०

काठमाडौं । अभिनेता सारुक ताम्राकारको मृत्यु प्रकरणको न्यायिक छानबिनका लागी चौतर्फी दबाब बढेको छ । तर, प्रहरी चाहिँ ताम्राकारको मोबाइल परीक्षण रिपोर्ट कुरिरहेको छ । प्रहरी अधिकृतहरूका अनुसार मोबाइल परीक्षण रिपोर्ट आउन अझै केही दिन लाग्छ । 

३१ वर्षीय अभिनेता सारुक रातोपुल स्थित घरमा असार २८ मा मृत भेटिएका थिए । राति ११ बजे खानेपानीको पाइपमा झुण्डिएको अवस्थामा उनी भेटिएका हुन् । विवाहमा गएर फर्केका परिवारका सदस्यहरूले ढोका खोल्न आग्रह गर्दा ढोका नखुलेपछि करिब ३ घण्टापछि स्थानीयको सहयोगमा परिवारका सदस्यहरू भित्र पसे । घरभित्र सारुक झुण्डिएको देखेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी घटनास्थलमा पुग्दा सारुक झुण्डिएका थिए । उनको मोबाइलमा गीत बजिरहेको थियो । घटनास्थलमा पुगेका एकजना प्रहरी अधिकृत भन्छन्–‘युट्युबमा गीत बजिरहेको थियो ।’

घटनास्थलमा भेटिएको मोबाइल प्रहरीले परीक्षण गर्न डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ । धेरैको आशङ्का छ–‘सारुकलाई आत्महत्या गर्न बाध्य बनाइएको त थिएन ?’ तर, प्रहरीले मोबाइल बाहेक घटनास्थलमा ‘दुरुत्साहन’का लागी प्रमाण लाग्ने ‘सुसाइड नोट’ लगायतका दशी फेला पारेको छैन ।

प्रहरी प्रधान कार्यालय स्थित डिजिटल फरेन्सिक ल्याबमा मोबाइल परीक्षणका लागी पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिताराम रिजालले रातोपाटीलाई बताए । परीक्षण रिपोर्ट आउन कम्तीमा १५ दिन लाग्ने एसपी रिजालले जानकारी दिए । उनी भन्छन्–‘मोबाइलको परीक्षण रिपोर्ट आउन कम्तीमा १५ दिन लाग्छ, रिपोर्ट आएपछि थप अनुसन्धान अघि बढाउँछौँ ।’

डिजिटल फरेन्सिक ल्याबमा प्राविधिक जनशक्ति थोरै हुनाले फरेन्सिक जाँच रिपोर्ट आउन साढे २ महिनासम्म लाग्ने गरेको छ । अनुसन्धानको प्राथमिकताको आधारमा संवेदनशील घटनाको रिपोर्ट ल्याबले १५ देखी २० दिनमा दिने गरेको अनुसन्धान अधिकृतहरू बताउँछन् । 

मोबाइलको रिपोर्ट आएपछि फोन सम्पर्क र म्यासेजका आधारमा उनीविरुद्ध आत्महत्या दुरुत्साहन भएको थियो कि थिएन् भन्नेबारे ‘विश्लेषण’ गरिने अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । 

रातोपुलमा रहेको आफ्नो घरमा मृत भेटिएका सारुक चलचित्र ‘ह्यासट्याग माया’ मा अभिनय गरिरहेका थिए । नायिक नम्रता श्रेष्ठपनि ह्यासट्याग मायामा अभिनय गरिरहेकी छिन् । तर, सुटिङ आधा पनि नसकिँदै ताम्राकारले संसार छाड्ने निर्णय लिए । 

त्रिवि शिक्षण अस्पतालमा गरिएको शव परीक्षण रिपोर्ट अनुसार उनको मृत्युको कारणमा चिकित्सकले ‘झुण्डिएर’ मृत्यु भएको रिपोर्ट प्रहरीलाई दिएका छन् । 

२०११ की मिस नेपाल मलिना जोशीले ‘के कारण उनले आत्महत्या ?’ गरेका हुन् भन्दै केही प्रश्न उठाएकी छन् । इन्स्टामा पोष्ट गर्दै उनले सोधेकी छन्–‘अन्तिम दिनहरुमा उनीसँग कोको थिए, उनीसँग भएको अन्तिम संवादको कुराकानी के थियो ? उनको शवमा अन्तिम औँला कसको थियो ? उसले अन्तिम पटक कसलाई सम्पर्क गरेको थियो ?’

अर्की पूर्व मिस नेपाल तथा अभिनेतृ सृष्टि श्रेष्ठले पनि इन्स्टाग्राममा ‘सत्य र न्यायको जीत हुनेछ’ भनेकी छन् ।

परिवारले प्रहरी वृत्त मालिगाउँमा ‘अनुसन्धान गरिदिन’ आग्रह गरेर जाहेरी दिएका छन् । तर, परिवारले आत्महत्या दुरुत्साहन विरुद्ध किटानी जाहेरी दिएका छैनन् । सारुकका बुवा सानु ताम्राकारले मोबाइल परीक्षणको रिपोर्ट आएपछि कुरा गर्ने बताए । रातोपाटीसँग कुरा गर्दै सानुले भने–‘रिपोर्ट आएपछि कुरा गर्छु, मोबाइल परीक्षण रिपोर्ट आएको छैन ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप