बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

सरकार, संसद् र पार्टीबीच समन्वयमा समस्या देखियो : नैनसिंह महर

बुधबार, ०३ साउन २०८०, १४ : ०७
बुधबार, ०३ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार, संसद् र पार्टीबीचको समन्वयले मात्रै विकासले गति लिने बताएका छन् । बुधबारको पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै नेता महरले सरकार, सदन र पार्टीबीचको समन्वयमा केही समस्या रहेका बताए ।

‘कांग्रेस केन्द्रीय समिति, संसदीय दल र सरकार–प्रदेश समिति तथा स्थानीय तहकाबीच ठूलो खाडल देखिन्छ। संसद्ले पास गर्ने विधेयकप्रति केन्द्रीय समिति बेखबर छ। यो अवस्थाको अन्त्य हुनुपर्छ,’ महरले भने। वार्ड सदस्यदेखि प्रतिनिधि सांसदहरूले प्रत्येक ३–३  महिनामा जनताका पक्षमा गरेको कार्य र कांग्रेसलाई जनताको लोकप्रिय पार्टी बनाउन गरेको कार्यको समीक्षा रिपोर्ट बुझाउनुपर्ने महरले बताए।

जनताबाट छानिएका प्रतिनिधिलाई पार्टीको घोषणापत्र प्रति उत्तरदायी बनाउन तथा मूल्याङ्कन गर्ने एक संयन्त्र बनाउनुपर्ने महरको भनाइ छ। सभापति, उपसभापति, महामन्त्रीलगायत पदाधिकारीको धारणा फरक भएका कारण कांग्रेसप्रति जनतामा भ्रम सिर्जना भएको नेता महरले बताए । यसले पार्टीका सदस्यमा समेत विभाजन र दोधार सिर्जना गराएको उनले बताए ।

‘कांग्रेस सहितको वर्तमान सरकार सञ्चालनलाई थप प्रभावकारी, पार्टीको घोषणापत्रको बाटोमा काम गर्नेगरि सहयोग गर्न पार्टीभित्र मन्त्रालय अनुसारको विज्ञ टोली गठन गर्नुपर्छ। सरकारका मन्त्रीहरूको कार्यमूल्यांकन, प्रगति र आवश्यक सहयोगमा पार्टी लाग्नपर्छ,’ उनले भने।

यस्तै महरले तल्लो तहदेखि माथिल्लो तहसम्म पार्टीलाई गतिशील बनाउने हुटहुटी नेता–कार्यकर्तामा रहेको र त्यसलाई कांग्रेसको केन्द्रीय समितिले सम्बोधन गर्न सक्नुपर्ने बताए । पार्टीमा व्यापक गतिशीलताको खाँचो रहेको उनले औँल्याए । ‘प्रतिनिधिसभामा ८८ सिट, १७५ प्रदेश सांसद, ३२९ पालिका प्रमुख, २ हजार ६५८ वडा अध्यक्ष र १० हजार ७६ वडा सदस्यमा निर्वाचन जितेर हामी सबैभन्दा ठूलो दल भएका छौं,’ उनले भने, ‘हाम्रो काँधमा देशप्रति ठूलो जिम्मेवारी छ। देशलाई सही मार्गमा लैजान हामी सशक्त बन्नुपर्छ।’

कांग्रेस यति बेला जागृत भएर शुद्धीकरणको बाटोबाट सुदृढीकरणको मार्गमा अगाडि बढ्नैपर्ने अवस्थामा रहेको नेता महरले बताए । राजनीतिक अवस्था पनि फेरिँदै गएको र विश्व राजनीतिमा तीव्र परिवर्तन आएकाले कांग्रेस सोही अनुरूप अगाडि बढ्नुपर्ने उनले बताए। कांग्रेस यति बेला जागृत भएर शुद्धीकरणको बाटोबाट सुदृढीकरणको मार्गमा अगाडि बढ्नै पर्ने अवस्थामा रहेको नेता महरको भनाइ छ । 

यस्तै उनले जिल्ला सभापतिहरुसँग गरेको छलफलको प्रक्रिया नपुगेको विषय केन्द्रीय समिति बैठकमा उठाए ।

महरले जिल्ला सभापतिको भेलामा सभापति सहभागी नभएको विगतको उदाहरण नभएको सुनाए । ‘सुनेको कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला पार्टी सभापति हुँदा सभापति नराखेर जिल्ला सभापति भेला भएको मैले सुनेको छैन,’ महरले भने ।

केन्द्रीय सदस्यहरुलाई समेत भेलामा डाकिएको भए सबैले अपनत्व लिने अवस्था आउने उनले बताए । उनले बैठकमा भने, ‘केन्द्रीय कार्यालय हामीभन्दा बाहिर होइन । हो भने जानकारी पाउँ ।’

लोकतन्त्रमा परिणाम मात्रै नहेरेर प्रक्रिया पनि हेरिने उनको भनाइ थियो । प्रक्रियाबाट परिणाम प्राप्त भएन भने त्यसलाई कानुनत अवैधानिक भनिने महरले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप