सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशमा आगामी चुनावपछि एमालेको मुख्यमन्त्री : योगेश भट्टराई

बुधबार, ०३ साउन २०८०, २० : ४६
बुधबार, ०३ साउन २०८०

रौतहट । नेकपा एमालेका मधेस प्रदेश इन्चार्ज तथा केन्द्रीय सचिव योगेश भट्टराईले आगामी निर्वाचनपछि मधेसमा एमालेको मुख्यमन्त्री बन्ने दाबी गरेका छन् ।

रौतहटको कटहरियामा बुधबार पार्टीका कार्यकर्ता भेटघाट कार्यक्रममा भट्टराईले ‘मिसन २०८४’ को आधारमा प्रदेशमा एमालेको मुख्यमन्त्री बन्ने ठोकुवा गरेका हुन् ।

‘मधेस प्रदेशमा अहिले पनि अरु दलभन्दा ठूलो एमाले नै छ,’ उनले भने, ‘गत निर्वाचनमा समानुपातिकतर्फ मधेस प्रदेशमा एमालेले ३ लाख ५० हजार मत ल्याएको थियो । आगामी निर्वाचनमा ७ लाख मत ल्याउने हाम्रो लक्ष्य छ ।’

नेकपा फुटेपछि संगठन केही कमजोर भएको र गत निर्वाचनमा प्रभु साहले धोका दिएपछि पार्टीभित्र भुईँचालो गएको चर्चा गर्दै भट्टराईले अब त्यो अवस्था नरहेको बताए । उनले भने, ‘हामी पुरानो लयमा फर्किसकेका छौँ ।’

आउँदो निर्वाचनमा प्रतिनिधिसभातर्फ रौतहटका चारवटै सिट र स्थानीय तहतर्फ १८ मध्ये अधिकांश सिट जित्ने लक्ष्यका साथ पार्टी ‘मिसन २०८४’ मा अघि बढिरहेको भट्टराईले बताए ।

‘मिसन २०८४’ को सफलताका लागि मधेस प्रदेशको विकास, सामाजिक समस्या, किसानको मलखाद, बिउ, सिँचाइको समस्या उठाउँदै जनतामाझ जाने पार्टीको रणनीति रहेको उनले प्रस्ट पारे ।

एमालेबाट अलग भएका, कुनै कारणले पार्टी छोडेका नेता तथा कार्यकर्तालाई आत्मालोचना गराएर सहज रुपमा पार्टीमा भित्र्याउन पनि भट्टराईले कार्यकर्तालाई निर्देशन दिएका थिए ।

कार्यकर्ता भेटघाट कार्यक्रममा इन्चार्ज भट्टराईसँगै एमाले केन्द्रीय सदस्य उद्धव रेग्मी, प्रतिनिधिसभा सदस्य बिना साह, प्रदेश सांसद केशव राय चौधरी, गरुडाका मेयर कन्थमणि जैसवाल, देवाही गोनाहीकी उपमेयर परनिया पटेल, प्रदेश उपाध्यक्ष रेवती पन्त, उपसचिव आरती भण्डारी, सचिवालय सदस्य मणिशंकर निधि लगायत सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप