शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन व्यवस्थापनको अधिकार स्थानीय तहलाई : प्रमुख आयुक्त थपलिया

बिहीबार, ०४ साउन २०८०, २१ : ०८
बिहीबार, ०४ साउन २०८०

काठमाडौँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहलाई मतदाता नामावली सङ्कलन, अद्यावधिक, मतदानस्थल निर्धारण, केन्द्र व्यवस्थापन, मतदाता शिक्षा प्रदान गर्ने कार्य एवं निर्वाचन सामग्री व्यवस्थापनलगायतका अधिकार प्रत्यायोजन गर्ने तयारी भइरहेको बताएका छन् ।

जिल्ला निर्वाचन कार्यालय भक्तपुरले आज आयोजना गरेको ‘निर्वाचन व्यवस्थापनमा स्थानीय तहसँगको समन्वय र सहकार्य’ विषयक कार्यक्रममा निर्वाचन आयोग ऐन, २०७३ संशोधन गरी यस्तो व्यवस्था गर्ने तयारी गरिरहेको बताए ।

स्थानीय तहको सहमतिमा मात्र यो ऐन संशोधन गरी मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्य, मतदानस्थल र केन्द्र व्यवस्थापन, निर्वाचन र मतदाता शिक्षा प्रदान गर्ने कार्य तथा निर्वाचन सामग्री व्यवस्थापनबारे स्थानीय तहलाई अधिकार प्रत्यायोजन गर्न सकिने उनले बताए ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मतदाता नामावली सङ्कलन र मतदानस्थल व्यवस्थापनलगायतको अधिकार स्थानीय तहलाई दिनु स्वागतयोग्य रहेको बताए । मतदान केन्द्रमा मतगणना गर्ने विषय सुरक्षाका दृष्टिकोणले पनि जटिल भएको बताउँदै उनले विदेशीलाई मतदान गर्ने अधिकार दिनेजस्ता गम्भीर विषयमा राजनीतिक तह नै स्पष्ट हुनुपर्ने प्रमुख प्रजापतिले बताए ।

सूर्यविनायक नपाका उपप्रमुख सरिता तिमल्सिना भट्टराईले बसाइँसराइ भएका र नभएका मतदाताको मतदाता नामावलीमा नाम समावेश गर्नेबारे भएको अन्योललाई आयोगले स्पष्ट पार्नुपर्ने बताए ।

कार्यक्रममा सहभागी रहेका स्थानीय तहका जनप्रतिनिधि एवं राजनीतिक दलका प्रतिनिधिले निर्वाचनसम्बन्धी अधिकार स्थानीय तहलाई प्रत्यायोजन गर्नु स्वागतयोग्य भएको भन्दै यसका लागि अझै व्यापक छलफल गर्नुपर्ने बताए । निर्वाचन व्यवस्थापनसम्बन्धी कार्य स्थानीय तहबाट सम्पादन गर्नका लागि हरेक स्थानीय तहमा रहेको निर्वाचन एकाइमार्फत आवश्यक जनशक्ति खटाउने र स्रोत साधन व्यवस्थापन गरी सेवा आरम्भ गर्नेबारेमा सबै सहभागी सहमत बनेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप